
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भोटेकोशी बाढीपीडितका लागि उपलब्ध गराउन लागिएका राहत खाद्य सामग्रीको निरीक्षण तथा अनुगमन गरेको छ ।
विभागले बुधबार काठमाडौंको सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा पुगेर राहतका लागि तयार पारिएका खाद्य सामग्रीको निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा याविन तेल, सनफ्लावर तेल, नमकिन, चिउरा, फुरनदाना, चियापत्ती लगायतका खाद्य सामग्री राहतका लागि पठाउन ठिक्क पारिएको पाइएको विभागले जनाएको छ ।
विभागका अनुसार अनुगमन गरिएका खाद्य सामग्रीको लेबलमा ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना उल्लेख गरिएको पाइएको थियो । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुगमन गर्दै विभागले राहत खाद्य सामग्री वितरण गर्दा असल वितरण अभ्यास अपनाउन निर्देशन दिएको छ ।
विभागले राहतका नाममा वितरण गरिने खाद्य सामग्रीको स्वच्छता तथा गुणस्तर कायम राख्दै सुरक्षित रूपमा उपभोक्तासम्म पुर्याउन सम्बन्धित पक्षलाई सचेत गराएको हो ।