दीपक सुनार हत्या प्रकरण : अश्लील म्यासेजबाट खुल्यो ६ वर्षको प्रेम सम्बन्ध र हत्याको रहस्य 

मदन ढुङ्गाना

काठमाडौँ । गत असार २२ गते अपराह्न करिब २ बजेको समय । कैलालीको टीकापुर नगरपालिका-३ स्थित अमरावती जंगल प्रवेश गर्ने बाटो नजिकैको क्षेत्र । स्थानीय गोठालाहरू उक्त स्थानमा पुग्दा बाटोको छेवैमा तारबार लागेको ठाउँ नजिकै रगत लतपतिएको, केही मासुका टुक्रा, एउटा दाउ, हेलमेट, चप्पल, प्लास्टिकका थैला, जेब्रा ब्याग आदि देख्छन् । डरलाग्दो दृश्य देख्ने बित्तिकै गोठालाहरूले स्थानीय प्रहरीलाई खबर गर्छन् ।

गोठालाहरूले घटनाको सम्बन्धमा स्थानीय अमरावती प्रहरी चौकी जानकारी दिने बित्तिकै प्रहरी चौकीले इलाका प्रहरी कार्यालय टीकापुरलाई सूचनाबारे जानकारी गरायो ।

घटनास्थलमा देखिएको दृश्य

इलाका प्रहरी कार्यालयको निर्देशन आए लगत्तै स्थानीय अमरावती प्रहरी चौकीका असई सहितको टोली घटनास्थलमा पुग्यो । घटना शंकास्पद र रगत मानिसको पनि हुन सक्ने भन्दै टीकापुरको प्रहरी टोली पनि घटनास्थलमा पुग्यो । घटनास्थलमा एउटा हेलमेट, चप्पल, प्लास्टिकका थैला, जेब्रा ब्याग, रगत लतपतिएका दाऊ, मासुका टुक्रा आदि फेला पर्‍यो । प्रहरीलाई उक्त रगत मानिसको हो कि जनावरको भन्ने कुराको जानकारी थिएन । यद्यपि घटनास्थलमा एउटा हेलमेट समेत फेला परेको कारण उक्त रगत र मासुको टुक्रा मानिसकै हुनसक्छ भनी प्रहरीले गम्भीरतापूर्वक घटनास्थलको मुचुल्का तयार पा¥यो । रगतको नमुना र मासुको टुक्रा संकलन गरेर फरेन्सिक परीक्षणको लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौँमा पठायो ।

परीक्षणका लागि पठाइएको नमुनाको दुई दिनमै रिपोर्ट आयो र उक्त नमुना मानिसकै रहेको पुष्टि भयो । त्यसपछि प्रहरीले अनुसन्धानलाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान अगाडि बढायो ।

असार २२ कै बेलुका मानिस हराएको खबर आयो

यता असार २२ गते साँझ नै स्थानीय दीपक सुनार हराएको भनी खोजतलासका लागि इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन पर्‍यो । निवेदन दिने व्यक्ति दीपक सुनारकी श्रीमती यमुना सुनार थिइन् । उनले श्रीमान् हराएको भन्दै खोजतलास गरिदिन आग्रह गरी निवेदन दिएकी थिइन् । घटनास्थल टीकापुर क्षेत्रको नभएको कारण प्रहरीले इलाका प्रहरी कार्यालय लम्कीमा पनि निवेदन दिन भन्यो । यमुनाले लम्कीमा पनि निवेदन दिइन् ।

त्यसपछि सुरु भयो प्रहरीको अनुसन्धान । प्रहरीले सुरुमै दीपकको मोबाइल नम्बरको खोजी गरेर त्यसबाट अनुसन्धान सुरु गर्‍यो । दीपकको मोबाइल नम्बर प्राप्त गरेपछि प्रहरीले त्यहीबाट अनुसन्धानको सुरुवात गर्‍यो । अनुसन्धानको क्रममा दीपकको मोबाइलको अन्तिम लोकेसन असार २२ गते बिहान पौने १० बजे कैलालीको खर्कौला घाट नजिकै देखियो, जुन भारतीय सीमा क्षेत्र हो । त्यसपछि दीपक कतै भारततिर पो गए कि भन्ने अनुमान गरियो ।

तर यता उक्त रगत मानिसकै भएको पुष्टि हुनु र दीपक हराउनु एकै समयमा भएपछि प्रहरीले उक्त घटनालाई जोडेर गम्भीरतापूर्वक अनुसन्धान गर्न थाल्यो ।

अनि थालियो दीपककै श्रीमती यमुनामाथि अनुसन्धान

दीपकको मोबाइलको लोकेसन भारतीय सीमानजिकै देखिएपछि प्रहरीले घटनालाई असामान्यरुपमा लिई अब उनकै श्रीमती यमुना सुनारमाथि अनुसन्धान सुरु गर्न थाल्यो । त्यसपछि प्रहरीले दीपककी श्रीमती यमुनाको मोबाइल नम्बर लिएर सीडीआर एनालाइसिस सुरु गर्‍यो । सीडीआरमा कुनै शंकास्पद घटना देखिएन र यमुनाले आफन्तहरू बाहेक अन्य व्यक्तिहरूसँग त्यति धेरै कुरा गर्ने गरेको समेत पाइएन ।

कल डिटेल रिपोर्टमा केही नदेखिएपछि प्रहरीले यमुनाको मोबाइलमा आदानप्रदान भएको एसएमएसको एनालाइसिस गर्न थाल्यो ।

यमुनाको मोबाइलमा कुनै व्यक्तिले यौनजन्य कुरा गरेको, एसएमएसमा छाडा शब्दहरू लेखिएको पाइयो । अधिकांश एसएमएसमा भद्दा र यौनजन्य कुराहरू मात्रै गरिएको पाइयो ।

आरोपित यमुना सुनार, मृतक दीपक सुनारकी श्रीमती

त्यसपछि प्रहरीले उक्त म्यासेज पठाउने व्यक्ति को रहेछ भनेर खोजी गर्दा उक्त म्यासेज पठाउने व्यक्ति स्थानीय दुर्योधन सुवर्णकार रहेको पत्ता लाग्यो ।

त्यसपछि दुर्योधन सुवर्णकारको मोबाइलको पनि कल डिटेल रिपोर्ट मगाएर प्रहरीले एनालाइसिस गर्न थाल्यो । दुर्योधनको सिडिआरमा एउटा नम्बर बारम्बार देखियो र उक्त नम्बरमा मुख्यतः रातको समयमा करिब १० बजेपछि मात्रै कुराकानी हुने गरेको र लामो समय कुराकानी हुने गरेको देखियो ।

त्यसपछि प्रहरीले उक्त नम्बर कसको रहेछ भनेर मोबाइल सेवा प्रदायकसँग विवरण लियो । तर उक्त नम्बर पनि सुवर्णकै नाममा रहेको पाएपछि प्रहरी झनै अचम्मित भयो । किनभने आफ्नै मोबाइलमा रातको समयमा कसले किन र कसरी कुरा गर्छ र ?

त्यसपछि उक्त मोबाइलको पनि लोकेसन एनालाइसिस गर्न थाल्यो । उक्त मोबाइल प्रायजसो जानकी गाउँपालिका ९, अमरावती भन्ने स्थानमा देखियो जुन स्थान यमुनाको माइतीघर हो र उनी माइतीघरमै बस्ने गरेकी थिइन् । त्यसपछि प्रहरीले उक्त मोबाइलको आइएमइआई समेत चेक गर्दा यमुनाले चलाउने गरेको मोबाइलकै आइएमइआई नम्बरसमेत प्रयोग भएको पाइयो । उनी फोनको विवरण चेक गर्दा उक्त नम्बरको फोनबाट केवल दुर्योधन सुवर्णकारसँग मात्रै कुराकानी हुने गरेको खुल्यो ।

त्यसपछि प्रहरी यमुनाकै घरमा पुगेर उक्त मोबाइल नियन्त्रणमा लियो र थप अनुसन्धान गर्न थाल्यो । अनुसन्धानमा यमुना र दुर्योधनबिच प्रेम सम्बन्ध रहेको र उनीहरू नजिक भएको कुरा पत्ता लाग्यो । यमुनाले आफूहरू करिब ६ वर्षदेखि नजिकिएको र सम्बन्धमा रहेको कुरा स्वीकार गरिन् ।

अनि सुरु भयो विस्तृत अनुसन्धान

अब यमुना र दुर्योधनको लभ रिलेसन भेटिएपछि कतै यो घटना प्रेम र हत्यासँग सम्बन्धित त छैन भनेर प्रहरीले थप अनुसन्धान सुरु गर्‍यो । कतै यमुनाकै योजनामा प्रेमी दुर्योधनसँग मिलेर यमुनाले नै पति दीपकको हत्या त गराइनन् भन्ने कोणबाट अनुसन्धान सुरु भयो ।

तर यमुनाको कल डिटेल रिपोर्टमा केही कुरा नदेखिएपछि प्रहरीको ध्यान र शंका दुर्योधनतिर नै मोडियो । त्यसपछि दुर्योधनको मोबाइल एनालाइसिस सुरु गर्दा पछिल्ला दुई तीन महिनामा एउटा नम्बर बारम्बार देखियो र शंकास्पद पनि देखियो ।

यमुनाका प्रेमी दुर्योधन सुवर्णकार

कैलालीको लम्कीचुहा बस्ने दुर्योधनको मोबाइल नम्बरबाट कञ्चनपुरको बेलौरी नगरपालिका ८ कञ्चनपुरका ४२ वर्षीय वीरेन्द्र रानासँग देखियो । त्यसपछि वीरेन्द्रको डिटेल नियाल्दा जंगलमा रगत लतपतिएको दाउ लगायतका सामान भेटिएको स्थान आसपास नै देखियो र उनी घटनाको अघिल्लो दिन मात्रै आएर भोलिपल्ट नै कञ्चनपुर फर्किएको खुल्यो ।

प्रहरीले मोबाइल डाटाको सूक्ष्म विश्लेषण गर्दा घटनाको आसपासमा पाँच जनाको कनेक्सन देखियो । दुर्योधन सुवर्णकार र रामराजेश महतो तथा कञ्चनपुरका वीरेन्द्र राना र भीमराज रानाबिच कनेक्सन देखियो । अनि यी दुवै जना बेलाबेलामा टीकापुरमा पनि देखिए । त्यसपछि प्रहरीलाई थप शंका लाग्यो र अनुसन्धानलाई अझै तीव्रता दिए ।

यमुनाले मिडियामा बोलेका कुराले सहज बनाइदियो अनुसन्धान

जब दीपक हराएको भन्दै यमुनाले प्रहरीमा निवेदन दिइन् र प्रहरीले राम्रोसँग अनुसन्धान गरिदिएन भन्दे मिडिया बोलाएर बयानबाजी गरिन्, त्यति बेला यमुनाले एउटा सुराक खुस्काएकी थिइन् । बोल्ने क्रममा यमुनाले घटनाको दिन आफू मसान पन्छाउन गएको तर फर्कँदा श्रीमान् घरमा नभएको बताएकी थिइन् । त्यसपछि प्रहरीलाई कतै यो घटना मानव बलीसँग त सम्बन्धित छैन भन्दै अनुसन्धान गरिरहेको थियो ।

त्यसपछि प्रहरीले कनेक्सनमा देखिएका व्यक्तिहरूको विवरण खोजी गर्दै जाँदा टीकापुरमै रहेका एक व्यक्ति रामराजेश महतो झारफुक गर्ने व्यक्ति भएको खुल्यो । उनी वैद्यको काम गर्ने भन्नेसमेत जानकारी पाएपछि प्रहरीले रामराजेशको निगरानी सुरु गर्‍यो ।

यता प्रहरीले दुर्योधनको मोबाइल बैंकिङको समेत एनालाइसिस गरिरहेको थियो । अनुसन्धानमा दुर्योधनले आफ्नो श्रीमतीको नाममा रहेको शारदा मल्टी एग्रो फर्मको नाममा रहेको बैंक खाताबाट मोबाइल बैंकिङ चलिरहेको थाहा पायो । त्यसको एनलाइसिस गर्दा एउटा पसलमा १ हजार २०० रुपैयाँको किनमेल गरेको पाइयो । उक्त पसलमा प्लास्टिक र झोलाहरू पाइन्थ्यो । तर टीकापुरको पसलमा प्लास्टिक बेच्न नपाइने भएकाले पसलले सही कुरा बताएनन् । त्यसै गरी अर्को एक स्थानमा १ हजार ४५० रुपैयाँको भुक्तानी गरेको देखियो । उक्त भुक्तानी ग्रिल उद्योगमा थियो ।

ग्रिल उद्योगमा दुर्योधनले के को पैसा तिरे त भनेर बुझ्न प्रहरी स्थानीय ग्रिल उद्योगमै गए । ग्रिल उद्योगमा जाँदा प्रहरीले त्यहाँ दाउ पनि देख्यो, जुन घटनास्थलमा समेत फेला परेको जस्तै थियो । उक्त ग्रिल उद्योग फलामको भएको कारण त्यहाँ हम्मर पनि देखियो । त्यसपछि ग्रिल उद्योगमा बुझ्दा त्यहीँबाट १ हजार ४५० रुपैयाँमा एउटा दाउ र ह्याम्बर किनेको पुष्टि भयो ।

त्यसपछि प्रहरीले दुर्योधनको खोजी गर्दै थियो, तर उनी टीकापुरबाट भागेर काठमाडौं पुगिसकेका थिए भने उनको मोबाइल नम्बर पनि अफ थियो ।

अनि रामराजेशलाई उठाउने योजना बन्यो

यो घटनामा कता कता झारफुकसमेत जोडिएको हुन सक्ने भन्दै प्रहरीले रामराजेश महतोलाई उठाउने योजना बनायो । त्यसपछि प्रहरी रामराजेशको खोजी गर्न थाल्यो र प्राविधिक विश्लेषणका आधारमा धनगढीको विद्या होटेलमा पुग्यो ।
होटेलमा पुगेर इन्ट्री हेर्दा त्यहाँ दुर्योधन सुवर्णकारको नाममा कोठा बुक गरिएको पाइयो । प्रहरी कोठाभित्र पसेर हेर्दा कोठामा दुर्योधन र रामराजेश सँगै भेटिए ।

त्यस लगत्तै प्रहरीले त्यहीँ केरकार सुरु गर्दा दुर्योधनले आफ्नो अपराध स्वीकार गरे । आफ्नै योजनामा दीपकको हत्या गरिएको र शवलाई टुक्रा पारेर कर्णाली नदीमा बगाइएको बयान दिए । घटनामा प्रत्यक्षरुपमा ४ जनाको संलग्नता रहेको र योजना बनाउनेमा यमुनाको समेत हात रहेको बताए ।

आरोपित रामराजेश महतो

दुर्योधन र रामराजेशकै पोल बयानका आधारमा भदौ ९ गते नै यमुना पनि पक्राउ परिन् । सोही दिन कञ्चनपुरबाट वीरेन्द्र राना र भीमराज राना पनि पक्राउ परे ।

पक्राउ परेका चारै जनाले दीपकको हत्या के कसरी भयो भनेर बयान दिए ।

मसान धपाउने नाटक गरी दीपकलाई पुराइयो जंगल

लम्कीचुहा नग।पालिका ४, कैवापुर, कैलाली घर भएका दीपक भर्खरै जेलबाट छुटेका थिए । लागू औषधसम्बन्धी मुद्दामा पहिले नै कैद बसेर धरौटीमा रिहा भएका उनले ४५ दिन कैद भुक्तान गर्न बाँकी थियो । त्यही कैद भुक्तान गरेर दीपक कारागारबाट २ दिन अगाडि मात्रै घर आएका थिए ।

यमुनाले दीपकलाई मसान लागेको छ भन्दै झारफुक गरेर पन्छाउनु पर्ने कुरा सुनाइन् । त्यसका लागि रामराजेश महतोलाई देखाएर रातको समयमा झारफुक गरेर पन्छाउनु पर्ने कुरा बताएपछि दीपक झारफुकका लागि तयार भएका थिए । मसान पन्छाउने कुरा भएपछि यमुनाले चामल, अबिर, फूल आदि हालेर गत असार २१ गते राति करिब १० बजेको समयमा दीपकलाई स्कुटरमा बसालिन् । त्यसपछि अमरावतीको जङ्गलतर्फ लगिन् ।

जब यमुना र दीपक अमरावतीको जंगल क्षेत्रमा पुगे, त्यहाँ पुग्ने बित्तिकै दीपकमाथि वीरेन्द्र रानाले ह्याम्मरले टाउकोमा प्रहार गरे । तर दीपकले हेलमेट लगाएका कारण त्यति समस्या भएन । त्यसपछि दीपकले हेलमेट खोलेर हेलमेटले नै हानेर प्रतिकार गर्न थाले । तर सुरुमा वीरेन्द्र राना मात्रै देखिएकामा पछि भिमराज, दुर्योधन र महतोसमेत आए । वीरेन्द्रले दाउले दीपकमाथि प्रहार गरे । दीपक ढलेपछि यमुना भने स्कुटर त्यहीँ छाडेर पैदल नै घरतर्फ लागिन् ।

दीपक हत्यामा संलग्न ५ जना आरोपितहरु

यता दीपकको मृत्यु भइसकेपछि दुर्योधनले टाउको र शरीर छुट्टाउन भन्छ । भिमराजले टाउको र शरीर अलग पारिदिन्छ अनि टाउको र शरीरलाई अलगअलग झोलामा हाल्छन् ।

त्यसपछि पहिले दुर्योधनले यमुनाको स्कुटर चलाएर यमुनाको माइतीघरमा लगेर छाडिदिन्छ । त्यसपछि सँगै गएका महतोको मोटरसाइकलमा दुवै जना फर्किन्छन् । अनि भिमराज रानाको बाइकमा टाउको बोकेर रामराजेश महतो बस्यो भने दुर्योधनको बाइकमा शरीर रहेको झोला बोकेर वीरेन्द्र राना बस्यो । अनि कर्णाली नदीतिर चारै जना लागे ।

अनि बगाइयो कर्णालीमा अवशेष

अमरावती जंगलबाट टाउको र शरीर छुट्टाइएको शव बाइकमा पथरिया हुँदै कर्णाली नदी पुगे । अनि कर्णाली नदीको एक स्थानमा टाउको र त्यसको डेढ किलोमिटर पर शरीर फाले । अनि त्यसपछि चारै जना फेरि टीकापुरतर्फ फर्किए ।
टीकापुरमा दुर्योधन सुवर्णकार र रामराजेश महतोको डेरा कोठा थियो । उनीहरूमध्ये भिमराज राना रामराजेश महतोको कोठामा गए भने वीरेन्द्र रानालाई दुर्योधनले लिएर गए ।

त्यसपछि भोलिपल्ट बिहान भिमराज र वीरेन्द्रलाई स्थानीय बसपार्कमा लगेर छाडियो । रामराजेश महतो आफ्नो घर गए भने दुर्योधन पनि लम्की गयो ।

हत्याको दिन टिकापुरकै गोचाली खाजा घरमा मदिरा सेवन

हत्याको दिन बिहानै कञ्चनपुरबाट भिमराज राना र वीरेन्द्र राना टीकापुर आएका थिए । टीकापुर आएपछि असार २१ गते साँझ उनीहरूले स्थानीय गोचाली खाजा घरमा खाजा खाए । खाजासँगै उनीहरूले मदिरासमेत सेवन गरेका थिए । सोही समयमा उनीहरूले विस्तृत योजना बनाएको प्रहरी स्रोतको भनाई छ ।

त्यसपछि सोही साँझ ९ बजेको समयमा उनीहरू त्यहाँबाट निस्केर अमरावतीको जंगलतर्फ गएका थिए । त्यसपछि दीपकको हत्या भएको थियो ।

यस्तो छ दीपकको कारागारदेखि विदेश, अनि फेरि कारागार यात्रा

दीपक सुनार लम्कीचुहा नगरपालिका-४, कैवापुर, कैलालीका स्थायी बासिन्दा थिए । सन् २०७६ सालमा दीपक लागु औषध मुद्दामा पक्राउ परे । अनि जिल्ला अदालतको आदेशमा उनी पुर्पक्षका लागि थुनामा गए । कोभिड १९ मा भएको लकडाउनमा उनी कारागारमै थिए ।

मृतक दीपक सुनार

दीपक कारागारमा रहेको समयमा उनकी श्रीमती यमुना सुनार दीपकलाई भेट्न गइरहन्थिन् । त्यति बेला यमुनालाई कारागारसम्म लगिदिने व्यक्ति उनै दुर्योधन सुवर्णकार थिए ।

दीपकले उच्च अदालतमा हालेको निवेदनमा उनी धरौटीमा रिहा भए । त्यसको केही समयमा दीपक वैदेशिक रोजगारीका लागि विदेश गए ।

यता यमुना र दुर्योधन नजिकिए । उनीहरूबिच हिमचिम र माया प्रेम बढ्न थाल्यो ।

दीपक वैदेशिक रोजगारीमा गए पनि उनको मुद्दामा अदालतले दोषी ठहर गर्‍यो । उनी केही समय जेल बसिसकेको भए पनि उनलाई ठेकिएको कैद सजाय ४५ दिन अझै कम थियो ।

जब उनी विदेशबाट घर फर्किए, त्यसको केही समयमै उनी पक्राउ परे । अनि उनलाई बाँकी कैद सजाय भुक्तानीका लागि कारागारमा पठाइयो ।

एक लाख भारुमा हत्याको सुपारी

दीपकको हत्याको योजना गत वैशाख-जेठ महिनादेखि कै रहेको पाइएको छ । यमुना र दुर्योधनको योजनामा पहिले रामराजेश महतोले कनट्र्याक्ट किलरलाई दुर्योधनसँग चिनाइदिएका थिए । कञ्चनपुरका वीरेन्द्र राना र भीमराज रानासँग रामराजेश महतोले नै दुर्योधनको भेट गराइदिएका थिए । दुर्योधन र रामराजेश महतो कञ्चनपुर नै गएर उनीहरूसँग भेटघाट गरेका थिए । त्यसपछि एक लाख भारतीय रुपैयाँ लिएर दीपकको हत्या गर्न वीरेन्द्र र भीमराज तयार भएका थिए । त्यसका लागि सुरुमा २० हजार नेपाली रुपैयाँ लिएका थिए ।

तेस्रो प्रयासमा मारिएका थिए दीपक

एक लाख भारतीय रुपैयाँमा हत्याको डिल भएपछि गत वैशाख जेठमै हत्याको योजना बन्यो । तर जुन दिन दीपकको हत्या गर्ने योजना बनेको थियो, त्यस दिन वीरेन्द्र र भीमराज टीकापुर पुग्दा दीपक पक्राउ परेर कारागार पुगेको जम्मा २ दिन भएको थियो । तर धेरै सम्पर्क गर्दा अप्ठेरो पर्न सक्ने भन्दै उनीहरू सम्पर्क नै नगरी टीकापुर गएको पाइएको छ ।

आरोपितहरु वीरेन्द्र राना र भीमराज राना

त्यसपछि दीपक ४५ दिनको बाँकी कैद सजाय भुक्तान गरेर घर फर्किए लगत्तै असार १९ गते हत्या गर्ने भनेर १८ गते नै टीकापुर आइपुगेका थिए । तर उनीहरू आएपछि असार १९ गते वीरेन्द्र रानाको आमाको मृत्यु भयो । आमाको मृत्यु भएपछि वीरेन्द्र र भीमराज कञ्चनपुरको बेलौरी नै फर्किए । राना थारु समुदायको परम्परा अनुसार एकै दिनमा काज किरिया गर्ने चलन छ । त्यसपछि २० गते नै वीरेन्द्रको आमाको दाहसंस्कार गरेर २१ गते फेरि उनीहरू टीकापुर आए ।
२१ गते बिहानै वीरेन्द्र र भीमराज टीकापुर आइपुगेका थिए भने दुर्योधन पनि टीकापुर नै पुगेको थियो । सोही दिन बिहानै यमुना पनि टीकापुर पुगिन् । दुर्योधन र यमुनाले टीकापुरकै एक होटेलमा श्रीमान्–श्रीमती भनेर कोठा लिए । बिहान करिब ९ बजे लिइएको कोठा उनीहरूले अपराह्न २ बजे चेक आउट गरे । अनि यमुना आफ्नो माइतीतिर लागिन् भने दुर्योधन वीरेन्द्र र भीमराजलाई भेट्न निस्किए ।

सोही साँझ हत्यामा प्रत्यक्ष संलग्न रहेका चारै जनाले टीकापुरको गोचाली खाजा घरमा खाजा र मदिरा खाए । अनि ९ बजे अमरावतीतर्फ गए पहिले यमुनालाई उनीहरू पुगिसकेको जानकारी दिए ।

यमुनालाई पहिले नै कुन स्थानमा दीपकको हत्या गर्ने भनेर ठाउँ देखाइएको थियो । यमुनाले दीपकलाई मसान पन्छाउन भन्दै आफ्नै स्कुटरमा हालेर जंगलमा पुराइन्, त्यसपछि दीपकमाथि आक्रमण भयो र उनको हत्या गरियो ।

को को हुन् दीपक सुनार हत्याका ५ आरोपितहरू ?

१. यमुना सुनार (२९ वर्ष)
भूमिका : मृतक दीपक सुनारकी श्रीमती, मुख्य योजनाकार
ठेगाना : लम्कीचुहा-४, कौवापुर, कैलाली (माइती : जानकी गाउँपालिका-९, अमरावती, कैलाली)
कारण : प्रेमी दुर्योधनसँग बस्न नपाएपछि हत्याको योजना बनाएकी थिइन्
संलग्नता : योजना बनाउने, दीपकलाई मसान धपाउने बहानामा जंगलमा लगेर हत्यामा संलग्न

२. दुर्योधन सुवर्णकार (४१ वर्ष)
भूमिका : यमुनाको प्रेमी, मुख्य योजनाकार
ठेगाना : लम्कीचुहा नपा-१०, कैलाली
व्यवसाय : शारदा मल्टी एग्रो फर्म (श्रीमतीको नाममा), स्थानीय जान्ने बुझ्ने व्यक्ति
संलग्नता : यमुनासँग मिलेर योजना बनाएको, हतियार किनेको, घटनास्थलमा उपस्थित, प्रमाण लुकाउन मोबाइल नदीमा बगाएको, डिएसपीलाई काठमाडौँमा भेटेर सहयोग मागेको

३. वीरेन्द्र राना (४२ वर्ष)
भूमिका : सुपारी लिने मुख्य व्यक्ति (कन्ट्रयाक्ट किलर)
ठेगाना : बेलौरी नपा-८, कञ्चनपुर
संलग्नता : एक लाख भारुको सुपारीमा हत्या गर्ने, घटनास्थलमा उपस्थित, मृत शरीरको तल्लो भाग बोकेर लगी कर्णाली नदीमा बगाएको
पाएको रकम : दुई पटकमा ४० हजार नेपाली रूपैयाँ

४. भिमराज राना (३२ वर्ष)
भूमिका : हत्या गर्ने व्यक्ति
ठेगाना : बेलौरी नपा–८, कञ्चनपुर
संलग्नता : घटनास्थलमा उपस्थित, पहिलो प्रहार गर्ने व्यक्ति, दीपकको मृत्यु भएपछि शरीर र घाँटी अलग गरेको, टाउकोको भाग बोकेर लगी कर्णाली नदीमा बगाएको

५. रामराजेश महतो (३० वर्ष)
भूमिका : झारफुक गर्ने, कन्ट्रयाक्ट किलरलाई चिनाउने व्यक्ति
ठेगाना : टीकापुर नगरपालिका ३, कैलाली
संलग्नता : दीपकलाई मसान लागेको भनेर विश्वास दिलाएको, राना थारुहरूलाई भेटाइदिएको, हत्याको समयमा घटनास्थलमा उपस्थित, बाइक चलाएर शव व्यवस्थापन गर्न गएको

काठमाडौँमा दुर्योधनले डिएसपीलाई भेटे

दीपकको हत्यापछि सबै सदस्यले आफ्नो मोबाइल नम्बरहरू परिवर्तन गरिसकेका थिए । तर दुर्योधनको मोबाइल नम्बर स्थायी प्रकृतिको भएको कारण उनले त्यही नम्बर पाँच दिन पछि काठमाडौँमा चलाए । त्यही समयमा दुर्योधनले कैलाली जिल्लाका एक डिएसपीलाई पनि काठमाडौँमा भेट गरे । डिएसपी काठमाडौँमा तालिममा गएको समयमा भेट भएको थियो । यसमा मुख्य अभियुक्त दुर्योधन , डिएसपी र मृतक पनि अछामबाटै कैलाली झरेका व्यक्ति भएकाले पहिले नै चिनजान थियो ।

दुर्योधनले डिएसपीलाई भेटेर मृतकको श्रीमतीसँग मेरो साथीको कुराकानी हुने रहेछ, केही समस्या त पर्दैन होला नि भनेर सोधेका रहेछन् । डिएसपीले कुराकानी मात्रै हुँदा त केही समस्या पर्दैन भनेर जवाफ दिएका थिए ।

यो कुरा किन आएको थियो भने त्यति बेला नै यमुनालाई प्रहरीले केरकार गर्न थालिसकेको थियो र यमुना र दुर्योधनबिच कुराकानी भएको कुरा प्रहरीले थाहा पाइसकेको थियो ।

दुर्योधनले समस्या पर्‍यो भने सहयोग गरिदिनुहोला है भनेका थिए । त्यसपछि नै ती डिएसपीलाई शंका लागेर सो कुराको जानकारी आफ्ना प्रहरीलाई गराइदिएका थिए ।

त्यसपछि जब दुर्योधन पक्राउ परे, डिएसपीकै सामुन्ने केरकार सुरु भयो । तर दुर्योधन बोल्नै मानेनन् । पछि डिएसपीलाई बाहिर पठाउनुहोस्, अनि बोल्छु भन्यो । अनि जब ती डिएसपी बाहिर गए, तब मात्रै दुर्योधनले भन्यो ‘सरलाई त मैले काठमाडौँमै भेटेको हो नि ।’

अनुसन्धान जारी, मुद्दा दायरको तयारी

यतिबेला दीपक सुनारको हत्यामा संलग्न पाँचै जनामाथि अनुसन्धान भइरहेको छ । भदौ १० गते पक्राउ परेका उनीहरूको बयानको काम करिब करिब सकिएको छ । अब तथ्यलाई पुष्टि गर्ने थप प्रमाण संकलनको काम मात्रै बाँकी रहेको र अबको केही दिनमै उनीहरुविरुद्ध कैलाली जिल्ला अदालतमा मुद्दा दायरको तयारी भएको छ । दीपक सुनार हत्याकाण्डको अनुसन्धानमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, ईलाका प्रहरी कार्यालय टीकापुर तथा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी टोली संलग्न थिए ।