विश्वभरका ३० भन्दा बढी वैज्ञानिकको निष्कर्ष: भोटेकोशीको लेदोसहितको बाढी मानिसको अनुकूलन क्षमताभन्दा बाहिर

राजेन्द्र भट्ट

काठमाडौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा भइरहेको अस्वाभाविक र तीव्र तापक्रम वृद्धिले प्राकृतिक विपद्को पारम्परिक स्वरूपलाई बदलेर अति-विनाशकारी ‘भू-जोखिम शृङ्खला’ (जिओहजार्ड क्यास्केड)मा परिणत गरिदिएको छ। नेपाल-चीन सीमाक्षेत्रको लाङटाङ-लिरुङ हिमश्रृङ्खलामा गत २६ अगस्ट २०२६ मा गएको भीषण चट्टान-बरफको पहिरो र त्यसपछिको लेदो-गेग्रान बाढी, स्थानीय मौसमी घटना नभई मानव-सर्जित जलवायु परिवर्तनको दूरगामी प्रभाव भएको एक अध्ययनले बताएको छ।

 वर्ल्ड वेदर एट्रिब्युसन (WWA) ले सार्वजनिक गरेको प्रतिवेदन ‘र्‍यापिड वार्मिङ इन द हिमालय एक्जासर्बेट्स जिओहजार्ड क्यास्केड्स बियोन्ड एडप्टेसन लिमिट्स’ का अनुसार उच्च हिमाली क्षेत्रमा भइरहेको अस्वाभाविक तापक्रम वृद्धिले प्राकृतिक जोखिमलाई स्थानीय समुदायको अनुकूलन क्षमताभन्दा बाहिर पुर्‍याइदिएको छ।

समुद्री सतहबाट करिब ५,१५० मिटरको उचाइमा रहेको लाङटाङ-लिरुङको चट्टानी पर्खाल र हिमनदी फुटेर ३,७५० मिटरको उपत्यकामा खस्दा जमिनमा ५.५ म्याग्निच्युडको भूकम्प सरहको ऊर्जा उत्सर्जन भएको थियो। तीव्र गतिमा खसेको पहिरोको घर्षणबाट बरफ पग्लेर सिर्जना भएको विशाल गेग्रान बाढी औसत १८८ किलोमिटर प्रतिघण्टाको गतिमा बग्दै मात्र सात मिनेटभित्र २२ किलोमिटर तलको रसुवागढी सीमासम्म पुगेको थियो। यस बाढीले टिमुरे, स्याफ्रुबेँसी र बेत्रावतीका बस्तीहरू सोहोर्दै सात घण्टाभित्र २०० किलोमिटर टाढाको देवघाटसम्म पुगेर नदीको बहाव प्रतिसेकेन्ड ५,८५० घनमिटरसम्म पुर्‍याएको थियो। तटीय क्षेत्रमा ३०.५ मिलियन घनमिटर लेदो जम्मा गर्दै ८८ किलोमिटर तल्लो क्षेत्रमा रहेको गल्छीसम्म त्रिशूलीको जलसतह ८.५ मिटरले बढाएर व्यापक विनाश निम्त्याएको अध्ययनले देखाएको छ।

अन्तर्राष्ट्रिय वैज्ञानिक बेन क्लार्कको नेतृत्वमा तयार पारिएको यस अध्ययनमा विश्वभरका ३० भन्दा बढी अग्रणी वैज्ञानिक र संस्थागत विज्ञहरूको संलग्नता रहेको छ। अध्ययनमा मरियम जकारिया, बेथान डेभिस, रेजिन हक, वाल्टर इम्मरजील, रोशन झा, टम आर रोबिन्सन, थियोडोर किपिङ, क्लेयर बार्नेस र फ्रिडेरिक ओटोसहित नेपालका स्नेहा पाण्डे, माधव उप्रेती, रूप सिंह, अस्टिन लर्ड, स्नेहा गाङ्गुली, मनजीत ढकाल, फहाद सईद, अत्ता उल्लाह र अनिल पोखरेल जस्ता क्षेत्रीय विज्ञहरूको प्रत्यक्ष योगदान रहेको छ। यस अनुसन्धानलाई इम्पेरियल कलेज लन्डन, न्यूकासल, ओस्लो, उट्रेच, सेन्ट एन्ड्रुज, क्यान्टरबरी, रेडक्रस क्लाइमेट सेन्टर र कोपेनहेगन विश्वविद्यालयजस्ता विश्वस्तरीय प्राज्ञिक संस्थाहरूको प्राविधिक तथा बौद्धिक साथ प्राप्त थियो।

अनुसन्धानकर्ताहरूले बहु-तथ्याङ्क र साङ्ख्यिकीय कारण-निर्धारण विधिको प्रयोग गरेका छन्। लाङटाङ हिमनदीको ऐतिहासिक स्थिति मापन गर्न सन् १९६४ को कोरोना, १९७२ को हेक्सागन, ल्यान्डस्याट, सेन्टिनेल-२ए र प्लीयाड्स जस्ता भू-उपग्रह चित्रहरूको सूक्ष्म विश्लेषण गरिएको छ। धरातलीय सत्यता जाँच्न लाङटाङ उपत्यकाको ३,८६२ देखि ५,०९० मिटर उचाइमा रहेका स्थानीय मौसमी केन्द्रहरूबाट सन् २०१६ यताका प्रतिघण्टाका विवरण सङ्कलन गरी इआरए-५ ल्यान्ड र चेल्सासहितका अन्तर्राष्ट्रिय जलवायु पुनर्मापन तथ्याङ्कसँग जुधाइएको छ। पहिरो गएको ५,१५० मिटर उचाइमा वास्तविक तापक्रम अनुमान गर्न मौसमी तापक्रम घट्ने दर (ल्याप्स दर) समायोजन गरिएको छ, जसमा हिउँदमा प्रतिमिटर -०.००५७४°C, मनसुनपूर्व -०.००६३८°C, मनसुनमा -०.००५२६°C र मनसुनपछि -०.००५३९°C प्रयोग गरिएको छ। विपद्मा मानव-सर्जित जलवायु परिवर्तनको भूमिका पहिल्याउन WWA कार्यविधि अनुसार कोर्डेक्स र हाइरेस-एमआइपी मोडलमार्फत गैर-स्थिर साङ्ख्यिकीय मोडलिङ गरिएको छ।

अध्ययन अनुसार लाङटाङ-लिरुङ हिमनदीको क्षयीकरण विगत दुई शताब्दीयता निरन्तर र तीव्र गतिमा भइरहेको पाइएको छ। सन् १८१५ मा १८.८७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो हिमनदी सन् १९६४ सम्म आइपुग्दा ११.६९ वर्ग किलोमिटर (वार्षिक -०.२६%) र सन् २०१० सम्म ९.८८ वर्ग किलोमिटर (वार्षिक -०.४६%) मा झरेको थियो। सन् २०१५ को भूकम्पपछि यसको क्षयीकरण दर ह्वात्तै बढेर वार्षिक २.२८ प्रतिशत पुग्दा हिमनदी ८.७५ वर्ग किलोमिटरमा खुम्चिएको थियो भने सन् २०२० मा ७.८५ वर्ग किलोमिटर र २०२६ अगस्ट २४ मा पहिरो जानुअघि ७.३४ वर्ग किलोमिटरसम्म पुगेको थियो।

विपद् लगत्तै सेप्टेम्बर १ सम्मको केही दिनमै हिमनदीको थप ०.४६ वर्ग किलोमिटर क्षेत्रफल नष्ट भई ६.८८ वर्ग किलोमिटरमा सीमित हुन पुगेको छ। यस क्षयीकरणको मुख्य कारकका रूपमा औद्योगिक क्रान्तिपूर्वको तुलनामा विश्वव्यापी औसत तापक्रम १.४°C ले बढ्दा नेपालको हिमाली क्षेत्रमा वार्षिक २°C र जुलाई-अगस्टमा ३°C सम्म भएको अस्वाभाविक तापक्रम वृद्धि हो, जहाँ सन् २०२६ को जुलाई-अगस्टमा इतिहासकै उच्च तापक्रम दर्ज गरिएको थियो।

अध्ययनले लाङटाङको विपद्लाई एउटा मात्र कारण नभई बहुविध जोखिमहरू एकैपटक जोडिएर सिर्जना भएको कम्पाउन्ड विपद्का रूपमा विश्लेषण गरेको छ। सन् २०१५ को गोर्खा भूकम्पले हिमाली भौगर्भिक बनावटमा पारेको धाँजा, त्यसपछिको भारी हिमपात र सन् २०२६ को जुलाई-अगस्टको अस्वाभाविक गर्मीको संयुक्त प्रभावले यो दुर्घटना निम्त्याएको हो। बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रमा जम्ने सीमा (०°C आइसोथर्म) प्रतिदशक १०० मिटरका दरले माथितिर सर्दा चट्टानहरूलाई जमाएर अड्याइराख्ने परमाफ्रोस्ट पग्लेर ५,१५० मिटरको चट्टानी पर्खाल भत्किएको अध्ययनले देखाएको छ। दशकौँदेखि हिमनदी पातलिँदा प्राकृतिक टेवा गुम्नुका साथै उच्च उचाइमा हिउँको सट्टा वर्षा हुने अनुपात बढ्दा दरारहरूमा जलचाप बढेर भौगर्भिक संरचनालाई जगैदेखि भत्काउन सहयोग पुगेको छ।

प्रतिवेदन अनुसार नेपालका विद्यमान पूर्वसूचना प्रणालीहरू नदीको परम्परागत बाढी नाप्न सक्षम भए पनि उच्च हिमाली क्षेत्रमा अचानक सुरु हुने यस्ता विशाल बरफ-चट्टानी पहिरोको पूर्वानुमान गर्न अक्षम सिद्ध भएका छन्, जसले अनुकूलनका सीमाहरू नाघिसकेको पुष्टि गर्छ। यस्तो जोखिमबाट जोगिन समुद्र सतहबाट ५,००० मिटरभन्दा माथिका चट्टानी पर्खाल र परमाफ्रोस्टको आधुनिक भू-उपग्रह तथा रडारमार्फत अनुगमन गर्ने, तल्लो तटीय इलाकामा गेग्रान रोक्ने इन्जिनियरिङ संरचनाहरू निर्माण गर्ने र नेपालले संयुक्त राष्ट्रसङ्घको ‘हानि तथा क्षति कोष’ मार्फत तत्काल वित्तीय सहयोग प्राप्त गर्न अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा मुद्दा उठाउनुपर्ने सिफारिस गरिएको छ। यदि विश्वव्यापी रूपमा कार्बन उत्सर्जनमा तत्काल भारी कटौती नगरिने र हिमाली क्षेत्रको विशिष्टता अनुसारको जोखिम न्यूनीकरण नगरिने हो भने भविष्यमा सिङ्गो हिमाली क्षेत्र नै मानिस बस्न अयोग्य बन्दै जाने  चेतावनीतर्फ समेत अध्ययनले संकेत गरेको छ।

सिफारिस