उपत्यकामा बिहीबारदेखि ग्यासको मूल्य घट्यो, २ हजार ६० मै पाइने

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबारदेखि खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै पाइने भएको छ । उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले बिहीबारदेखि पुरानै मूल्यमा ग्यास बिक्री हुन थालेको हो ।

कृष्णभीरमा भदौ १४ गते पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि तराईका प्लान्टबाट साना सवारीसाधनमार्फत ग्यास ल्याउनुपरेको थियो । ढुवानी लागत बढेपछि ग्यास उद्योगीले प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ ३८ पैसा बढाएर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पुर्‍याएका थिए ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले ग्यास आपूर्ति सहज बन्दै गएकाले मूल्य पनि पुरानै कायम हुने बताए । अध्यक्ष चन्दका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुन्छ । अहिले सोही हाराहारीमा ग्यास आयात भइरहे पनि अभावका कारण उपभोक्ताले डिलरमा लामो समयसम्म लाइन बस्नुपरेको थियो ।

ग्यासको अभावका कारण एक महिनासम्म सिलिन्डर नपाएको उपभोक्ताले गुनासो गरेका छन् । शंखमूलका राजेन्द्र श्रेष्ठले ग्यास नपाउँदा खाना पकाउन समस्या भएको बताए । घरमा विद्युतीय चुलो भए पनि ८४ वर्षीया आमाले प्रयोग गर्न नसक्ने भएकाले थप समस्या भएको उनको भनाइ छ । मुख्य राजमार्ग खुलेसँगै अब बुलेटमार्फत ग्यास आउन थालेकाले अभावसमेत हट्ने नेपाल आयल निगमले जनाएको छ ।

निगमका एलपी ग्यास विभाग प्रमुख विनितमणि उपाध्यायका अनुसार कृष्णभीरबाट मंगलबार ६ वटा र बुधबार २५ वटा ग्यास बुलेट काठमाडौँ प्रवेश गरेका छन् । एउटा बुलेटमा करिब १ हजार २५० सिलिन्डर ग्यास आउने गर्छ । उपाध्यायले धादिङमा रहेका अधिकांश ग्यास उद्योगबाट रिफिलिङ गरी बजारमा पठाउन बाटो खुलेपछि आपूर्ति थप सहज हुने बताए ।

यसैबीच, आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव जितेन्द्र बस्नेतले नेपालका लागि थप १६० वटा एलपी ग्यास बुलेट उपलब्ध गराउन भारत सरकार सकारात्मक रहेको जानकारी दिए ।

उनका अनुसार हाल मासिक करिब ५० हजार मेट्रिक टन ग्यास आयात भइरहेकोमा त्यसलाई बढाएर ६० हजार मेट्रिक टनभन्दा बढी पुर्‍याउन कूटनीतिक पहल भइरहेको छ । बस्नेतले घरमा चल्तीको सिलिन्डर र अतिरिक्त सिलिन्डर हुँदाहुँदै पनि उपभोक्ताले लाइन बसेर थप ग्यास भण्डारण गर्न खोज्दा अभाव थप जटिल बनेको बताए ।

प्रतिनिधिसभा सदस्य एवं उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता समितिका सदस्य प्रकाशसिंह कार्कीले ग्यासको समस्या व्यवसायीका कारण नभई बिचौलियाका कारण उत्पन्न भएको दाबी गरे ।

उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले ग्यास अभावसँगै चिनी, चामललगायत खाद्यवस्तुको मूल्यवृद्धि भइरहेको भन्दै बजार अनुगमन र नियमन प्रणाली कमजोर रहेको बताए ।

यसअघि पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण ग्यास आपूर्तिमा समस्या भएपछि सरकारले गत फागुन २८ गतेदेखि करिब साढे चार महिनासम्म आधा तौलको ग्यास सिलिन्डर वितरण गरेको थियो ।

सम्बन्धित खबर

सिफारिस