महिलाले सडक पेटीमा बच्चा जन्माएको घटनापछि गजेन्द्र नारायण सिंह अस्पतालले हटायो ६ जना कर्मचारी

दियोपोस्ट संवाददाता

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले आफ्ना ६ जना कर्मचारीलाई कामबाट हटाइएको छ । बुधबार राती प्रसुतीका लागि आएकी एक महिलालाई अस्पतालका कर्मचारीले भर्ना नलिएको र सडकमै बच्चा जन्माउन वाध्य पारेको भन्दै ति कर्मचारीलाई कामबाट हटाइएको हो ।

अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै चिकित्सक डा.उषा देव, सुरक्षा गार्ड देवकान्त झा, स्टाफ नर्सद्वय मनिषा कुमारी साह र सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर तथा स्वीपर कृष्ण मेहतरलाई कामकाजबाट हटाइएको जनाएको छ ।

अस्पतालका अनुसार छानबिन समितिले प्रतिवेदन नदिएसम्म उनीहरूलाई कामबाट अलग गरिएको हो । घटनाबारे सरकारले समेत छानबिन समिति गठन गरेर अनुसन्धानका लागि पठाइसकेको छ ।

राजविराज नगरपालिका-१४ पर्साहीकी बबिता पासवान प्रसूति व्यथाले च्यापिएपछि बुधबार बिहान करिब २ बजे गजेन्द्र नारायण सिंह अस्पताल पुगेकी थिइन् । तर, अस्पतालमा भर्ना हुन आवश्यक २५ सय रुपैयाँ तत्काल तिर्न नसकेपछि उनलाई भर्ना नलिएको परिवारको आरोप छ ।

अस्पतालका कर्मचारीले हप्कीदप्की गरेपछि बबिता अस्पतालबाट बाहिरिन बाध्य भएको र केही समयपछि अस्पताल बाहिरकै सडक पेटीमा उनले बच्चा जन्माएकी थिइन् ।
घटनाको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पतालको सेवा प्रणाली र कर्मचारीको व्यवहारमाथि व्यापक प्रश्न उठेको थियो । घटनाको चौतर्फी आलोचना भएपछि अस्पतालले ६ जना कर्मचारीलाई कामकाजबाट हटाएको हो ।

सुत्केरी हुन अस्पताल पुगेकी महिलालाई आर्थिक अभावकै कारण उपचारबाट वञ्चित गरिएको घटनाले सार्वजनिक स्वास्थ्य सेवाको पहुँच, अस्पतालको व्यवस्थापन र गरिब तथा विपन्न नागरिकप्रतिको स्वास्थ्य संस्थाको व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ ।

सम्बन्धित खबर

सिफारिस