
काठमाडौँ । कुशे औँसी पर्वलाई लक्षित गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागसहितको टोलीले काठमाडौँका विभिन्न मिठाई पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तरमा कमजोरी भेटिएपछि व्यवसायीलाई सुधार गर्न निर्देशन दिइएको छ ।
काठमाडौँ महानगरपालिका-३ चक्रपथस्थितस्थित टिपटप स्वीट्स प्रालि.मा प्रयोग भइरहेको फ्राइङ तेलको टीपीएम भ्यालू २३ रहेको पाइएको छ । खाद्य तेलको टीपीएम भ्यालू अधिकतम २५ सम्म हुनुपर्ने मापदण्ड भए पनि पसलको फ्रिज अव्यवस्थित रहेको विभागले जनाएको छ । टोलीले पसललाई नियमित सरसफाइ गर्न तथा कीट नियन्त्रणको उचित व्यवस्था गर्न निर्देशन दिएको छ ।
यस्तै, काठमाडौँ महानगरपालिका-३३ कमलपोखरीस्थित दूध सागर मिठाई सपमा पनि खाद्य स्वच्छता तथा सरसफाइमा कमजोरी भेटिएको छ । पसलको सरसफाइ अवस्था सामान्य रहे पनि फ्रिज अव्यवस्थित रहेको र पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ फेला परेका थिए ।
पसलको भान्सा र भाँडा माझ्ने स्थान एउटै ठाउँमा रहेको तथा भान्सामा कृत्रिम खाद्य रङसमेत प्रयोग भइरहेको पाइएको विभागले जनाएको छ । त्यहाँ प्रयोग भइरहेको फ्राइङ तेलको टीपीएम भ्यालू भने ३९ रहेको पाइएको थियो ।
मापदण्डभन्दा बढी टीपीएम भ्यालू भएको उक्त तेलमध्ये दुई लिटर नष्ट गरिएको विभागले जनाएको छ । साथै, पसललाई सरसफाइमा सुधार गर्न र कीट नियन्त्रणको उचित व्यवस्था गर्न निर्देशन दिँदै तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ ।
अनुगमनका क्रममा विभिन्न खाद्य पदार्थका नमुना संकलन गरी थप परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी गरिएको विभागले जनाएको छ । अनुगमनबाट देखिएका कैफियतका आधारमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनअनुसार आवश्यक सुधार तथा कारबाही प्रक्रिया अघि बढाइने विभागको भनाइ छ ।