अभिषेक गिरीको गुण्डाराज : ठेक्का हत्याए, घर कब्जा गरे अनि गाडी काटेर कवाडीलाई बेचिदिए

दियोपोस्ट संवाददाता

काठमाडौँ । मोरङबाट अभिषेक गिरीलाई जति बेला प्रहरीले पक्राउ गर्दै थियो, उनले हो हल्ला गर्दै भनेका थिए, ‘मलाई प्रहरीले फसाउँदैछ ।’ काठमाडौँको परेको आपराधिक विश्वासघात र ठगीको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई पक्राउ गर्दा उनले आफ्ना समूहका सदस्यहरूलाई समेत उचालेर नाराबाजी समेत गर्न भ्याए ।

यो सब देख्दा प्रहरीले एक निर्दोष व्यक्तिलाई बिना कारण पक्राउ गर्‍यो कि के हो भन्ने पनि लाग्न सक्ला । तर यथार्थ भने फरक छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले गिरीलाई मोरङको विराटनगरस्थित मधुमाराबाट पक्राउ गर्नुको कारण हो, आपराधिक विश्वासघात र ठगीको लामो फेहरिस्त । गिरीले एक ठेकेदारको ठेक्का मात्रै हत्याएनन्, उनको घर नै कब्जा गरे, पटक पटक रकम लिए र निर्माणका लागि प्रयोग भएको ट्रिपर नै काटेर टुक्रा टुक्रा पारी कवाडीलाई बेचिदिए ।

गिरीको गुण्डाराजकै कारण श्रेष्ठ कन्स्ट्रक्सन प्रालिका सञ्चालक सुभाष श्रेष्ठले २१ करोड रुपैयाँ भन्दा बढी रकम गुमाउनु पर्‍यो भने उनकै धाक, धम्की र त्रासका कारण नेपाल नै छाडेर भाग्नुपर्ने अवस्था आयो । अवस्था यतिसम्म नाजुक बन्यो कि आफ्नी आमा बस्ने पुर्ख्यौली घरसमेत श्रेष्ठले अर्को व्यापारीलाई बेच्ने भन्दै बैना लिए पनि त्यसबापतको चेकसमेत उनी अभिषेक गिरीले कब्जा गरे ।

यही कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले गिरीलाई पक्राउ गरी अनुसन्धान गर्दा अन्ततः उनले आपराधिक विश्वासघात र ठगी गरेको ठहर गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमार्फत अदालतमा मुद्दा दायर गरिएको छ ।

बिहीबार काठमाडौँ जिल्ला अदालतमा गुण्डा नाइके अभिषेक गिरीविरुद्ध सीआईबीले २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको कसुरमा मुद्दा दायर गरेको छ ।

ठेकेदार सुभाष श्रेष्ठलाई गिरीले कसरी ठगी गरे भनेर जान्नुभन्दा पहिले गिरी को हुन् भन्ने बुझौँ ।

को हुन् अभिषेक गिरी ?

अभिषेक गिरी गुण्डा नाइकेका रूपमा परिचित नाम हो । विराटनगर महानगरपालिका वडा नम्बर ८ मधुमाराटोल, मोरङका ४८ वर्षीय गिरी गुण्डागर्दीमा चर्चित नाम हो । प्रहरीमा रहेको रेकर्ड अनुसार गिरी २०५८ सालदेखि सक्रियरुपमा आपराधिक क्रियाकलापमा संलग्न भएको पाइएको छ । यसअघि नै ११ पटक पक्राउ परी पटक पटक जेल बसिसकेका गिरीले विभिन्न व्यक्ति, व्यापारी, ठेकेदार लगायतका व्यक्तिहरूलाई धाक धम्की दिई, अपहरण समेत गरी फिरौती असुली गर्ने गरेको पाइएको छ ।

गिरीविरुद्ध विभिन्न अदालतहरूमा पटक पटक मुद्दा चलेको पाइएको छ । उनीविरद्ध कुटपिट, सार्वजनिक अपराध, प्रहरीमाथि नै अभद्र व्यवहार, डाँका चोरी, ज्यान मार्ने उद्योग र शरीर बन्धक तथा अपहरणको कसुरमा मुद्दा चलिसकेको पाइएको छ ।

उनीविरुद्ध अदालतबाटै ठहर भएको सबैभन्दा ठुलो अपराध भनेको उनले व्यापारी अच्युत रेग्मीलाई अपहरण गरी १० लाख फिरौती लिएको घटना हो । गिरीकै योजनामा २०७१ सालमा उनको समूहले व्यापारी अच्युत रेग्मीलाई अपहरण गरी करिब पाँच घण्टा बन्धक बनाएको थियो । त्यसपछि फिरौती रकम माग गरी कम नदिए हत्या गरिदिने धम्की दिएपछि रेग्मीको परिवारले गिरीलाई १० लाख बुझाएपछि अच्युतलाई रिहा गरिएको थियो । सोही घटनामा ललितपुर जिल्ला अदालतले गिरीलाई १० वर्षको कैद सजाय सुनाएको थियो । उक्त कैदमध्ये करिब ९ वर्ष कैद सजाय काटेर गिरी २०७९ सालको अन्तिमतिर थुनामुक्त भएका थिए ।

कैद भुक्तान गरी थुनामुक्त भएपछि उनी नेपाली काँग्रेससँग जोडिएका थिए । उनी नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भई शेर बहादुर देउवा लगायतका व्यक्तिहरूसँग निकट सम्बन्ध राख्ने गर्दथे ।

पछिल्लो समय गिरी काठमाडौँबाट मोरङमा पुगेर त्यहाँ ठेकेदार, समाजसेवी तथा राजनीतिज्ञका रूपमा आफूलाई चिनाउन थालेका थिए । मोरङमा उनले सामाजिक संस्था चलाउन थालेका थिए ।

इन्फरमेटिभ तस्बीर एआईबाट निर्माण गरिएको हो, केही शब्दहरुमा अशुद्धता हुन सक्नेछ ।

सतहमा ठेकेदार, समाजसेवी र राजनीतिक व्यक्तिका रूपमा चिनाउन थाले पनि उनी आफ्नो पुरानो पृष्ठभूमि र आपराधिक क्रियाकलापबाट बाहिर निस्कन भने सकेनन् । ठेकेदारीकै आडमा त्यहाँ पनि गिरीले गुण्डागर्दी र ठगीको काम गरिरहे । त्यही आपराधिक क्रियाकलापको अर्को सिकार हुन्, श्रेष्ठ कन्स्ट्रक्सनका सञ्चालक सुभाष श्रेष्ठ, जसले गिरीको ठगीको सिकार बन्दा कम्तीमा २१ करोड रुपैयाँ गुमाउनु परेको छ ।

अब कुरा गरौँ गिरीले कसरी ठगी गरे ठेकेदार सुभाष श्रेष्ठलाई ।

सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोग पत्र अनुसार गिरीले श्रेष्ठले पाएको ठेक्काको काम गरिदिन्छु भनेर काम नगरी पटक पटक रकम मात्रै लगेका छैनन्, मकवानपुरको आमा बस्ने घर, बुढानीलकण्ठको आफू बस्ने घर, विभिन्न व्यक्तिले दिएका चेक, नबिल बैंकमा ग्यारेन्टीका लागि राखिएको १४ करोड रुपैयाँ र आफ्नो निर्माण उपकरणहरू समेत गुमाएका छन् । यी सबैको हिसाब निकाल्दा गिरीको गुण्डाराजका कारण श्रेष्ठले २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ गुमाएका छन् ।

यस्तो छ ठेकेदार सुभाष श्रेष्ठले प्रहरीमा दिएको जाहेरीको सार संक्षेप :

म नक्साल भाटभटेनीमा कार्यालय रहेको श्रेष्ठ कन्स्ट्रक्सन प्रालिका सञ्चालक सुभाष श्रेष्ठ हुँ । म एक निर्माण व्यवसायीको हैसियतमा विभिन्न निर्माण कम्पनी तथा तिनका सञ्चालकहरूसँगको सम्पर्कमा आउने क्रममा मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नम्बर ८ मधुमारा स्थायी ठेगाना भएका अभिषेक गिरीसँग मेरो चिनजान भएको थियो । उनले आफू पनि निर्माण व्यवसायी रहेको, आफ्नै कन्स्ट्रक्सन कम्पनी भएको तथा कांग्रेस पार्टी लगायत विभिन्न राजनीतिक दलका ठुला नेताहरूसँग आफ्नो निकट सम्बन्ध र पहुँच रहेको दाबी गर्दै मलाई विश्वासमा लिन सफल भए । उनले सोही पहुँचको आधारमा ठुला–ठुला सरकारी ठेक्काहरू सहजै प्राप्त गर्न र पार्न सक्ने भन्दै मलाई आफ्नो कुरामा ढुक्क बनाएका थिए ।

मेरो कम्पनीको नाममा नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी सडक निर्देशनालय, योजना कार्यालय इटहरी अन्तर्गतको एउटा महत्त्वपूर्ण ठेक्का (विराटनगरको हाटखोलादेखि रंगेली जाने हुलाकी राजमार्गको ६ किलोमिटर सडक निर्माण परेको थियो । सो ठेक्काको सम्झौता २०७६ कात्तिक २४ मा ८३ करोड ९९ लाख ३९ हजार ३ सय ९० रुपैयाँ ७० पैसामा भएको थियो । उक्त ठेक्काको काम गर्ने क्षेत्र पूर्वी नेपाल भएकोले र अभिषेक गिरी आफैँ सोही क्षेत्रको स्थायी बासिन्दा भएको नाताले काम गर्न सजिलो हुने तर्क गर्दै उनले उक्त ठेक्काको ७८ प्रतिशत काम आफ्नो कम्पनी आर सी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत गर्ने इच्छा व्यक्त गरेका थिए । मैले मेरो कम्पनीबाट २२ प्रतिशत काम सम्पन्न गरिसकेपछि बाँकी ७८ प्रतिशत काम उनको कम्पनीले गरी समयमै मेरो कम्पनीलाई हस्तान्तरण गर्ने सहमति गरेँ । मैले उनको दाबी र राजनीतिक पहुँचको कुरामा विश्वास गरी सो ठेक्काको जिम्मा उनलाई दिएको थिएँ ।

तर दुर्भाग्यवश अभिषेक गिरीले मसँग भएको सहमति अनुसार उक्त ठेक्काको काम कहिल्यै सुरु गरेनन् र न त कुनै प्रगति नै गरे । उल्टै उनले कामको कुनै प्रगति नभए पनि मसँग पटक-पटक विभिन्न बहाना बनाई रकम माग्ने, मलाई जबरजस्ती खाली चेक कटाउन लगाउने र ती चेक आफूले लिइरहने काम गरे । चेक लिए पनि उनले सो ठेक्काको काम सुचारु गरेनन् र कामलाई अलपत्र नै छाडिदिए । मैले पटक-पटक फोन गरी सम्झाउँदा पनि उनले उल्टै आफ्नो कम्पनीले पाउने भनेको रकम पहिले चुक्ता गर्नुपर्ने माग राखी काम नै रोके । उनको यसरी काम नगरेको र अलपत्र छाडेको कारणले गर्दा सो ठेक्काको सम्झौता नै अन्ततः रद्द भयो, जसले मेरो कम्पनीलाई अत्यधिक आर्थिक क्षति र व्यावसायिक प्रतिष्ठाको हानि भयो ।

त्यसै गरी, मेरो कम्पनीले नै ठेक्का प्राप्त गरेको विराटचोक-घिनाघाट सडक प्रोजेक्टको सम्पूर्ण काम पनि अभिषेक गिरीले गर्ने भनी जिम्मा लिएका थिए । तर उनले उक्त काममा पनि कुनै चासो देखाएनन् । बरु सो ठेक्काको काममा प्रयोग भइरहेका हिताची ११० एक्साभेटर, लु१क १५०६ नम्बरको टिपर, बा२क ५७९७ नम्बरको ग्रेडर र पानी बोक्ने ट्यांकी भएको बा१क ७५५७ नम्बरको टिपर जस्ता बहुमूल्य निर्माण सामग्रीहरू मलाई कुनै जानकारी नदिई उनले आफ्नो कब्जामा लिए । एउटा टिपर त उनले काटेर कवाडीलाई बेचिदिएको पाइएको छ भने ग्रेडर र अर्को टिपर उनले आफ्ना गुण्डाहरू प्रयोग गरी करिब १ वर्षदेखि कब्जा गरी राखेका छन् । मैले ती सामग्रीहरू फिर्ता माग्दा उनले मलाई र मेरो परिवारका सदस्यहरूलाई हात-खुट्टा भाँच्ने, काट्ने, मार्ने तथा ज्यान बेपत्ता पार्ने धम्की दिइरहेका छन्, जसले गर्दा म र मेरो परिवार अत्यन्त त्रसित छौँ ।

एउटा टिपर काटेर कवाडीलाई बेचिदिएको पाइएको छ भने ग्रेडर र अर्को टिपर गुण्डाहरू प्रयोग गरी करिब एक वर्षदेखि कब्जा गरी राखेका छन्

यसबाहेक अभिषेक गिरीले आफ्नो काम अघि बढाउन मसँग थप रकम माग गर्दै आए । मसँग रकम नभएको अवस्थामा उनले मेरो घरजग्गा पास गर्न दबाब दिए र नगरे मेरो तथा मेरो परिवारको ज्यान बेपत्ता पार्ने धम्की दिइरहे । उनको धम्कीको डरले विवश भई मैले काठमाडौँ जिल्लाको विष्णु बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ग को कित्ता नम्बर १०३९, क्षेत्रफल २१७ दशमलव १ बर्गमिटर भएको मेरो नाममा दर्ता रहेको घरजग्गा करिब ६ महिनाअघि उनकी कान्छी श्रीमती सोनु आचार्यको नाममा राजीनामा पास गरिदिएँ । त्यसपछि पनि उनको रकम मागको दबाब कम भएन, बरु करिब १२ महिनाअघि उनले मेरो कम्पनीका २ वटा खाली चेकमा जबरजस्ती हस्ताक्षर गराई ती चेक आफूले लिई गए । सो मध्ये एउटा चेकमा उनले स्वयं ५ करोड ४५ लाख ६० हजार ५०५रुपैयाँ रकम लेखी चन्द्र कुमार शाहको नाम राखी बैंकमा पेस गरी बाउन्स गराएका छन् । उक्त बाउन्स चेकको आधारमा मेरो विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिने धम्की उनले दिइरहेका छन्, जुन मलाई अत्यन्त आतंकित बनाउने कुरा हो ।

त्यस्तै, मेरो हेटौडाको जग्गा बिक्री गर्ने सन्दर्भमा काठमाडौँ बस्ने विनोद कुमार गुप्तासँग मैले १ करोड ५० लाख बैना रकम लिने-दिने सहमति गरेको थिएँ । सोही क्रममा मैले विनोदबाट एक करोड रुपैयाँ बैना रकम प्राप्त गरिसकेको थिएँ । बाँकी ५० लाख रुपैयाँको चेक पनि अभिषेक गिरीले मलाई ज्यानको धम्की दिई विनोदसँग आफ्नै नाममा काट्न लगाए र सो चेक समेत उनले नै लिई गए ।

यसरी अभिषेक गिरीले विभिन्न काम गरिदिने विश्वास दिलाएर सो अनुसार नगरी, मलाई झुक्क्याउने, धोखा दिने र बेइमानी गर्ने नियतले माथि उल्लेखित सबै प्रकारबाट आफूले अनुचित लाभ लिई मलाई गम्भीर आर्थिक क्षति पुर्‍याई ठगी तथा आपराधिक विश्वासघात गरेकोले मैले यो जाहेरी दरखास्त दर्ता गरेको छु । मैले प्रहरीलाई निज अभिषेक गिरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान, मेरो र उनको वास्तविक हरहिसाबको छानबिन, ठगी र आपराधिक विश्वासघातको कसुरमा कडाभन्दा कडा कानुनी कारबाही गरी उनले मसँग अनुचित लाभ लिएको सम्पूर्ण रकम र सामग्री फिर्ता दिलाई भराई पाउन माग गरेको छु ।

यसरी श्रेष्ठ कन्स्ट्रक्सन प्रालिका सञ्चालक सुभाष श्रेष्ठले २०८३ असार २२ गते केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा अभिषेक गिरीविरुद्ध जाहेरी दिएका थिए ।

श्रेष्ठकै जाहेरीलाई नै समर्थन हुने गरी श्रेष्ठ कन्स्ट्रक्सन प्रालिका साइट सुपरभाइजर राम शरण खड्काले सीआईबीमा गरेको कागजमा पनि अभिषेक गिरीको गुण्डाराजका कारण श्रेष्ठ कन्स्ट्रक्सनले करिब २१ करोड रुपैयाँ गुमाउनु परेको बताएका छन् ।

राम शरण खड्काको कागजको सार संक्षेप यस्तो छ :

म श्रेष्ठ कन्स्ट्रक्सन प्रालिको साइट सुपरभाइजर राम शरण खड्का हुँ । म उक्त प्रालिमा २०७६ सालदेखि साइट सुपरभाइजर पदमा कार्यरत छु । प्रालिका सञ्चालक सुभाष श्रेष्ठसँग मेरो राम्रो चिनजान छ र उहाँ मेरा साथी समेत हुनुहुन्छ । हाल उहाँ कामकाजको सिलसिलामा नेपाल बाहिर हुनुहुन्छ । उहाँको हिसाब–किताब सम्बन्धमा मलाई राम्रो जानकारी भएको हुँदा म यस ब्युरोमा उपस्थित भएको छु ।

मलाई थाहा भएअनुसार, सुभाष श्रेष्ठको प्रतिवादी अभिषेक गिरीसँग ठेक्का सम्झौता गर्ने क्रममा चिनजान भएको हो । निर्माण व्यवसायीको हैसियतमा उहाँहरूबिच चिनजान हुँदै गर्दा प्रतिवादीले आफूसँग पनि कन्स्ट्रक्सन कम्पनी भएको र विभिन्न राजनीतिक नेताहरूसँगको चिनजानको पहुँचका आधारमा ठुला ठेक्काहरू पार्न सक्ने कुरा गरी सुभाष श्रेष्ठलाई विश्वास दिलाएका थिए । सोही विश्वासमा परी सुभाष श्रेष्ठसम्बद्ध श्रेष्ठ कन्स्ट्रक्सन प्रालिको नाममा नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी सडक निर्देशनालय, योजना कार्यालय इटहरी अन्तर्गतको एक ठेक्का परेको थियो । प्रतिवादीले सो ठेक्काको काम आफ्नो आर सी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिमार्फत सम्पन्न गरी जिम्मा दिन्छु भनी विश्वास दिलाएका थिए । तर उनले सो बमोजिम ठेक्काको काम नगरी रोकेका कारण उक्त ठेक्का सम्झौता नै रद्द भयो, जसले गर्दा सुभाष श्रेष्ठलाई ठुलो आर्थिक क्षति पुग्यो ।

त्यसै गरी, अर्को ठेक्काको काम पनि प्रतिवादीले नै जिम्मा लिएका थिए । उक्त काममा प्रयोग भएको एक थान एक्साभेटर र लु१क १५०६ नम्बरको टिपर प्रतिवादीले काटेर कवाडीलाई बेचिदिएको पाइएको छ । त्यस्तै, बा२क ५७९७ नम्बरको ग्रेडर एक थान र पानी बोक्ने ट्यांकी भएको बा१क ७५५७ नम्बरको टिपर समेत उनले कब्जा गरी राखेका छन् । यसबाहेक, प्रतिवादीले धम्कीको डर देखाउँदै सुभाष श्रेष्ठको काठमाडौँको विष्णु बुढानीलकण्ठ-७ मा रहेको घरजग्गा आफ्नी कान्छी श्रीमती सोनु आचार्यको नाममा राजीनामा पास गराई लिएका छन् ।

सबै रकम जोड्दा अभिषेक गिरीले सुभाष श्रेष्ठलाई २१ करोड रुपैयाँभन्दा बढी रकमको आर्थिक क्षति पुर्‍याई ठगी र आपराधिक विश्वासघात गरेको मैले देखेको र जानेको कुरा हो

प्रतिवादीले थप रकमको चेक दिन दबाब दिई हेटौँडाको जग्गा बिक्री गर्ने सिलसिलामा काठमाडौँ बस्ने विनोद कुमार गुप्तासँग सुभाष श्रेष्ठले १ करोड ५० लाख रुपैयाँ बैना रकम लिने-दिने कुरा भएकोमा एक करोड बैना प्राप्त भइसकेको थियो । बाँकी ५० लाख रुपैयाँको चेक समेत प्रतिवादीले आफूले लिई सुभाष श्रेष्ठलाई ठगी गरेका हुन् ।

सबैभन्दा ठुलो क्षतिको कुरा के हो भने, प्रतिवादीले ठेक्काको काम नगरी रोकेकै कारण उक्त ठेक्का रद्द भएपछि सुभाष श्रेष्ठले नबिल बैंक लिमिटेडमा राख्नुभएको बैंक ग्यारेन्टी बापतको ७ करोड र अन्य बैंक ग्यारेन्टी बापतको ७ करोड गरी कुल १४ करोड रुपैयाँ नबिल बैंकले दरबारमार्गस्थित श्रेष्ठ कन्स्ट्रक्सन प्रालिको खाताबाट बैंकले कट्टा गरी सम्बन्धित निकायलाई फिर्ता गरेको छ । यसरी प्रतिवादी अभिषेक गिरीले सुभाष श्रेष्ठलाई सबै रकम जोड्दा २१ करोड रुपैयाँभन्दा बढी रकमको आर्थिक क्षति पुर्‍याई ठगी र आपराधिक विश्वासघात गरेको मैले देखेको र जानेको कुरा हो ।

श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले पाएको ठेक्का नै आफू गरिदिन्छु भनी गिरीले ठेक्का हत्याएर काम नै नगरी रकम लगेको र ठेक्का रद्द भएको कारण बैंक ग्यारेन्टीसमेत खोसिएपछि श्रेष्ठ कन्स्ट्रक्सन प्रालि र त्यसका सञ्चालक सुभाष श्रेष्ठलाई करिब २१ करोड रुपैयाँ हानी भएको जाहेरी परेपछि सीआईबीले गिरीलाई पक्राउ गरेको थियो ।

पक्राउपछि सीआईबीमा बयान दिने क्रममा गिरीले आफूले कुनै ठगी नगरेको बरु घर आफूले किनेको, ठेक्काको काम गर्दा श्रेष्ठले पहिले नै तिर्नुपर्ने रकमको मात्रै माग गरिएको दाबी गरेका छन् ।

गिरीको बयानको सार संक्षेप यस्तो छ :

करिब ३-४ वर्ष अगाडि मेरो चिनजान विवश कार्कीमार्फत जाहेरवाला सुभाष श्रेष्ठसँग भएको थियो । विराटनगरमा विवश कार्कीको हिमालयन कन्स्ट्रक्सन कम्पनी रहेको छ र मेरो क्षेत्रमा हुलाकी राजमार्गको काम भइरहेको थियो । जाहेरवालाले नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी सडक निर्देशनालय, योजना कार्यालय इटहरी अन्तर्गत ठेक्काको कामको जिम्मेवारी लिएका थिए । सो काम धेरै वर्षदेखि रोकिएर बसेको कारणले निर्माण व्यवसायीको हैसियतमा विवश कार्कीले मलाई जाहेरवालासँग भेट गराई दुई स्थानको ठेक्काको काम मैले लिने सम्झौता भयो । सम्झौताअनुसार जाहेरवालाले मोबिलाइजेसन, बेरुजु र अन्य बिल बापत काटिएको रकम मलाई दिने भन्ने थियो । तिर्न नसकेमा ठेक्का रद्द हुने र काटिएको रकम जाहेरवालाले आफ्नो घरजग्गा र उपकरणबाट चुक्ता गर्ने सहमति पनि भएको थियो । यसरी नै मेरो जाहेरवालासँग कारोबार तथा लेनदेन भएको हो ।

जाहेरवालाको नबिल बैंकको खातामा जम्मा भएको रकम बैंकले काटेपछि उनले मलाई भुक्तानी गर्न नसकेकाले ठेक्का सम्झौता रद्द भएको हो । सम्झौतापछि जाहेरवालाले मलाई पानी ट्यांकर र ग्रेडर प्रयोग गर्न दिएका थिए, जुन हाल पनि मसँगै छन् तर चालु अवस्थामा छैनन् । जाहेरवालाको नाममा काठमाडौँको बुढानीलकण्ठ ७ मा रहेको घरजग्गा मुक्तिनाथ विकास बैंकमा धितो राखी उनले ३ करोड ६० लाख ऋण लिएका थिए । सो घरजग्गा मलाई बिक्री गर्ने सहमति भएपछि मैले मेरी श्रीमती सोनु आचार्य गिरीको नाममा बैंक खाता खोली ३ करोड ऋण लिई ७८ लाख नगद जम्मा गरी जाहेरवालाको ऋण सेटलमेन्ट गरियो । सोही कारण उक्त घरजग्गा हाल मेरी श्रीमतीको नाममा दर्ता रहेको छ ।

काम गरेको भुक्तानी बापत मैले जाहेरवालाको श्रेष्ठ कन्स्ट्रक्सन प्रालिको नबिल बैंकका दुई थान चेक लिएको हुँ । भौतिक पूर्वाधार विभाग विराटनगर र हुलाकी सडक निर्देशनालयबाट जाहेरवालाले प्राप्त गरेका दुई ठेक्काहरू उनले सम्पन्न गर्न नसकेपछि मैले गर्ने सम्झौता भएको हो । सोही ठेक्काबापत मैले जाहेरवालासँग पाउनु पर्ने रकममध्ये जाहेरवालाले विनोद कुमार गुप्तासँग बैनाबापत प्राप्त गरेको ५० लाख रुपैयाँको चेक उनले मलाई नै दिएका हुन् । मैले जाहेरवालाको कुनै पनि सम्पत्ति जबरजस्ती लिएको वा धम्की दिएको होइन, बरु सहमतिअनुसार नै सबै कारोबार भएको हो ।

यसरी अभिषेक गिरी र श्रेष्ठ कन्स्ट्रक्सनका सञ्चालक सुभाष श्रेष्ठ जोडिएको ठगीको कसुरमा अनुसन्धान हुँदा सिआइबीको रायसहितको प्रतिवेदनमा गिरीले धाक धम्की दिई गुण्डागर्दी गरी श्रेष्ठको सम्पत्ति कब्जा गरेको र ठुलो आर्थिक क्षति पुराएको आरोप छ । सिआइबीले गरेको अनुसन्धानमा गिरीले कसूर गरेको ठहर गर्दै २१ करोड रुपैयाँभन्दा बढी ठगी गरेकाले श्रेष्ठ कन्स्ट्रक्सन प्रालिलाई बिगो भराउन मागदाबी लिइएको छ ।

के छ अभियोगपत्रमा मागदाबी ?

अभियोगत्रपमा प्रहरीको अनुसन्धान प्रतिवेदन, मिसिल संलग्न कागजातहरू, जाहेरी दरखास्त, साइट सुपरभाइजर राम शरण खड्काको कागज, प्रतिवादी अभिषेक गिरीको बयान, बुझिएका अजय सहनीको घटना विवरण, भिडियोयुक्त पेन ड्राइभ, खानतलासी बरामदी मुचुल्का, बैंक स्टेटमेन्टहरू, सवारी धनी दर्ता प्रतिलिपिहरू, जग्गाधनी पुर्जाको प्रतिलिपि, र पठाइएका एसएमएस विवरण लगायतका प्रमाणहरूको गहन अध्ययनबाट प्रतिवादी अभिषेक गिरीको संलग्नता तथा कसुर वारदातको स्वरूप स्पष्ट भएको उल्लेख छ ।

गिरीलाई ७ वर्ष कैद सजाय गर्न मागदाबी लिइएको छ

अभियोगपत्रमा उल्लेख भए अनुसार अभिषेक गिरीले निर्माण व्यवसायी जाहेरवाला सुभाष श्रेष्ठलाई आफूसँग विभिन्न राजनीतिक नेताहरू र प्रभावशाली व्यक्तिहरूसँगको चिनजान र पहुँच रहेको भन्दै ठुला सरकारी ठेक्काहरू पार्न सक्ने विश्वास दिलाए । सोही विश्वासका आधारमा जाहेरवालाको श्रेष्ठ कन्स्ट्रक्सन प्रालिको नाममा नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी सडक निर्देशनालय, योजना कार्यालय इटहरी अन्तर्गत ठेक्काको २२ प्रतिशत काम सकिएकाले बाँकी ७८ प्रतिशत काम आफूले गर्ने भनी ठेक्का हत्याए । आफ्नो निर्माण कम्पनी आर सी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिमार्फत काम गर्ने भने पनि गिरीले सहमति बमोजिम कुनै काम नगरी ठेक्काको काम अलपत्र छाडिदिए, जसको कारण उक्त ठेक्का सम्झौता नै रद्द भयो र जाहेरवालाले ठेक्का बापत राखिएको बैंक ग्यारेन्टीको १४ करोड रुपैयाँ खिचियो ।

यसै गरी जाहेरवालाकै कम्पनीले ठेक्का पाएको अर्को विराटचोक–घिनाघाट सडक प्रोजेक्टको काम पनि प्रतिवादीले नै गर्ने भनी जिम्मा लिएकोमा सो काममा प्रयोग भइरहेका निर्माण उपकरणहरू समेत कब्जा गरियो । लु१क १५०६ नम्बरको टिपर त काटेर कवाडीलाई बेचिदिए जसको भिडियोसमेत मिसिलमा राखिएको छ । यता ग्रेडर र अर्को टिपर उनले आफ्ना गुण्डाहरू प्रयोग गरी झन्डै एक वर्षदेखि कब्जामा राखिरहेका छन् ।

त्यति मात्रै होइन, गिरीले श्रेष्ठलाई पटक-पटक हात-खुट्टा भाँच्ने, काट्ने, मार्ने र बेपत्ता पार्ने धम्की दिई आतंकित बनाई उनको बुढानीलकण्ठमा रहेको घरजग्गा जबरजस्ती राजीनामा गराई आफ्नी कान्छी श्रीमती सोनु आचार्यको नाममा दर्ता गराए । त्यसै गरी श्रेष्ठ कन्स्ट्रक्सनको दुई वटा खाली चेकमा जबरजस्ती हस्ताक्षर गराई ती चेक आफूले लिई एउटा चेकमा आफैँले ५ करोड ४५ लाख ६० हजार ५०५ रुपैयाँको रकम भरेर बैंकमा पेस गरी बाउन्स गराए । त्यसबाहेक, श्रेष्ठको हेटौँडाको घर जग्गा बिक्री गर्ने भनी विनोद कुमार गुप्तासँग बैनाबापत लिनुपर्ने ५० लाख रुपैयाँको चेक पनि गिरीले धम्की दिई आफ्नो नाममा कटाउन लगाएका थिए ।

गिरी पहिले नै अन्य अपराधमा संलग्न रही छुटेको व्यक्ति भएकाले उनलाई कुल सजायको दोब्बर सजाय गर्न मागदाबी लिइएको छ

ठेक्का हत्याएको तर काम नगरेको कारण श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले नबिल बैंकमा राखेको धरौटीको ७ करोड र बैंक ग्यारेन्टी बापतको ७ करोड गरी १४ करोड रुपैयाँ बैंकले कट्टा गरी ठेक्का दिने सरकारी संस्थालाई नै फिर्ता गरिदिएको थियो । सबै रकम जोड्दा गिरीको आपराधिक कार्यका कारण श्रेष्ठ कन्स्ट्रक्सन र यसका सञ्चालक सुभाष श्रेष्ठलाई २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ नोक्सानी भएको ठहर गर्दै ठगी तथा आपराधिक विश्वासघातको कसुरमा सजाय गरी पीडितलाई गिरीले अनुचित लाभ लिएको सम्पूर्ण रकम फिर्ता गराउन माग गरिएको छ ।

साथै ठगी गर्न नहुने कसुरमा गिरीलाई ७ वर्षसम्म कैद सजायको माग गरिएको छ ।

गिरी पहिले नै अन्य अपराधमा संलग्न रही छुटेको व्यक्ति भएकाले उनलाई कुल हुने सजायको दोब्बर सजाय गर्न समेत भनिएको छ ।

यसरी विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रही पटक पटक जेल पुगेका गुण्डा नाइके अभिषेक गिरी एक पटक फेरि न्यायिक हिरासतमा पुगेका छन् ।

शुक्रबार गिरीको बयान लिइएको छ भने सोमबार उनीविरुद्ध थुनछेक प्रयोजनका लागि सुनुवाइ हुनेछ ।

सम्बन्धित खबर