
काठमाडौँ । भोटेकोशी बाढीका कारण सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ । भदौ ११ गतेदेखि अवरुद्ध रहेको राजमार्ग बिहीबार बिहानदेखि दुईतर्फी रूपमा पूर्ण सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
प्रशासनका अनुसार असोज १ गते बिहीबार बिहान ६ बजेदेखि कृष्णभीर खण्डमा सवारीसाधन दुवैतर्फ सञ्चालन हुन थालेका हुन् । भदौ १० र १४ गते रसुवामा आएको आकस्मिक तथा विनाशकारी भोटेकोशी बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक भासिएपछि पृथ्वी राजमार्गमा यातायात आवागमन ठप्प भएको थियो ।
सडक डिभिजन कार्यालयले भासिएको स्थानमा नयाँ ट्र्याक निर्माण गरी राजमार्ग सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।
राजमार्ग सञ्चालनमा आए पनि विभिन्न स्थानमा सडक भासिने, पहिरो जाने तथा ढुंगा-माटो खस्ने जोखिम कायमै रहेकाले चालक तथा यात्रुलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
विशेषगरी वर्षाका समयमा सडकमा कुनै अवरोध देखिए जोखिम मोलेर यात्रा नगर्न, सडक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीको निर्देशन पालना गर्न र आधिकारिक सूचनाका आधारमा मात्रै यात्रा तय गर्न प्रशासनले अनुरोध गरेको छ।