शिल्पी थिएटरमा ‘मिस मेनुका’: यौनकर्मीको कथामार्फत शक्ति र न्यायमाथि प्रश्न

रीता बुढाथोकी

काठमाडौँ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा अहिले ‘मिस मेनुकाः एक संवेदनशील यौनकर्मी’ नाटक मञ्चन भइरहेको छ । फ्रान्सेली दार्शनिक तथा नाटककार जाँ-पल सार्त्रको चर्चित नाटक ला पुताँ रेस्पेक्ट्युजको नेपाली रूपान्तरणका रूपमा प्रस्तुत गरिएको यस नाटकले यौनकर्मीको जीवन, सामाजिक दृष्टिकोण, शक्ति सम्बन्ध, नैतिकता र संस्थागत अन्यायका विषय उठाएको छ ।

नाटकको नेपाली रूपान्तरण कल्पना घिमिरे नुरिस्साँले गरेकी हुन् भने निर्देशन पवित्रा खड्काले गरेकी छन् ।

कलाकार सरीता गिरी नाटकको मुख्य पात्र ‘मेनुका’का रुपमा देखा परेकी छन् । नाटकमा उनी ‘यौनकर्मी’ हुन् । उनी बसमा यात्रा गर्ने क्रममा एउटा आपराधिक घटनाको प्रत्यक्षदर्शी बन्छिन् । घटनामा वास्तविक अपराधी प्रभावशाली व्यक्ति हुन्छ । तर आफ्नो अपराध जोगाउन प्रभावशाली समूहले घटनाको स्वरूप नै परिवर्तन गर्न खोज्छ ।

निर्दोष व्यक्तिलाई अपराधी देखाउन मेनुकाको बयानलाई प्रयोग गर्ने प्रयास हुन्छ । उनलाई आफूले देखेको सत्यभन्दा फरक कुरा बोल्न दबाब दिइन्छ। यही परिस्थितिबाट नाटकको मुख्य द्वन्द्व सुरु हुन्छ ।

मेनुका एकातर्फ आफ्नो आँखाले देखेको सत्यका पक्षमा उभिन चाहन्छिन् भने अर्कोतर्फ शक्तिशाली व्यक्तिहरूको दबाब र सामाजिक पूर्वाग्रहसँग जुध्नुपर्ने अवस्थामा पुग्छिन् । यौनकर्मी भएकै कारण उनको चरित्र र भनाइलाई कसरी फरक दृष्टिले हेरिन्छ भन्ने प्रश्न पनि नाटकले उठाएको छ ।

नाटकले यौनकर्मीलाई केवल पेशाको आधारमा परिभाषित गर्ने सामाजिक प्रवृत्तिमाथि प्रश्न गरेको छ । उनीहरू पनि अन्य नागरिकसरह अधिकार, सम्मान र न्यायका हकदार रहेको विषयलाई कथामार्फत प्रस्तुत गरिएको छ ।

मूल नाटकमा सार्त्रले शक्ति, जातीय विभेद र सामाजिक पूर्वाग्रहका विषय उठाएका थिए। नेपाली रूपान्तरणले भने ती प्रश्नलाई नेपाली समाजको परिवेशसँग जोडेको छ। विशेषगरी समाजको कमजोर वर्गमाथि हुने विभेद र शक्तिशाली व्यक्तिले आफ्नो प्रभाव प्रयोग गरेर सत्यलाई प्रभावित पार्न सक्ने अवस्थालाई नाटकको कथावस्तुसँग जोडिएको छ ।

निर्देशक पवित्रा खड्काका अनुसार नाटकले समाजमा विद्यमान असमानता र विभेदका विभिन्न पक्षलाई उठाउने प्रयास गरेको छ। यौनकर्मीमाथि हुने सामाजिक विभेद र उनीहरूले भोग्नुपर्ने अन्यायलाई रंगमञ्चमार्फत बहसमा ल्याउनु पनि नाटकको उद्देश्य रहेको निर्माण पक्षले जनाएको छ ।

नाटकको अर्को महत्वपूर्ण पक्ष यसको शीर्षक हो । ‘एक संवेदनशील यौनकर्मी’ भन्ने परिचयले नै समाजमा यौनकर्मीलाई हेर्ने परम्परागत दृष्टिकोणमाथि प्रश्न गर्छ । पेशा फरक हुँदैमा व्यक्तिको संवेदना, सत्य र न्यायको अधिकार फरक हुन्छ कि हुँदैन भन्ने प्रश्न दर्शकसामु राखिएको छ ।

नाटकमा यौनकर्मी महिलाको संघर्षलाई सनसनीपूर्ण ढंगले प्रस्तुत गर्नुभन्दा सामाजिक र मानवीय पक्षलाई केन्द्रमा राखिएको छ। मेनुकाको चरित्रमार्फत डर, दबाब, विवशता र आफ्नो सत्यप्रतिको संघर्षलाई प्रस्तुत गरिएको छ ।

यद्यपि गम्भीर सामाजिक विषयलाई रंगमञ्चमा प्रस्तुत गर्दा सन्देश र कथाबीचको सन्तुलन महत्वपूर्ण हुन्छ । पात्रहरूलाई केवल सही र गलतको दुई कित्तामा सीमित नगरी उनीहरूको मनोविज्ञान र परिस्थितिलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्दा नाटकको प्रभाव अझ बलियो बन्न सक्छ । सार्त्रको मूल कृतिको दार्शनिक पृष्ठभूमिलाई नेपाली सामाजिक परिवेशसँग जोड्ने प्रयास पनि यस प्रस्तुतिको महत्वपूर्ण पक्ष हो ।

‘मिस मेनुका’ले उठाएको मूल प्रश्न भने सरल छ-कसैको पेशा वा सामाजिक हैसियतका आधारमा उसको सत्यलाई अस्वीकार गर्न मिल्छ ?

नाटकले यही प्रश्नमार्फत शक्ति र न्यायबीचको सम्बन्धमाथि बहस सुरु गर्छ। अपराध गर्ने व्यक्ति मात्र होइन, अपराध लुकाउन सत्यलाई प्रभावित पार्ने संरचना र त्यसलाई स्वीकार गर्ने सामाजिक मानसिकतामाथि पनि नाटकले प्रश्न उठाएको छ ।

त्यसैले ‘मिस मेनुकाः एक संवेदनशील यौनकर्मी’ यौनकर्मीको कथा मात्र नभई सत्य, शक्ति, सामाजिक पूर्वाग्रह र न्यायको सम्बन्धबारे बहस गर्ने रंगमञ्चीय प्रस्तुतिका रूपमा हेर्न सकिन्छ ।

साउन १३ देखि सुरु भएको नाटक भदौ ६ गते सम्म मंगलबार बाहेक हरेक दिन साँझ ५ बजे तथा शनिबार दिउँसो १ बजे पनि मञ्चन हुने बताइएको छ ।