
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले कार्यसम्पादन मूल्यांकनमा लगातार तेस्रो पटक प्रथम स्थान हासिल गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०८२।८३ को असार महिनामा गरेको मूल्यांकनमा प्रहरी उपरीक्षक (एसपी) को दरबन्दी रहने १५ पहाडी जिल्लामध्ये धादिङ उत्कृष्ट घोषित भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङले प्रशासनिक सुधार, कार्यालय अभिलेख व्यवस्थापन, अपराध रोकथाम तथा न्यूनीकरण, आपराधिक घटनाको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार बरामद, लागूऔषध नियन्त्रण, भन्सार तथा राजस्व छलीका सामान बरामद, पुराना मुद्दाको अनुसन्धान तथा फैसला कार्यान्वयन लगायतका सूचकमा उत्कृष्ट प्रदर्शन गरेको हो ।
त्यस्तै, राजमार्ग सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण अभियान, प्रहरी परिचालन, उजुरी तथा गुनासो व्यवस्थापन, शान्ति-सुरक्षाका लागि सरोकारवाला निकायसँगको समन्वय तथा विपद् व्यवस्थापनका क्षेत्रमा समेत धादिङ प्रहरीको कार्यसम्पादन प्रभावकारी रहेको मूल्यांकनले देखाएको छ ।

यति बेला जिल्ला प्रहरी कार्यालय धादिङको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काले गरिरहेका छन् । खड्काको नेतृत्व क्षमता, समन्वय कार्यकुशलताका कारण धादिङ प्रहरी यस पटक पनि उत्कृष्ट बन्न सफल भएको हो । सीमित स्रोत–साधनका बाबजुद पनि धादिङ प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान तथा जनमुखी सेवा प्रवाहमा उल्लेखनीय सफलता हासिल गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
धादिङ प्रहरीले आर्थिक वर्ष २०८२।८३ मा ४१८ वटा मुद्दामा अनुसन्धान गरी अभियोजन गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ५१ वटा कसुरमा अनुसन्धान गरी मुद्दा दर्ता दायर गरिएको छ । आर्थिक अपराधतर्फ बैंकिङ कसुरका १९ र ठगी कसुरका ३ वटा मुद्दा दर्ता भएको छ भने साइबर अपराधसम्बन्धी ११४ वटा निवेदन प्राप्त भई अनुसन्धान जारी रहेको धादिङ प्रहरीले जनाएको छ । विभिन्न चालु मुद्दाका २९० जना प्रतिवादीहरू पक्राउ गर्न पनि धादिङ प्रहरी सफल भएको छ ।
त्यस्तै फरार रहेका २ सय प्रतिवादी पक्राउ परेका छन् भने १९६ वर्ष ८ महिना २५ दिन कैद र २ करोड ७४ लाख ३६ हजार ५ सय ६४ नगद जरिवाना असुल भएको छ । लागूऔषध नियन्त्रणतर्फ ८४३ किलो ४३५ ग्राम गाँजा, ५१ किलो ५०० ग्राम अफिम, २ किलो ९८८ ग्राम चरेस, १४ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर र ७८ हजार ४०८ क्याप्सुल ट्रामाडोल समेत बरामद गरी ७० जनालाई पक्राउ गरी अनुसन्धान र अभियोजन भएको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटना न्यूनीकरणमा पनि आफूहरू सक्रिय रहेको धादिङ प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०८२।८३ मा २१८ वटा सवारी दुर्घटनाका घटनामा ४४ जनाको मृत्यु भएको छ भने ५३९ जना घाइते भएका छन् । यस अवधिमा ८ हजार ४ सवारी कारबाही गरी ७२ लाख २९ हजार २ राजस्व संकलन गरिएको धादिङ प्रहरीले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि २ हजार ८ सय २५ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरी २ लाख ८० हजार १ सय ५० जनालाई सूचित बनाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीमा परेका घरेलु हिंसाका ७५ उजुरीमध्ये ६८ वटामा मिलापत्र भएको छ भने ७ वटा मुद्दा अदालतमा पुगेका छन् । हराएका १३२ जनामध्ये १२२ जना फेला पारिएका छन् भने १० जना अझै फेला परेका छैनन् ।
धादिङ प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ५ नाल अवैध हातहतियार बरामद गरी ५ जनालाई पक्राउ समेत गरेको छ । त्यस्तै १२४ किलो अवैध क्रिस्टल बरामद गरी सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ । भन्सार चोरी तथा राजस्व छली नियन्त्रण अन्तर्गत १८ लाख ५१ हजार ७ सय ६० राजस्व संकलन गरिएको प्रहरीको दाबी छ । अवैध वन पैदावार चोरी नियन्त्रणतर्फ १७७ क्यु फिट काठ बरामद गरिएको तथा अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणतर्फ २६ वटा सवारी साधनलाई कारबाही गरी ३ लाख ८८ हजार ५ सय १४ जरिवाना गराइएको छ ।
विपद् व्यवस्थापनतर्फ ४१ वटा विपद्का घटना हुँदा ६ जनाको मृत्यु, १३ जना घाइते र २ जना बेपत्ता भएका छन् । १ सय १५ चौपाया र २४ कच्ची घर तथा ५ गोठमा क्षति पुगेको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयहरूमा ७२ पटक र समुदायमा ६ सय ६५ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । घरेलु हिंसा तथा जबरजस्ती करणीसम्बन्धी २३२ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको धादिङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले जन केन्द्रित सेवा प्रवाहका लागि विभिन्न नव प्रवर्द्धनात्मक कार्यहरू समेत गरेको दाबी गरेको छ । प्रत्येक प्रहरी युनिटमा जाहेरी दरखास्तबाहेक निःशुल्क निवेदन लेख्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । मुद्दा चल्ने इकाईमा हुने थुनुवाहरूको म्याद थप भर्चुअल माध्यमबाट गरिने व्यवस्था गरिएको छ । सवारी चालकहरूलाई लक्षित गरी लागूऔषध दुर्व्यसनी न्यूनीकरण अभियानअन्तर्गत राजमार्गहरूमा स्वास्थ्यकर्मीसहितको लागूपदार्थ सेवन चेकजाँच गरी ३१ जना चालकहरूलाई लागू औषध नियन्त्रण ऐन बमोजिम मुद्दा चलाइएको छ ।

यस उपलब्धिप्रति धादिङका प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले जिल्ला प्रहरी कार्यालयको नेतृत्वसहित सम्पूर्ण प्रहरी टोलीलाई बधाई तथा धन्यवाद दिएका छन् । उनले धादिङ प्रहरीले देखाएको कार्यकुशलता, लगनशीलता र जिम्मेवारीप्रतिको प्रतिबद्धता प्रशंसायोग्य रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट सेवा प्रवाहको अपेक्षा रहेको बताए ।
लगातार तेस्रो पटक उत्कृष्ट घोषित हुनु धादिङ प्रहरीका लागि केवल उपलब्धि मात्र नभई आगामी दिनमा अझ जिम्मेवार, पारदर्शी र जनउत्तरदायी सेवा प्रवाह गर्ने प्रेरणा समेत बन्ने एसपी खड्काले बताए । आगामी दिनमा पनि अपराध नियन्त्रण, शान्ति सुरक्षा र जनसेवामा निरन्तर सक्रिय रहने समेत एसपी खड्काले बताए ।