आइजीपी दानबहादुर कार्कीकी पत्नीको तस्बिरले भरिएको ‘सहचरी’ मा ‘फरार’ अभियुक्तको ‘स्पोन्सरसिप’ !

दियोपोस्ट संवाददाता

काठमाडौं। सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने प्रमुख मुद्दासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारले गत वैशाख २१ गते एउटा ऐतिहासिक कदम चालेको थियो।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको मन्त्रिपरिषद् बैठकले एनसेलको सेयर खरिद सम्बन्धी छानबिन प्रतिवेदनलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत छानबिन तथा कारबाही गर्ने सिफारिस गरेको थियो। सोही दिन मुख्यसचिवले गृहसचिवलाई उक्त निर्णयको जानकारी गराएका थिए। तत्कालीन सीआईबी प्रमुख डा. मनोजकुमार केसीको सक्रियतामा सोही दिन सीआईबीले राय प्रतिवेदन बुझाउने मात्रै होइन, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग अनुमतिसमेत माग गरेको थियो।

अभियुक्त सर्वेश जोशीलाई पक्राउ अनुमति लिने र पक्राउ गर्ने काम सीआईबीले एकै दिन गर्न सफल भएको थियो। नेपाल सरकारको नाममा आइसकेको स्मार्टसेलको ४ अर्ब १४ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रूपमा लिलाम गरी एनसेल आजियाटालाई सुम्पिएको घटनामा संलग्न रहेको अभियोगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे, लिलाम सेटिङमा संलग्न पालिना श्रेष्ठ, नरेन्द्र उलक लगायतलाई सीआईबीले पक्राउ गरी मुद्दा चलाएको थियो।

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि सीआईबीले एनसेलको बिक्रीमा भएको कर छली तथा राज्यप्रतिको आपराधिक विश्वासघातको गम्भीर कसूरमा एनसेलका सञ्चालकसहित २२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको थियो। गत साउन २७ गते जिल्ला अदालत काठमाडौंमा जिल्ला सरकारी वकिल कार्यालयले पेस गरेको अभियोग पत्रमा एनसेललाई होल्ड गर्ने कम्पनी स्पेेक्ट्रालाइट युकेका मालिक सतिशलाल आचार्य , भावना सिंह श्रेष्ठ, सचिनलाल आचार्य लगायत २२ जना विरुद्ध अभियोग दायर गरिएको छ।

जिल्ला अदालत काठमाडौंले उनीहरूविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको छ। अदालतको सूचीमा फरार सूचीमा रहेका अभियुक्तहरूलाई प्रहरीले जहाँ भेट्यो त्यहाँ पक्राउ गरी अदालत बुझाउनुपर्ने हुन्छ। तर, प्रहरीकै श्रीमतीहरूको संगठन ‘नेपाल प्रहरी श्रीमती संघ’ ले भने प्रहरीको फरार सूचीमा रहेका प्रतिवादीहरूले सञ्चालन गरेको कम्पनी एनसेल आजियाटाबाट मोटो रकम लिएर ‘सहचरी’ नामक म्यागेजिन प्रकाशन गरेको पाइएको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीकी पत्नी नवीना खत्री कार्की अध्यक्ष तथा सम्पादक रहेको ‘सहचारी’ नामक म्यागेजिनमा १४० स्थानमा अध्यक्ष तथा सम्पादक नविना खत्रीकाे तस्विर छापिएको छ। राष्ट्रपति, गृहमन्त्री लगायतको शुभकामना सन्देश छापिएको उक्त ‘सहचारी’ मा प्रधानमन्त्री बालेन्द्र शाहले भने शुभकामना सन्देश दिएका छैनन्। संघको ४२औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित उक्त म्यागेजिनमा आईजी कार्कीले समेत शुभकामना दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानबिनका लागि निर्णय गरेर पठाएको र सरकार स्वयं वादी भएर मुद्दा चलाएको अभियुक्तसँग प्रहरी संगठनको प्रमुखकै पत्नीको संलग्नतामा आर्थिक साँठगाँठ हुनुले पारदर्शितामाथि गम्भीर प्रश्न उब्जाएको छ। त्यसो त, प्रहरीले नै चलाएको उक्त मुद्दामा स्वार्थको द्वन्द्व देखिएको भन्दै कतिपयलाई अभियुक्तसमेत बनाइएको छ।

प्रहरीकै प्रमुख कार्कीसमेतको संलग्नतामा लाखौँ रुपैयाँ लिएर अभियुक्तहरुकै कम्पनीको विज्ञापन गरिनु पनि आफैँमा स्वार्थको द्वन्द्व हो। ‘सरकारले छानबिन गरी प्रतिवादी बनाएको कम्पनीसँग सरकारकै सुरक्षा अंगको एक प्रमुखको परिवारको संलग्नता रहेको संघले आधिकारिक रूपमा आर्थिक लाभ लिएको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दियोपोस्टसँग भने, ‘यदि आर्थिक लाभ लिएको पुष्टि भएमा यो कानुनी कारबाहीको विषयसमेत बन्न सक्छ।’

प्रधानमन्त्री कार्यालयका अधिकारीहरूसमक्ष आईजीपी कार्कीले हस्ताक्षर गरेको छानबिनका लागि अनुमति पत्र र पत्नी खत्रीको तस्बिरसहितको एनसेलको विज्ञापन छापिएको ‘सहचरी’ नामक पुस्तक पुगेको छ।

डिआईजी काफ्ले भन्छन्, ‘मलाई जानकारी छैन, हेर्छु, बुझ्छु’

यस विषयमा प्रतिक्रिया लिन हामीले नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेलाई फोन गरेका थियौँ। उनले एनसेलको विषयमा छानबिन भएको र मुद्दा सम्बन्धी जानकारी सीआईबीबाटै लिनुपर्ने बताए।

 

‘एकातिर प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गर्ने, अर्कातर्फ श्रीमती संघमार्फत मोटो रकम विज्ञापन बापत लिएको देखिँदा यसले स्वार्थको द्वन्द्व देखिँदैन?’ भनी प्रश्न गर्दा डीआईजी काफ्लेले भने, ‘म हेर्छु, मलाई जानकारी छैन। हेरेर बुझ्छु।’

सम्बन्धित खबर

सिफारिस