
काठमाडौँ । देशका अधिकांश भू-भागमा भारी वर्षा, बाढी र पहिरोको उच्च जोखिम रहेकाले सरकारले पूर्वसूचना प्रणालीलाई चुस्त बनाएको छ।
आगामी शुक्रबारदेखि आइतबार (असोज ८, ९ र १० गते) सम्म देशका अधिकांश भू-भागमा भारी वर्षा, बाढी र पहिरोको उच्च जोखिम रहेकाले सरकारले पूर्वतयारी तीव्र पारेको हो ।
सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरण गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई हरेक घण्टा पूर्वसूचना (अपडेट) दिने व्यवस्था मिलाएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग समन्वय गरी नदीको जल सतह र वर्षाको स्थिति ‘रियल टाइम’ मा अनुगमन गरिनेछ । बाढी र खतराको अवस्थाबारे नागरिकको मोबाइलमा सोझै एसएमएस अलर्ट पठाइने भएकाले त्यसलाई गम्भीरताका साथ लिन प्राधिकरणले अनुरोध गरेको छ।
उच्च हिमाली क्षेत्रमा ‘रेड अलर्ट’, पर्यटकलाई फर्कन आग्रह
समुद्री आँधी (साइक्लोन) को प्रणाली र मौसममा आउने द्रुत परिवर्तनलाई ध्यानमा राख्दै उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनाका कारण ‘रेड अलर्ट’ जारी गरिएको छ। मध्यपहाडी तथा तल्लो तटीय क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षाको प्रक्षेपण छ।
जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित स्थानमा झर्न आग्रह गरिएको छ भने ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न र उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।
राजमार्ग बन्द हुनसक्ने, अत्यावश्यक कामबाहेक यात्रा नगर्न सुझाव
विपद्को जोखिम बढेमा मुख्य राजमार्ग तथा सडकहरूमा सवारी आवागमन पूर्ण रूपमा रोकिन सक्नेछ। शुक्रबार र शनिवार अतिआवश्यक काम नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न प्राधिकरणले आग्रह गरेको छ। पहिरो खसेमा तत्काल सडक खुलाउन मुख्य राजमार्गहरूमा डोजरहरू ‘स्ट्यान्डबाई’ राखिएका छन्।
साथै, पाकेको धानबाली र भण्डारण गरिएको अनाज भिजेर नष्ट हुनबाट जोगाउन किसानहरूलाई विशेष सतर्कता अपनाउन कृषि मन्त्रालयमार्फत एडभाइजरी जारी गरिएको छ।
बाढीमा टिकटक बनाउन र दाउरा संकलन गर्न रोक
बाढी आएका बेला भिडियो वा टिकटक बनाउन, फोटो खिच्न र खोलामा बगेर आएका दाउरा वा सामग्री सङ्कलन गर्न जाँदा ज्यानको जोखिम हुने भन्दै प्राधिकरणले त्यस्ता गतिविधि नगर्न कडा चेतावनी दिएको छ।
हाल सुरक्षा निकायहरूलाई ‘हाई अलर्ट’ मा राखिएको छ भने देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा रहेको कमाण्ड पोस्टमार्फत अवस्थाको निरन्तर निगरानी भइरहेको छ।