
काठमाडौँ । अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग भइरहेको उपकरण तथा सामग्रीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतका २५ वर्षीय काथराम नितिनलाई बिहीबार चितवनको भरतपुर महानगरपालिका-२ आँपटारीस्थित निर्मला विष्टको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले नेपाल टेलिकम र एनसेल आजियाटाको प्राविधिक समन्वयमा उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार नितिनले अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग गर्ने उपकरण तथा सामग्री सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीमाथि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको छ ।
प्रहरीले नितिन बसेको घरबाट विभिन्न उपकरण तथा सामग्रीसमेत बरामद गरेको छ । बरामद सामग्रीमा २६ थान मोबाइल सेट, २ थान ल्यापटप, ७७ थान एनसेल सिमकार्ड, १८ थान एनटीसी सिमकार्ड, ४ थान सीपीयू, १ थान इन्भर्टर र २ थान ब्याट्री रहेका छन् ।
त्यस्तै २० पोर्टका ६ थान यूएसबी, ३३ थान यूएसबी सेलुलर मोडेम, ३० थान यूएसबी ओटीजीदेखि अडियो केबल, १ थान पाँच पोर्टको नेटवर्क स्वीच र २ थान इन्टरनेट राउटर पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।