गीतकारको सिर्जना अनुमति बिना बेचेको आरोपमा हिराबहादुर केसीविरुद्ध अभियोगपत्र दायर

दियोपोस्ट संवाददाता

काठमाडौँ । गीतकार सरोज केसीका गीत तथा गजलको बौद्धिक सम्पत्ति अनधिकृत रूपमा बिक्री-वितरण गरी आम्दानी र रोयल्टी लुकाएको आरोपमा सगरमाथा डिजिटल प्रालिका सञ्चालक हिराबहादुर केसीविरुद्ध अभियोगपत्र दायर भएको छ ।

जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौँले केसीविरुद्ध प्रतिलिपि अधिकारसम्बन्धी कसूरसँगै ठगी तथा आपराधिक विश्वासघातको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।

जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता गोविन्दप्रसाद हुमागाईंले गत भदौ २९ गते दायर गरेको अभियोगपत्रमा केसीले गीतकार सरोज केसीका सिर्जनाहरू उनको अनुमति बिना बिक्री तथा वितरण गरी त्यसबाट प्राप्त आम्दानी र रोयल्टीको वास्तविक विवरण नदेखाएको उल्लेख छ ।

केसीले भने आफूले सरोज केसीसहितका व्यक्तिहरूबाट केही गीत खरिद गरेको र त्यसबापत रकमसमेत भुक्तानी गरेको बयान दिएका छन् । उनले ‘तिम्रो दिलमा चोट लाग्दा’ लगायत आठवटा गीत खरिद गरेको र उक्त गीतका लागि सरोजलाई २०६९ सालतिर २५ हजार रुपैयाँ भुक्तानी गरेको बताएका छन् ।

उनले गीत खरिद गरेपछि सीडी, अडियो तथा डिजिटल माध्यमबाट प्रसारण गरेको र त्यसबाट कम्पनीले आम्दानी गरेको स्वीकार गरे पनि सरोजलाई ठगी वा आपराधिक विश्वासघात गरी रकम हिनामिना नगरेको बताएका छन् ।

तर अनुसन्धानका क्रममा म्युजिक नेपालबाट प्राप्त पत्र तथा वित्तीय विवरणले सरोज केसीका सिर्जनाहरू सगरमाथा डिजिटलले म्युजिक नेपाललाई उपलब्ध गराएको र त्यसबापत प्राप्त हुने आम्दानी तथा रोयल्टी उपलब्ध गराउने जिम्मेवारी सगरमाथा डिजिटलकै रहेको देखिएको अभियोगपत्रमा उल्लेख छ ।

उक्त वित्तीय विवरणअनुसार सरोज केसीले आफ्ना सिर्जनाहरू प्रसारण भएबापत रु. १६ लाख ५५ हजार ५० रुपैयाँ ६२ पैसा रोयल्टी पाउनुपर्ने देखिएको अभियोगपत्रमा उल्लेख छ ।

अभियोजन पक्षका अनुसार सिर्जनाहरू विभिन्न माध्यमबाट बिक्री तथा वितरण गरी आम्दानी लिए पनि सरोजलाई रोयल्टी भुक्तानी नगरेको कागजातबाट खुलेको छ ।

अनुसन्धानका क्रममा बयान दिएका संगीतकार सन्तोष श्रेष्ठले ‘तिम्रो दिलमा चोट लाग्दा’ गीतको सिर्जना तथा लगानी गीतकार सरोज केसी र आफ्नो रहेको बताएका छन् । उनले सरोजको अधिकार सगरमाथा डिजिटललाई हस्तान्तरण हुने गरी आफूले कुनै सम्झौता नगरेको बताएका छन् ।

श्रेष्ठका अनुसार २०६९ साल साउन ७ गते सम्झौता हुँदा आफू पनि उपस्थित थिए । सम्झौताअघि उक्त गीतबाट आम्दानी भए–नभएकोबारे सरोजले सोध्दा हिराबहादुरले आम्दानी नभएको बताएका थिए । तर पछि म्युजिक नेपालबाट प्राप्त कागजात हेर्दा गीतबाट आम्दानी भएको जानकारी खुलेको उनको बयान छ ।

त्यस्तै संगीतकार लोकराज अधिकारी, भद्रबहादुर वलीलगायतले पनि सरोजका सिर्जनाहरू अनुमति बिना बिक्री तथा वितरण गरी आर्थिक लाभ लिएको र करिब ३५ लाख रुपैयाँ बराबरको क्षति पुगेको दाबी गरेका छन् ।

अभियोगपत्रमा प्रतिवादी हिराबहादुर केसीले सरोजका निजी बौद्धिक सिर्जना गीत तथा गजलहरू अनुमति नलिई बिक्री तथा वितरण गरेको देखिएको भन्दै प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५(१)(क) बमोजिमको कसूर पुष्टि भएको दाबी गरिएको छ ।

त्यसैगरी, सिर्जनाबाट प्राप्त आम्दानीको वास्तविक विवरण नदेखाई लुकाएर आर्थिक लाभ लिएको भन्दै मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ र २५२ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातको कसूरसमेत पुष्टि भएको अभियोजनको निष्कर्ष छ ।

सरकारी वकील कार्यालयले एउटै वारदातमा प्रतिलिपि अधिकार उल्लंघन, ठगी र आपराधिक विश्वासघात भएको भन्दै यसलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ बमोजिम एकीकृत कसूर मानेर थप सजायको मागदाबी गरेको छ ।

अभियोगपत्रमा प्रतिलिपि अधिकारसम्बन्धी कसूरमा १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था उल्लेख गरिएको छ । त्यस्तै ठगीतर्फ सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना तथा आपराधिक विश्वासघाततर्फ कसूरको प्रकृतिअनुसार कैद र जरिवानाको मागदाबी गरिएको छ ।

अभियोजन पक्षले प्रतिवादीबाट सरोज केसीका सिर्जनाबाट आर्जित सम्पूर्ण आम्दानी, रोयल्टी तथा आर्थिक लाभसमेत हिसाब गरी रु. ३५ लाख बिगो कायम गर्न माग गरेको छ । सो रकम तथा कानुनबमोजिमको क्षतिपूर्ति पीडितलाई भराउनसमेत मागदाबी गरिएको छ ।

 

 

सम्बन्धित खबर