
Gemini_Generated_Image
काठमाडौं – सडकमा रहेका खाल्डाखुल्डी, क्षति, डुबान र निर्माणसम्बन्धी समस्याको तत्काल जानकारी लिन र द्रुत समाधान गर्न डिभिजन सडक कार्यालय काठमाडौंले ‘सडक सुझाव‘ (Sadak Sujhab) नामक नयाँ मोबाइल एप सञ्चालनमा ल्याएको छ। काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका सांसदहरूसँगको छलफल कार्यक्रममा डिभिजन प्रमुख सुबोधकुमार देवकोटाले एपबारे जानकारी दिँदै यसलाई शीघ्र आधिकारिक रूपमा पूर्ण सञ्चालनमा ल्याउन लागिएको बताए।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौँले सफल परीक्षणपछि बिहीबार यो एप सार्वजनिक गरेको हो। यससँगै अब उपत्यकावासीले सङ्घीय सडकमा देखिएका खाल्डाखुल्डी, क्षति तथा अन्य प्राविधिक समस्याका बारेमा सिधै मोबाइलबाटै गुनासो वा सुझाव दर्ता गर्न सक्नेछन्।

४७२ किलोमिटर सडक समेटिने, अन्य निकायको जानकारी पनि पाइने
हाल पहिलो चरणमा यो एपमार्फत काठमाडौँ जिल्लाभित्र पर्ने करिब ४७२ किलोमिटर सङ्घीय सडकका समस्याहरू दर्ता गर्न सकिनेछ। यदि नागरिकले रिपोर्ट गरेको सडक सङ्घीय दायराभित्र नपरी स्थानीय तह वा अन्य निकायअन्तर्गत पर्दछ भने, एपले नै उक्त सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारी उपलब्ध गराउनेछ।
आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरका सडकहरूलाई पनि यस एपमा समावेश गरिने र क्रमशः देशभर विस्तार गर्ने लक्ष्य मन्त्रालयको छ।
एप प्रयोग र समस्या दर्ता गर्ने प्रक्रिया:
प्राप्त रिपोर्टहरूलाई समस्याको गम्भीरता र प्राथमिकताका आधारमा मूल्याङ्कन गरी तत्काल मर्मत तथा व्यवस्थापन प्रक्रिया अघि बढाइने डिभिजन प्रमुख देवकोटाले बताए।
एपमार्फत दर्ता भएको गुनासो कुन चरणमा पुग्यो, मर्मत प्रक्रिया सुरु भयो/भएन वा सुझाव स्वीकृत/अस्वीकृत के भयो भन्ने जानकारी नागरिकले एपमै प्रत्यक्ष ट्र्याक गर्न सक्नेछन्। काम सम्पन्न भएपछि त्यसको सूचना पनि एपबाटै प्राप्त हुनेछ। ड्यासबोर्डमा प्रयोगकर्ताले आफूले हालसम्म दर्ता गरेका कुल रिपोर्ट र तिनको प्रगतिको तथ्याङ्कसमेत स्पष्ट रूपमा हेर्न पाउने व्यवस्था मिलाइएको छ।
सडक डिभिजन कार्यालयले यसअघि पनि उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल पुर्न ‘रोड पोथोल रिपेयर एम्बुलेन्स’ सञ्चालनमा ल्याइसकेको छ।