
काठमाडौँ । १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका-४ का २४ वर्षीय अजय कुमार मुखिया रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोमा प्राप्त गोप्य सूचनाका आधारमा मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुण्डी कारोबार भइरहेको विषयमा अनुसन्धान गरिएको थियो ।
सोही अनुसन्धानका क्रममा मुखियाले विभिन्न व्यक्तिगत तथा व्यावसायिक बैंक खाताको प्रयोग गरी हालसम्म १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
सोही कसुरमा धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले मंगलबार मुखियालाई शहीदनगर नगरपालिका-४ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका मुखियामाथि हुण्डी कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै, उक्त अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ।