खाम्पा बिद्रोहदेखि ‘टिओबी’सम्म : जेन-जी आन्दोलनमा ‘फ्री तिब्बत’को सम्बन्ध

दियोपोस्ट संवाददाता

काठमाडौँ । गत वर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन पछि ‘टिओबी’ शब्द निकै चर्चामा छ । आन्दोलनमा ‘टिओबी’ लेखिएको कालो टी-सर्ट लगाएका युवाहरुको हुल र तिनीहरुका मोटरसाइकलको लस्कर । जेनजी आन्दोलनको भीडमा देखिएको यो दृश्यले धेरैको मनमा कौतुहतला जगाएको थियो । वास्तवमा ‘टिओबी’ भनिनेहरु को हुन् ? त्यसको वास्वविकता अहिले सम्म प्रष्ट हुन सकेको छैन ।

यद्यपी, धेरैले ‘टिओबी’ लाई ‘फ्री तिब्बत’अभियानसँग जोडेर ब्याख्या गरेका छन् । ‘टिओबी’ लाई कसैले ‘तिब्बेतीयन ओरिजिनल ब्लड’ भनेका छन त कसैले ‘तिब्बेतीयन ओरिजिनल ब्लडलाइन’ भनेर ब्याख्या गरेका छन् ।

तर कसैले भने ‘टिओबी’ समुहलाई १९६०-७० को दशकमा मुस्ताङमा सक्रिय खाम्पा बिद्रोहकै नयाँ पुस्ता पनि भन्ने गरेका छन् । इतिहासको पाना पल्टाउँदा भने कथा अझ गहिरो देखिन्छ ।

किनकि नेपालमा तिब्बती सशस्त्र प्रतिरोधको इतिहास काल्पनिक होइन । कुनै समय नेपालको मुस्ताङ चिनियाँ शासनविरुद्ध तिब्बती गुरिल्लाहरूको आधार इलाका बनेको थियो । ती गुरिल्लालाई अमेरिकाको गुप्तचर संस्था सीआईएले हतियार, तालिम, सञ्चार र आर्थिक सहयोग दिएको अमेरिकी सरकारी दस्तावेजमै उल्लेख छ ।

तर त्यही इतिहासलाई २०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा देखिएको ‘टिओबी’ सँग जोड्न मिल्छ त ? भन्ने प्रश्न खडा हुन्छ । इतिहासको त्यो सशस्त्र अध्याय र आजको एउटा मोटरसाइकल समूहबीच के सम्वन्ध छ त ?

मुस्ताङमा खाम्पाहरुको सैन्य तालिम:
तिब्बतको खाम क्षेत्रका मानिसहरुलाई ‘ खाम्पा’ भनिन्थ्यो । चीनले तिब्बतमा नियन्त्रण कायम गरेपछि स्वतन्त्र तिब्बतको माग गर्दै खाम्पाहरु सन् १९५९ मा बिद्रोहमा उत्रिए ।
अमेरिका र चीनबीचको टकराव कायमै थियो ।

सोही टकरावको पृष्ठभूमिमा अमेरिकी गुप्तचर विभाग (सीआईए)ले तिब्बती प्रतिरोधलाई गोप्य रुपमा सहयोग गर्न थाल्यो । अमेरिकी सरकारी अभिलेखअनुसार सन् १९५८ मै तिब्बती प्रतिरोधलाई सीआईएको गोप्य सहयोग स्वीकृत भएको थियो । त्यसपछि अमेरिकी सिआइले तिब्बती गुरिल्लाहरूलाई तालिम र हतियार उपलब्ध गराउन थाल्यो ।

खाम्पा बिद्रोह सुरु भएलगत्तै चिनिया सैनिकका बिरुद्धमा सशस्त्र गुरिल्ला बिद्रोहको तयारी गर्न खाम्पाहरुको ठुलो संख्या नेपालको हिमाली नाका हुँदै नेपाल भित्रियो । १९७० को दशकमा मुख्यतया नेपाली भूमि प्रयोग गरी चिनियाँ सेना विरुद्ध गरिएको एक सशस्त्र गुरिल्ला बिद्रोह नै खम्पा बिद्रोह हो । सन् १९६० को दशकदेखि नेपालका हिमाली क्षेत्रमा उनीहरूको गतिविधि बढ्यो र मुस्ताङ उनीहरूको प्रमुख सैन्य आधार इलाका बन्यो ।

नेपाली भूमिबाट चीनविरुद्ध गुरिल्ला युद्धः
खाम्पा लडाकुहरूले नेपाली भूमिलाई करिब १ दशकभन्दा बढी चीनविरुद्धको गुरिल्ला गतिविधिका लागि प्रयोग गरे । अमेरिकी गुप्तचर संस्था सीआईएको सहयोगमा मुस्ताङबाट तिब्बततर्फ सैन्य कारबाही हुने गरेको बिभिन्न ऐतिहासिक अध्ययनले समेत देखाएका छन् ।

सन् १९७४ मा नेपाल सरकारले खाम्पाहरूलाई निःशस्त्र पार्ने निर्णय गर्‍यो । तत्कालिन राजा वीरेन्द्रको आदेशपछि नेपाली सेनाले मुस्ताङमा ठूलो सैन्य अभियान सञ्चालन गरेको थियो । अमेरिकी विदेश मन्त्रालयको तत्कालीन अभिलेखमा समेत नेपाल सरकारले मुस्ताङमा रहेका सशस्त्र तिब्बती खम्पालाई निःशस्त्र पार्न सैन्य कारबाही अघि बढाएको उल्लेख छ ।

नेपाली सेनाले खाम्पा कमान्डर गे वाङ्दीलाई हतियार बुझाएर आत्मसमर्पण गर्न आह्वान गरेको थियो । उनीहरूलाई नेपाली नागरिकता, जमिनलगायत सुविधा दिने प्रस्तावसमेत गरिएको ऐतिहासिक विवरणमा उल्लेख छ । तर वाङ्दी अन्ततः आत्मसमर्पण नगरी मुस्ताङबाट पश्चिमतर्फ भागेका थिए र पछि डोटीको टिंकर क्षेत्रमा नेपाली सुरक्षाकर्मीसँगको मुठभेडमा मारिएका थिए ।

एकातिर चीनसँगको सम्बन्ध । अर्कोतिर नेपालको भूमिबाट छिमेकी मुलुकविरुद्ध सशस्त्र गतिविधि । सन् १९७४ मा राजा वीरेन्द्रको शासनकालमा नेपाली सेनाले मुस्ताङमा खाम्पा गुरिल्लालाई निःशस्त्र पार्ने अभियान चलायो । त्यसअघि सेनाले खाम्पा आधारहरूको अवस्थाबारे विस्तृत अध्ययन र स्थल निरीक्षण गरेको अभिलेखसमेत भेटिन्छ ।
अन्ततः खाम्पाहरूको सशस्त्र संरचना भत्कियो । यहीँबाट नेपालको भूमिमा चलेको खाम्पा बिद्रोहको एउटा महत्वपूर्ण अध्याय समाप्त भयो ।

खाम्पाहरूलाई मुस्ताङबाट हटाएपछि उनीहरूमध्ये ठूलो संख्याका मानिस पोखरा र काठमाडौँ उपत्यकातर्फ पुनःस्थापित भएको विभिन्न स्रोतमा उल्लेख छ ।
अर्थात्, ‘फ्री तिब्बत’ र नेपालबीचको ऐतिहासिक सम्बन्ध आजको सामाजिक सञ्जालबाट सुरु भएको होइन ।

यसको जरा शीतयुद्धकालीन भू-राजनीतिसम्म फैलिएको छ । मुस्ताङमा बसेका खाम्पा लडाकुहरू केवल शरणार्थी थिएनन् । उनीहरू सशस्त्र थिए । उनीहरूको उद्देश्य तिब्बतभित्र चिनियाँ सेनाविरुद्ध गुरिल्ला कारबाही गर्नु थियो । नेपालका लागि समस्या यहीँबाट सुरु भएको हो ।

खाम्पा बिद्रोह मुख्यतः सशस्त्र प्रतिरोध थियो । त्यसको एउटा महत्वपूर्ण आधार नेपालमा थियो र त्यसमा अमेरिकी गुप्त सहयोग थियो । ‘फ्री तिब्बत’ भने पछिल्लो दशकहरूमा विकसित भएको व्यापक राजनीतिक नारासँग सम्बन्धित विषय हो ।

अनि कहाँबाट आयो ‘टिओबी’?
२०८२ को जेन-जी आन्दोलन पछि चर्चामा आएको ‘टिओवी’ शब्दको अर्थ ‘तिब्बेतीयन ओरिजिनल ब्लड’ अर्थात् ‘तिब्बती मूलको रगत’ भन्दै यसलाई ‘फ्री तिब्बत’ अभियानसंग जोडेको पाइन्छ । कसैले ‘टिओबी’लाई बाइकर्सहरुको समुह ‘द ओरिजिनल ब्रदर्श’ हो भनेर पनि ब्याख्या गरेको पाइन्छ ।

टिओबी समूहका संस्थापक तेन्जिङ दावा लामा तिब्बती मूलका भएका कारण उनका पुर्खा खाम्पा बिद्रोहसंग सम्वन्धित हुन सक्ने अड्कल पनि गरिएको थियो । ‘टिओबी’ का अगुवा तेन्जिङ दावा लामा तिब्बती मूलका भएपनि उनी काठमाडौँको बौद्ध क्षेत्रमा हुर्किएका थिए ।

जेनजी आन्दोलनपछि लामा नागरिकता विवाद, नक्कली राहदानी, नक्कली कागजात र लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परे । पछि काठमाडौँ जिल्ला अदालतको आदेशमा रु.५ लाख २० हजार धरौटीमा छुटेका थिए ।

तर विवाद यहीँ समाप्त हुँदैन । ‘टिओबी’ समूहको पुरानो पहिचानमा ‘तिब्बेतीयन ओरिजिनल ब्लड’ शब्द प्रयोग भएको र जेनजी आन्दोलनका क्रममा त्यही लेखिएको टी-सर्ट लगाएका व्यक्ति देखिएको तथ्य पनि विभिन्न रिपोर्टमा देख्न सकिन्छ । समूहका प्रतिनिधिले भने त्यसलाई राजनीतिक नारा नभई तिब्बती मूलसँग जोडिएको व्यक्तिगत पहिचानको अभिव्यक्ति बताएका छन् ।

जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले जेनजी आन्दोलनका क्रममा टिओबीको भूमिकाबारे गम्भीर प्रश्न उठाएको छ । आयोगको प्रतिवेदनसम्बन्धी सार्वजनिक विवरणमा टिओबीलाई ‘‘तिब्बेतीयन ओरिजिनल ब्लड’ का रूपमा उल्लेख गरिएको छ । आयोगले यस नामसँग सम्बन्धित सामाजिक सञ्जालमा बिभिन्न गतिविधि देखिएको र आन्दोलनका क्रममा टिओबी लेखिएका टी-सर्ट लगाएका युवाहरूको गतिविधिबारे अनुसन्धान गरेको उल्लेख छ ।

जेनजी आन्दोलनमा टिओबीको भूमिका के थियो? टिओबीको ‘फ्री तिब्बत’ वा खाम्पा बिद्रोहसँग सम्बन्ध थियो कि थिएन ? यसको वास्तविकता अझै प्रमाणित हुन सकेको छैन । किनकि नेपालको इतिहासमा विदेशी शक्तिको सहयोगमा तिब्बती सशस्त्र गुरिल्ला सञ्चालन भएको तथ्य आफैमा प्रमाणित तथ्य हो । जेनजी आन्दोलनपछि चर्चामा आएको टिओबी समुह र खम्पा आन्दोलनको प्रत्यक्ष सम्वन्ध नदेखिए पछि खम्पा आन्दोलनको प्रभाव भने कायमै छ ।

सिफारिस