
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभूति घोषणा गर्दै सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले प्रधानमन्त्रीलाई खुला पत्र पठाउँदै बेलायती गोर्खा, गैरआवासीय नेपाली संघ यूके तथा विश्वभर रहेका नेपाली समुदायको तर्फबाट यस्तो माग गरेका हुन्। पत्रमा पुर्जाले नेपाललाई विश्वसामु चिनाउन पुर्याएको असाधारण योगदानको राज्यले औपचारिक रूपमा सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ।
एनआरएनए यूकेले पुर्जालाई केवल सफल पर्वतारोहीका रूपमा नभई साहस, अनुशासन, नेतृत्व, मानवता, सेवा र असम्भवलाई सम्भव बनाउने दृढ इच्छाशक्तिको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने जनाएको छ। उनको योगदानले नेपालको गौरव र राष्ट्रिय पहिचानलाई विश्वस्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको संघको भनाइ छ।
पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ६ महिनाभन्दा कम अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए। उनले ८ हजार मिटरभन्दा अग्ला १४ भन्दा बढी हिमालको सफल आरोहण गरेका थिए।
पूर्व ब्रिटिश गोर्खा सैनिक तथा स्पेसल बोट सर्भिसका सदस्यसमेत रहेका पुर्जाको राष्ट्रिय पहिचान नेपाली नै रहेको एनआरएनए यूकेले जनाएको छ। नेपालका लागि असाधारण योगदान गर्ने व्यक्तिको सम्मानलाई नागरिकता वा राष्ट्रियताको सीमित बहसमा राख्न नहुने अध्यक्ष गाहा मगरको भनाइ छ।
गाहा मगरले नेपालले विगतमा विदेशी नागरिकलाई समेत उनीहरूको योगदानका आधारमा उच्च सम्मान दिएको उदाहरण प्रस्तुत गरेका छन्। सन् १९५३ मा तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेपछि हिलारीले नेपाल र नेपाली हिमालका लागि पुर्याएको योगदानको स्मरण गर्दै उनले हिलारीलाई नेपालले उच्च सम्मान र पछि मानार्थ नेपाली नागरिकतासमेत दिएको बताए।
‘यदि नेपालका लागि योगदान गर्ने विदेशी नागरिकलाई हामी यति ठूलो सम्मान दिन सक्छौँ भने, नेपालकै माटोमा जन्मिएका निर्मल ‘निम्स’ पुर्जालाई किन राष्ट्रिय विभूति घोषणा गर्न नसक्नेरु’ गाहा मगरले प्रश्न गरेका छन्। उनका अनुसार राष्ट्रिय विभूति घोषणा गर्नु व्यक्तिको सम्मान मात्र नभई राष्ट्रका लागि असाधारण योगदान गर्न भावी पुस्तालाई प्रेरित गर्ने सन्देशसमेत हो।
एनआरएनए यूकेले पुर्जाको निधनप्रति दुःख व्यक्त गर्दै उनको परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, राष्ट्रिय सम्मानसहित शोकसभा आयोजना गरी उनको योगदानप्रति राज्यको कृतज्ञता व्यक्त गर्न माग गरेको छ।
संघले राष्ट्रिय शोक घोषणा गरी राष्ट्रिय झण्डा आधा झुकाउन तथा विश्वभर रहेका नेपाली दूतावास र कूटनीतिक नियोगमार्फत श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्नसमेत आग्रह गरेको छ। त्यस्तै, पुर्जाको नाममा राष्ट्रियस्तरको स्मारक, अध्ययनवृत्ति वा प्रेरणा प्रतिष्ठान स्थापना गरी उनको योगदानलाई भावी पुस्ताका लागि संस्थागत गर्नुपर्ने माग गरिएको छ।
एनआरएनए यूकेका अनुसार पुर्जाको जीवनले लाखौँ मानिसमा ‘असम्भव पनि सम्भव हुन्छ’ भन्ने विश्वास जगाएको छ। उनको साहस, मानवता र सेवाको भावनाले आगामी पुस्तालाई समेत प्रेरणा दिने संघको विश्वास छ।
‘नेपालले एक महान् पर्वतारोही मात्र गुमाएको होइन, राष्ट्रले आफ्नो गौरवशाली सन्तान, बेलायती गोर्खा समुदायले आफ्नो गौरव र विश्वले एक अद्वितीय प्रेरणाको स्रोत गुमाएको छ,’ पत्रमा भनिएको छ।
एनआरएनए यूकेले पुर्जालाई तत्काल राष्ट्रिय विभूति घोषणा गरी उनको योगदानअनुसार सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न पुनः आग्रह गरेको छ। संघका अनुसार यस्तो सम्मान पुर्जाको व्यक्तिगत सम्मान मात्र नभई नेपालको गौरव, इतिहास, राष्ट्रिय स्वाभिमान र विश्वसामु नेपाली पहिचानको सम्मानसमेत हुनेछ।