
काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन् । प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद् प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग राहत, उद्धार र पुनःस्थापनाका विषयमा छलफल गर्न बोलाएको बैठकमा सहभागी भएर सिंहदरबारबाट बाहिरिने क्रममा तामाङ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो । पक्राउपछि उनलाई दरबारमार्ग प्रहरी वृत्तमा बुझाइएको उनले जानकारी दिए ।
तामाङविरुद्ध अरुण अर्यालको जाहेरीका आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीले यसअघि नै अदालतसँग अनुमति मागेको थियो ।
प्रहरी वृत्त दरबारमार्गले गत वैशाख २८ गते काठमाडौँ जिल्ला अदालतमा पत्र पठाउँदै तामाङलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति मागेको थियो । प्रहरीका अनुसार जाहेरी दरखास्त तथा बैंक विवरणबाट उनी घटनामा संलग्न रहेको देखिएको भन्दै पक्राउ अनुमति मागिएको थियो ।
त्यसपछि काठमाडौँ जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा (३०) बमोजिम तामाङलाई पक्राउ गर्न अनुमति दिएको थियो । सोही अनुमतिका आधारमा उनलाई सोमबार सिंहदरबारबाट बाहिरिने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तामाङ किस्पाङ गाउँपालिका-३ का स्थायी बासिन्दा हुन् । काठमाडौँ महानगरपालिका-१६, नयाँबजारमा उनको ओशिन ट्रान्सपोर्ट एन्ड एडभेन्चरसमेत सञ्चालनमा रहेको बताइएको छ ।
प्रहरीका अनुसार तामाङमाथि बैंकिङ कसुरबाहेक ठगीसम्बन्धी आरोपसमेत रहेको छ । यद्यपि ती आरोपबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।