भोटेकोशी बाढी अपडेट : १ हजार ४०९ जनाको शव फेला

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो २ बजेसम्म १ हजार ४ सय ९ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १ सय ९९, नुवाकोटमा २ सय २, धादिङमा ७२, चितवनमा ३ सय ६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको छ । त्यस्तै, काठमाडौँमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको छ ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ३७ शव व्यवस्थापन गरिएको छ ।

शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ४४ गरी कुल ३ हजार २ सय ३० वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ । पहिचान हुन नसकेका १ हजार ३ सय ६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ ।

प्रहरीका अनुसार हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य जारी छ । यस्तै, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ३ जना व्यक्तिलाई राखिएको छ ।

सम्बन्धित खबर