५ लाख धरौटी तिर्न नसकेर अभिषेक गिरी जेल चलान !

दियोपोस्ट संवाददाता

काठमाडौँ । गुण्डानाइकेका रूपमा कुख्याति कमाएका कांग्रेस नेता एवम् ठेकेदार अभिषेक गिरी धरौटी बुझाउन नसकेर जेल चलान भएका छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयानपछि अदालतले मागेको धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका हुन् ।

ठेकेदार सुभाष श्रेष्ठलाई ठगी र आपराधिक विश्वासघात गरी २१ करोड ३२ लाख रुपैयाँ नोक्सानी पुराएको कसुरमा गिरीलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको थियो । ठेकेदार सुभाष श्रेष्ठको जाहेरीका आधारमा मोरङबाट पक्राउ परेका गिरीलाई सिआइबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले ठगीको कसुर २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।

गत बिहीबार मुद्दा दायर भएपछि शुक्रबार अदालतले गिरीको बकपत्र गराएको थियो । न्यायाधीश नवराज दुलालको इजलासमा बकपत्र भई थुनछेक प्रयोजनका लागि सुनुवाइ हुँदा अदालतले गिरीसँग ५ लाख धरौटी रकम माग गरेको थियो ।

तर गिरीले आफूसँग धरौटी राख्ने रकम नभएको र धरौटी नराख्ने भन्दै जेल जान तयार रहेको बताएको अदालतका एक कर्मचारीले दियोपोस्टलाई बताए ।

अदालतले माग गरेको धरौटी रकम नबुझाएपछि गिरीलाई मुद्दा पुर्पक्षका लागि कारागार कार्यालय डिल्लीबजार चलान गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिवप्रसाद खतिवडाले दियोपोस्टलाई बताए ।

भएको के थियो ?

गुण्डानाइकेका रूपमा परिचित नाम हो अभिषेक गिरी । विराटनगर महानगरपालिका वडा नम्बर ८ मधुमाराटोल, मोरङका ४८ वर्षीय गिरीलाई सिआइबीले ठगी र आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरेको थियो ।

सुभाष श्रेष्ठ सञ्चालक रहेको श्रेष्ठ कन्स्ट्रक्सन प्रालिलाई विराटनगरको हाटखोलादेखि रंगेली जाने हुलाकी राजमार्गको ६ किलोमिटर सडक निर्माणको ठेक्का परेको थियो । सो ठेक्काको सम्झौता २०७६ कात्तिक २४ मा ८३ करोड ९९ लाख ३९ हजार ३ सय ९० रुपैयाँ ७० पैसामा भएको थियो ।

आफूसँग धरौटी राख्ने रकम नभएको भन्दै जेल जान तयार रहेको बताएको गिरीले बताएका थिए

गिरीले आफू पनि निर्माण व्यवसायी रहेको, आफ्नै कन्स्ट्रक्सन कम्पनी भएको तथा कांग्रेस पार्टी लगायत विभिन्न राजनीतिक दलका ठुला नेताहरूसँग आफ्नो निकट सम्बन्ध र पहुँच रहेको दाबी गर्दै श्रेष्ठलाई विश्वासमा लिन सफल भए । अनि उनले सोही पहुँचको आधारमा ठुला-ठुला सरकारी ठेक्काहरू सहजै प्राप्त गर्न र पार्न सक्ने भन्दै श्रेष्ठलाई आफ्नो कुरामा ढुक्क बनाए । अनि श्रेष्ठले २२ प्रतिशत काम सम्पन्न गरिसकेपछि बाँकी ७८ प्रतिशत काम गिरीको कम्पनीले गरी समयमै हस्तान्तरण गर्ने सहमति बन्यो र आफूले ठेक्का प्राप्त गरेकै मूल्यमा श्रेष्ठले पेटी ठेक्का दिए ।

तर गिरीले सहमति अनुसार काम कहिल्यै गरेनन् र न त कुनै प्रगति नै गरे । उल्टै उनले कामको कुनै प्रगति नभए पनि श्रेष्ठसँग पटक–पटक विभिन्न बहाना बनाई रकम माग्ने, जबरजस्ती खाली चेक कटाउन लगाउने र ती चेक आफूले लिइरहने काम गरे । श्रेष्ठले पटक-पटक फोन गरी सम्झाउँदा पनि गिरीले उल्टै आफ्नो कम्पनीले पाउने भनेको रकम पहिले चुक्ता गर्नुपर्ने माग राखी काम नै रोके । उनको यसरी काम नगरेको र अलपत्र छाडेको कारणले गर्दा सो ठेक्काको सम्झौता नै अन्ततः रद्द भयो ।

त्यसै गरी, श्रेष्ठको कम्पनीले नै ठेक्का प्राप्त गरेको विराटचोक–घिनाघाट सडक प्रोजेक्टको सम्पूर्ण काम पनि गिरीले गर्ने भनी जिम्मा लिएका थिए । तर उनले उक्त काममा पनि कुनै चासो देखाएनन् । बरु सो ठेक्काको काममा प्रयोग भइरहेका हिताची ११० एक्स्काभेटर, लु१क १५०६ नम्बरको टिपर, बा२क ५७९७ नम्बरको ग्रेडर र पानी बोक्ने ट्याङ्की भएको बा१क ७५५७ नम्बरको टिपर जस्ता बहुमूल्य निर्माण सामग्रीहरू आफ्नो कब्जामा लिए । एउटा टिपर त उनले काटेर कवाडीलाई बेचिदिए भने ग्रेडर र अर्को टिपर उनले आफ्ना गुन्डाहरू प्रयोग गरी करिब एक वर्षदेखि कब्जा गरी राखे । श्रेष्ठले ती सामग्रीहरू फिर्ता माग्दा गिरीले श्रेष्ठ र उनको परिवारका सदस्यहरूलाई हात–खुट्टा भाँच्ने, काट्ने, मार्ने तथा ज्यान बेपत्ता पार्ने धम्की दिइरहे ।

प्रतिवादी अभिषेक गिरी

यसबाहेक गिरीले श्रेष्ठसँग थप रकम माग गर्दै आए । रकम नभएको अवस्थामा गिरीले श्रेष्ठको घरजग्गा पास गर्न दबाब दिए र नगरे ज्यान बेपत्ता पार्ने धम्की दिइरहे । उनको धम्कीको डरले विवश भई श्रेष्ठले काठमाडौँ जिल्लाको विष्णु बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ग को कित्ता नम्बर १०३९, क्षेत्रफल २१७ दशमलव १ वर्ग मिटर भएको घरजग्गा गिरीकी कान्छी श्रीमती सोनु आचार्यको नाममा राजीनामा पास गरिदिए । त्यसपछि पनि उनको रकम मागको दबाब कम भएन, बरु करिब १२ महिनाअघि उनले श्रेष्ठ कन्स्ट्रक्सनका २ वटा खाली चेकमा जबरजस्ती हस्ताक्षर गराई ती चेक आफूले लिई गए । सो मध्ये एउटा चेकमा उनले स्वयम् ५ करोड ४५ लाख ६० हजार ५०५ रुपैयाँ रकम लेखी बैंकमा पेस गरी बाउन्स गराए ।

त्यस्तै, श्रेष्ठको हेटौडाको जग्गा बिक्री गर्ने सन्दर्भमा काठमाडौँ बस्ने विनोद कुमार गुप्तासँग १ करोड ५० लाख बैना रकम लिने-दिने सहमति भएकोमा एक करोड बैना प्राप्त भइसकेको थियो । बाँकी ५० लाख रुपैयाँको चेक पनि गिरीले श्रेष्ठलाई ज्यानको धम्की दिई विनोदसँग आफ्नै नाममा काट्न लगाए र सो चेक समेत उनले नै लिई गए ।

सोही कसुरमा श्रेष्ठले २०८३ असार २२ गते सिआइबीमा गिरीविरुद्ध जाहेरी दिएका थिए । सिआइबीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले गत बिहीबार काठमाडौँ जिल्ला अदालतमा ठगी र आपराधिक विश्वासघातको कसुरमा गिरीविरुद्ध मुद्दा दायर गरेको थियो । अभियोग पत्र अनुसार गिरीले श्रेष्ठलाई २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ नोक्सानी पुर्‍याएको ठहर गरिएको छ र उनलाई क्षतिपूर्ति भराई ७ वर्षसम्मको कैद सजायको माग दाबी समेत लिइएको थियो । गिरी पहिले नै अन्य अपराधमा संलग्न रही सजाय भुक्तान गरी छुटेको व्यक्ति भएकाले उनलाई कुल हुने सजायको दोब्बर सजाय गर्न समेत माग दाबी लिइएको थियो ।

यसरी पछिल्लो समय ठगी र आपराधिक विश्वासघातको कसुरमा पक्राउ परी काठमाडौं जिल्ला अदालतमा गिरीविरुद्ध मुद्दा दायर हुँदा काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले गिरीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

तर गिरीको अन्य मुद्दा पनि रहेको र थुनामुक्त भए पनि अन्य मुद्दामा पक्राउ पर्ने भएपछि उनले धरौटी रकम नै नभएको भन्दै धरौटी बुझाउन अस्वीकार गरी डिल्लीबजार कारागार चलान भए ।

सम्बन्धित खबर