पाल्हीनन्दन आधारभूत अस्पतालमा बेथितिको चाङ, अख्तियारमा पुग्यो उजुरी

दियोपोस्ट संवाददाता

काठमाडौँ । नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाअन्तर्गत सञ्चालित पाल्हीनन्दन आधारभूत अस्पताल, लोहरौलीमा विभिन्न सामग्री खरिददेखि कर्मचारी व्यवस्थापनसम्म अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

अस्पतालका निमित्त प्रमुख ब्रिजेश यादव, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ता, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बृज किशोर साह, तथा अन्य कर्मचारीको मिलेमतोमा आर्थिक हिनामिना र अनियमितता भएको आरोपसहित अख्तियारमा निवेदन दर्ता भएको हो ।

उजुरीमा अस्पतालको बहिरंग सेवा सञ्चालन गर्ने कर्मचारीले कार्यालय समयमा अस्पतालको पुर्जीमा बिरामी जाँच नगरी निजी पसल तथा क्लिनिकको पुर्जीमा बिरामी जाँच गरी निजी क्लिनिकमा पठाउने गरेको आरोप लगाइएको छ ।

यस विषयमा स्थानीयले गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई पटक-पटक जानकारी गराएका थिए । तर, अस्पताल प्रशासनले बेवास्ता गरेको र कमिसन लिएर त्यस्ता गतिविधिलाई प्रोत्साहन गरेको आरोप लगाइएको छ ।

सफ्टवेयर जडानमा घोटलाः
अस्पतालमा दुईवटा सफ्टवेयर जडान गरिएको र त्यसमध्ये गाउँपालिकाले करिब पाँच लाख रुपैयाँ खर्च गरेर जडान गरेको सफ्टवेयर सञ्चालनमा नआएको दाबीसमेत उजुरीमा गरिएको छ । उक्त सफ्टवेयर खरिद तथा जडानमा स्वास्थ्य शाखा प्रमुख, अस्पतालका निमित्त प्रमुखसहित उमेश कुमार गौड र रामहरक गुप्ताको संलग्नता रहेको आरोप लगाउँदै स्थलगत छानबिनको माग गरिएको छ ।

नेपाल सरकार, प्रदेश सरकार तथा जिल्लाबाट सञ्चालनमा ल्याइएको प्रणाली हुँदाहुँदै केही बिरामीको मात्र प्रणालीमा दर्ता गर्ने र अन्य बिरामीलाई निजी क्लिनिकको पुर्जी तथा कागजमा लेखेर पठाउने गरिएको आरोप पनि निवेदनमा उल्लेख छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८-७९ र २०७९-८० मा ‘वैकल्पिक ऊर्जा’ शीर्षकमा करिब आठ लाख रुपैयाँ बराबरको सोलार प्यानल खरिद गरी अस्पतालमा जडान गरिएको तर अहिले अस्पतालमा उक्त सोलार प्यानल नरहेको दाबी उजुरीकर्ताको छ । अस्पतालका निमित्त प्रमुखले उक्त सामग्री कहाँ लगेको भन्ने विषयमा छानबिन गर्न माग गरिएको छ ।

इन्द्रेणी विकास मञ्चले अस्पतालमा जडान गरेको तीनवटा सोलारसम्बन्धी उपकरणसमेत अस्पतालका निमित्त प्रमुखले हिनामिना गरेको आरोप निवेदनमा छ ।

आर्थिक वर्ष २०७८-७९ र २०७९-८० मा अस्पतालले खरिद गरेका कम्प्युटर, ल्यापटप तथा पुरानो एम्बुलेन्सका नयाँ टायरमा समेत निमित्त प्रमुख र स्वास्थ्य शाखा प्रमुखले अनियमितता गरेको आरोप लगाइएको छ ।

चलानी नम्बरमा किर्ते गरेको आरोपः
उजुरीमा गाउँपालिकाको चलानी किताबमा समेत किर्ते तथा जालसाजी गरिएको आरोप लगाइएको छ । चलानी किताबमा २०१७ देखि २०२२ सम्मका चलानी नम्बर प्रयोग गरी आफ्नो निकट व्यक्तिलाई अस्पतालमा टिकाइराख्न पुरानो मिति कायम गरेर पदस्थापनसम्बन्धी कागजात तयार पारिएको दाबी गरिएको छ ।

मनोसामाजिक परामर्शकर्तालाई अस्पतालमा काम लगाएको आरोपः
गाउँपालिकाका लागि नेपाल सरकारबाट विनियोजित बजेटअन्तर्गत राखिएको मनोसामाजिक परामर्शकर्तालाई पालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा मनोसामाजिक परामर्शसम्बन्धी काममा सहभागी नगराई अस्पतालमा काम लगाइएको आरोपसमेत उजुरीमा उल्लेख छ ।

ति कर्मचारीलाई स्वास्थ्य शाखा प्रमुखले अस्पतालमा खटाउनुको कारणबारे छानबिन गर्न समेत माग गरिएको छ । साथै आर्थिक वर्ष २०८२-८३ र २०८३-८४ मा मनोसामाजिक परामर्शकर्ताले कुन-कुन स्वास्थ्य चौकी तथा वडामा कति सेवा दिए र कति बिरामीलाई परामर्श दिइयो भन्ने तथ्यांकसमेत जाँच गर्न माग गरिएको छ ।

एकै दिन तीन ठाउँमा हाजिर भएर भत्ता लिएको आरोपः
उजुरीमा पालिकाका कर्मचारीलाई दरबन्दीभन्दा बाहिर मनोमानी ढंगले काज तथा सरुवा गर्ने गरेको आरोप पनि लगाइएको छ ।

जिल्ला, पालिका तथा गैरसरकारी संस्थाका कार्यक्रममा एकैपटक सहभागी हुने र एउटै दिन दुई-तीन ठाउँमा हाजिर भएर भत्ता लिने गरेको दाबी निवेदनमा गरिएको छ । आर्थिक वर्ष २०८०-८१ देखि २०८१-८२ सम्म स्वास्थ्य शाखा प्रमुखले दोहोरो भत्ता लिएको आरोप लगाउँदै त्यसको समेत छानबिन गर्न माग गरिएको छ ।

कर्मचारीसँग रकम मागेर सरुवा गर्ने, कामकाजका लागि कर्मचारी बोलाउने तथा सहमति दिने गरेको आरोप पनि स्वास्थ्य शाखा प्रमुखमाथि लगाइएको छ । उजुरीकर्ताले यी सबै विषयमा स्थलगत अनुगमन तथा आवश्यक छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्न अख्तियारसँग माग गरेका छन् ।

सम्बन्धित खबर

सिफारिस