छोरी भन्ने ठानेर आमालाई अश्लील म्यासेज पठाउँदा जेल गए अशोक सुवेदी

मदन ढुङ्गाना

काठमाडौँ । बबिता चौधरी (नाम परिवर्तन) पेसाले एक स्वास्थ्यकर्मी हुन् । सुनसरीमा काम गर्ने उनको उमेर करिब ४५ वर्ष भयो । उनी दैनिक रूपमा कार्यालय जाने, घर फर्केर आफ्नो नियमित काम गर्ने गर्दथिन् ।

गत जेठ महिनातिर उनको फेसबुकमा सरिता पौडेलको नामबाट फ्रेन्ड रिक्वेस्ट आयो । बबिताले गाउँघरतिरकै कोही चिनजानको व्यक्ति होलिन् भनेर फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिन् । फ्रेन्ड रिक्वेस्ट आएको सरिता पौडेल नाम गरेको फोटो चिनिएको अनुहार त थिएन, तर पनि कुनै महिलाको नामबाट फ्रेन्ड रिक्वेस्ट आएपछि उनले एसेप्ट गरेकी थिइन् ।

तर बबिताले ‘गाउँकै कोही चिनजानको साथी होला’ भन्ने ठानेर स्वीकार गरेको सोही आइडीबाट म्यासेन्जरमा आयो, त्यो कुनै चिनजानको व्यक्तिको स्नेह वा सन्चो बिसन्चोको खबर थिएन । बरु त्यो त अत्यन्तै अश्लील, अमर्यादित र यौनजन्य सन्देशहरूको शृङ्खला मात्रै थियो ।

म्यासेजमा ‘कस्तो से… गर्न मन लागिरहेको छ’, ’आई वान्ट टु सी योर …’, ‘तिम्रो … हेरौँन’, ‘तिम्रो …. कस्तो छ’ जस्ता शब्दमा सन्देश पठाएका थिए । सरिता पौडेल नामकी उक्त आइडी यति मै रोकिएको थिएन, ‘सुन न, तिम्रो … देखाऊ, म १० हजार रुपैयाँ तिम्रो खातामा हालिदिन्छु’ लगायतका अत्यन्तै भद्दा, अश्लील म्यासेज पठाइएको थियो । त्यसबाहेक पनि उनले कुनै अमुक युवा युवतीले यौनजन्य क्रियाकलाप गरिरहेको भिडियो समेत पठाएका थिए ।

यता बबिता भने एकतर्फीरुपमा अकस्मात् आएका यस्ता म्यासेजबाट हैरान थिइन् । त्यसपछि बबिताले यी सबै विषयहरू समेटेर गत जेठ महिनामै जिल्ला प्रहरी कार्यालय सुनसरीमा आवश्यक कारबाहीका लागि निवेदन दिइन् । त्यसपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धानका लागि साइबर ब्युरो भोटाहिटीमा लेखि पठायो ।

त्यसपछि अनुसन्धान सुरु गरेको साइबर ब्युरोले प्रयोगकर्ताको डिटेल पाउन धेरै मिहेनत गर्नुपर्‍यो । फेसबुकले ती डाटाहरू दिन धेरै समय लगायो र पटक पटकको पत्राचारपछि फेसबुकले उक्त फेसबुक आइडी कुन इमेल एड्रेसबाट खोलिएको छ, ती आइडीहरू कहाँबाट चलिरहेको छ आदि डिटेल पठाइदियो ।

प्राविधिक अनुसन्धानमा खुल्यो नक्कली फेसबुक आइडीको पोल

साइबर ब्युरोका अनुसन्धान र प्राप्त विवरणबाट सरिता पौडेलको नामबाट फेसबुक चलाइरहेका व्यक्ति काठमाडौँको नरेफाँटमा रहेको देखियो । साथै उक्त फेसबुक चलाउने व्यक्तिको आइपी एड्रेस, इन्टरनेट युजर आदिको विवरण प्राप्त हुँदा लक्ष्मी कोइराला, अशोक कुमार सुवेदी र मोबाइल नम्बर ९८५१३४XXX५५४ रहेको खुल्यो ।

फेसबुक चलाउने व्यक्तिको आइपी एड्रेस, इन्टरनेट युजर आदिको विवरण प्राप्त हुँदा अशोक कुमार सुवेदी र मोबाइल नम्बर ९८५१३४XXX५५४ रहेको खुल्यो

यो सबै विवरण प्राप्त भएपछि साइबर ब्युरोले गत भदौ ४ गते उक्त मोबाइल नम्बर चलाउने अशोक कुमार सुवेदीलाई कार्यालयमा बोलाएर निजको आइफोन १२ प्रो म्याक्स मोबाइल अनुसन्धानका लागि लियो ।

त्यसपछि ब्युरोले अनुसन्धान अगाडि बढाउँदा निजकै मोबाइल सेटमा सरिता पौडेल नामको फेसबुक अकाउन्ट बनाउँदा प्रयोग भएको [email protected] लगइन गरिरहेको पाइयो । त्यसबाहेक उक्त फेसबुक आइडीबाट अश्लील म्यासेज पठाउँदा प्रयोग गरेको इन्टरनेट समेत अशोक कुमार सुवेदीकै नाममा दर्ता भएको पाइयो ।

यसरी कहिल्यै चिनजान नभएको अपरिचित महिलालाई अश्लील, भद्दा म्यासेज पठाउने, अपमान र बेइज्जत गरी दुःख हैरानी दिने लगायतको अमर्यादित कार्य गर्ने व्यक्ति कुनै सरिता पौडेल नभएर सिन्धुपाल्चोकको साबिकको फुल्पिङडाँडा गाविस ८ तथा हालको बलेफी गाउँपालिका ४ स्थायी ठेगाना भएका ३४ वर्षीय अशोक कुमार सुवेदी रहेको खुल्यो ।

त्यसपछि भदौको ९ गते नै आरोपित अशोक कुमार सुवेदीलाई पक्राउ गरी उनको घरमा समेत खानतलासी गर्‍यो र जरुरी पक्राउ पुर्जी दियो । पछि अदालतबाट जरुरी पक्राउ पुर्जी अनुमोदन गरायो । अनि सुवेदीको मोबाइलसमेत फरेन्सिक ल्याबमा पठायो र प्रमाण संकलन सुरु गर्‍यो ।

सुवेदीले स्वीकार गरे अपराध

पक्राउ गरेपछि साइबर ब्युरोले सुवेदीसँग बयान लियो । बयानका क्रममा आरोपित अशोक कुमार सुवेदीले आफ्नो अपराध कबुल गरे । ब्युरोका अनुसन्धान अधिकारीसँगको कुराकानीका क्रममा सुवेदीले पीडितको छोरी होला भन्ने ठानेर आवेग र उत्तेजनामा आएर अश्लील म्यासेज पठाएको बताए । पीडितको फेसबुक प्रोफाइलमा छोरीको समेत फोटो भएकाले छोरी होला भन्ने ठानेर म्यासेज पठाएको उनले बताए । यद्यपि आरोपितले न आमा न छोरी, कसैलाई पनि चिनेका थिएनन् र र्यान्डम म्यासेज पठाएका थिए ।

अपरिचित महिलालाई अश्लील, भद्दा म्यासेज पठाउने, अपमान गरी हैरानी दिने व्यक्ति सरिता पौडेल नभएर सिन्धुपाल्चोकका ३४ वर्षीय अशोक कुमार सुवेदी रहेको खुल्यो

अनुसन्धानका क्रममा आरोपित सुवेदीले आफूले छोरी भन्ने ठानेर अश्लील सन्देश पठाएको स्वीकार गर्दै आमालाई उक्त म्यासेज गएको कुरा थाहा नभएको जिकिर गरेका थिए । उनले आफूले गल्ती गरेको कारण सजाय भोग्न तयार रहेको समेत बताएका थिए ।

सुवेदीले आफ्नो बयानमा भनेका थिए, ‘मैले फेसबुक प्रोफाइल नाम सरिता पौडेल नामको फेक फेसबुक आइडी खोली चलाउँदै जाने क्रममा जाहेरवाला परिवर्तित साइबर ब्युरो १६ (२०८३/०८४) लाई फ्रेन्ड रिक्वेस्ट पठाएको रहेछु । उहाँले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरेपछि मैले उहाँलाई म्यासेज पठाउन सुरु गरेको हुँ । मैले उहाँलाई कस्तो से.. गर्न मन लागिरहेको छ, आई वान्ट टु सी योर …., तिम्रो … हेरौँ न, तिम्रो ….कस्तो छ भन्ने लगायतका अश्लील म्यासेजहरू लेखेको हुँ ।’

महिलाहरूलाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ

सुवेदीले बयानमा अगाडि भनेका छन्, ‘मैले उहाँलाई सुन न, तिम्रो …देखाऊ म दश हजार रुपैयाँ तिम्रो खातामा हालिदिन्छु र काँडा वाला क…. ला’को हेर्नी ?’ भन्ने म्यासेज पठाएको छु । सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नै लि…को फोटो खिचेर लि…को फोटो र भिडियो पठाउने काम गर्नु गल्ती भयो । कानुन अनुसार सहन भोग्न मन्जुर छु ।’

आरोपित व्यक्तिले अपराध गरेको साबिती बयान दिएको र प्राविधिक परीक्षणबाट समेत अपराध गरेको पुष्टि भएपछि उक्त अपराधको सबै कडी जोडेर भदौ १७ गते काठमाडौं जिल्ला अदालतमा सुवेदीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को कसुरमा मुद्दा दायर भयो ।

के छ कानुनी व्यवस्था ?

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ मा कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा अवहेलना फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलाहरूलाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

त्यसै गरी सोही ऐनको दफा ५६ मा अपराध गर्नमा प्रयोग भएको त्यस्ता डिभाइसहरू जफत गर्ने व्यवस्था छ भने दफा ५८क तथा दफा ७६ बमोजिम पीडितलाई क्षतिपूर्ति भराउनु पर्ने व्यवस्था छ । यसअनुसार पीडितलाई दिइएको मानसिक वा भौतिक यातना वा क्षतिअनुसार मनासिब क्षतिपूर्ति समेत भराइदिने व्यवस्था छ ।

मुद्दा दर्ता भएकै भोलिपल्ट कसुर ठहरको फैसला १८ महिना कैद सजाय

काठमाडौं जिल्ला अदालतले यो मुद्दा अति नै छिटो फैसला गरेको छ । भदौ १७ गते मुद्दा दर्ता भई भदौ १८ गते थुनछेक प्रयोजनका लागि सुनुवाइ हुँदा प्रतिवादी चुक्ता भएको, बुझ्नु पर्ने कुरा बाँकी नरहेको आदि कारणबाट सोही दिन फैसला सुनाइएको छ । न्यायाधीश सुदर्शन लामिछानेको इजलासले प्रतिवादी अशोक कुमार सुवेदीले कसुर गरेको ठहर गर्दै भदौ २५ गते सजाय निर्धारणका लागि पेस गर्न आदेश दिएको थियो ।

त्यसपछि भदौ २५ गते सजाय निर्धारणका लागि पेस हुँदा अदालतले सुवेदीलाई १ वर्ष ६ महिना कैद, ३० हजार रुपैयाँ जरिवाना, पीडितलाई २० हजार रुपैयाँ क्षतिपूर्ति र सात सय रुपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने फैसला सुनायो । त्यसपछि सुवेदीलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ ।

अदालतले १ वर्ष ६ महिना कैद, ३० हजार रुपैयाँ जरिवाना, पीडितलाई २० हजार रुपैयाँ क्षतिपूर्ति र सात सय रुपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने फैसला सुनायो

साइबर अपराधको मुद्दामा मुद्दा दर्ता भएको भोलिपल्टै फैसला हुनु सामान्यतः दुर्लभ मानिन्छ । तर यो मुद्दामा भने अभियोगपत्र दर्ता भएको भोलिपल्ट नै कसुर ठहरको फैसला भएको छ भने त्यसको एक सातापछि नै सजाय निर्धारण गरिएको छ । प्रतिवादीले अभियोग स्वीकार गरेकाले र बुझ्नु पर्ने कुरा बाँकी नरहेकाले प्रक्रिया छिटो भएको अदालतको ब्यहोराबाट देखिन्छ ।

सामाजिक सञ्जालको दुरुपयोग

यो घटनाले सामाजिक सञ्जालको दुरुपयोग कसरी महिलाहरू विरुद्धको डिजिटल हिंसामा परिणत हुन्छ भन्ने देखाएको छ । फेसबुक, म्यासेन्जर जस्ता प्लेटफर्महरूमा नक्कली प्रोफाइल बनाएर महिलाहरूलाई यौनजन्य र अश्लील सन्देश वा सामग्री पठाउने र डिजिटल हिंसा गर्ने क्रम नेपालमा बढेको तथ्यांकहरुले देखाएको छ । साइबर ब्युरोमा यस्ता उजुरीहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको ब्युरोका इन्स्पेक्टर राजकुमार खड्गीले दियोपोस्टलाई बताए ।

शीघ्र न्याय र कानुनी कारबाहीले राहत मिलेको छ : डिआइजी अर्याल

साइबर ब्युरोका प्रमुख डिआइजी नवीन्द अर्यालले काठमाडौं जिल्ला अदालतले साइबर अपराधको मुद्दामा शीघ्र फैसला गर्दा दोषीलाई सजाय र पीडितलाई राहत मिलेको बताए । साइबर ब्युरोले लैजाने मुद्दा प्राविधिक र कानुनीरूपमा पुष्टि भएपछि मात्रै लैजाने भएकाले करिब करिब सत प्रतिशत नै मुद्दा सफल वा ठहर हुने गरेको बताए ।

अर्यालले भने, ‘साइबर ब्युरोले लैजाने मुद्दा टेक्निकल्ली प्रुभ्ड भएपछि मात्रै लैजाने भएकाले थप बुझ्नुपर्ने विषय नै हुँदैन । प्रतिवादीको साबिती बयान आएपछि त थप बुझ्नुपर्ने केही नहुने भएकाले यस्ता मुद्दाहरू चाँडै फैसला हुन सक्छन् । तर मुद्दा दर्ता भएकै भोलिपल्ट फैसला भएको सम्भवतः यो पहिलो पटक हो । यसले पीडितलाई न्याय र पीडकलाई सजाय पनि द्रुतगतिमै हुन्छ भन्ने सन्देश दिएको छ ।’

अर्यालले अगाडि भने, ‘जब कसैले नियतवश दुख र हैरानी दिन्छ, अनलाइनमा आतंक सिर्जना गर्छ, त्यसले सजाय पाउँछ भन्ने गतिलो उदाहरण हो यो । मलाई लाग्छ, सजाय पनि यो ठुलो सजाय हो र यस्तो सजायले व्यक्तिले अपराध गर्नु पूर्व वा हैरानी गर्नु पूर्व १० पटक सोच्नेछ ।’

द्रुत गतिमा भएको यो फैसलाले नेपालमा डिजिटल हिंसा र साइबर अपराधविरुद्धको कानुनी लडाइँमा महत्त्वपूर्ण उदाहरण प्रस्तुत गरेको छ । मुद्दा दर्ता भएको भोलिपल्टै फैसला हुनु र प्रतिवादीले अभियोग स्वीकार गर्नुले पीडितलाई छिटो न्याय दिलाउन सकेको छ । अदालतले १ वर्ष ६ महिना कैद, ३० हजार जरिवाना र २० हजार क्षतिपूर्तिको फैसला गर्दै डिजिटल हिंसालाई गम्भीर अपराधका रूपमा लिनुपर्ने सन्देश दिएको छ । अश्लील सन्देश पठाएर हैरानी दिएको मुद्दामा डेढ वर्षको कैद सजाय भएको पनि सम्भवतः यो पहिलो मुद्दा भएको खड्गीले बताए ।

सम्बन्धित खबर

सिफारिस