कुमार बेनको नाम बेचेर २ करोड बढी असुली, कांग्रेस नेता चौलागाईं र पत्रकार शिवाकोटी सीआईबी हिरासतमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । इजरायलमा केयर गिभरको रोजगारी दिलाइदिने भन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम र पदको दुरुपयोग गरेर करोडौँ रुपैयाँ असुल गरेको आरोपमा नेपाली कांग्रेसका नेता भरत चौलागाईं र पत्रकार बालिका शिवाकोटी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा पुगेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले इजरायल पठाइदिने भन्दै १५६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ उठाएको खुलेको छ ।

रामेछापको सुनापति गाउँपालिका-१ घर भएका चौलागाईंलाई असोज १ गते मन्थलीबाट पक्राउ गरिएको हो । दोलखाको कालिञ्चोक गाउँपालिका-८ घर भएकी ३२ वर्षीया शिवाकोटी पनि सोही प्रकरणमा पक्राउ परेकी छन् ।

प्रकरणको केन्द्रमा भने इजरायलको रोजगारीका लागि भएको सरकारी छनोट प्रक्रिया र त्यसमा छुटेका व्यक्तिहरू देखिएका छन् । नेपाल सरकारले सन् २०२४ मा इजरायलमा केयर गिभरका रूपमा कामदार पठाउन परीक्षा सञ्चालन गरेको थियो । त्यसबाट लक्की ड्रमार्फत २ हजार ९९ जना छनोट भएका थिए ।

तर छनोटमा नपरेका १५६ जनालाई चौलागाईं र शिवाकोटीले ‘सरकारी प्रक्रियाबाटै इजरायल पठाइदिने’ भन्दै रकम उठाएको प्रहरीको आरोप छ । उनीहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनमार्फत मन्त्रिपरिषद्बाट निर्णय गराएर छुटेका उम्मेदवारलाई समेत इजरायल पठाउन सकिने भन्दै पीडितलाई विश्वासमा पारेको अनुसन्धानमा खुलेको छ ।

त्यसका लागि पीडितहरूबाट इजरायलमा गएर कमाउने एक महिनाको तलब बराबरको रकम लिने सहमति गरिएको बताइएको छ । रकम भने शिवाकोटीमार्फत उठाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

अनुसन्धानका क्रममा शिवाकोटीले आफूले उठाएको रकममध्ये डेढ करोड रुपैयाँ चौलागाईंलाई बुझाएको बयान दिएको प्रहरीले जनाएको छ । उनको बयानअनुसार उक्त रकम गौशालामा चौलागाईंलाई भेटेर नगदमै बुझाइएको थियो । तर चौलागाईंले भने आफूले उक्त रकम इजरायल पठाउनका लागि नलिएको बताएका छन् ।

आफु जग्गाको कारोबार गर्ने भएकाले शिवाकोटीसँग केही रकम ऋणका रूपमा लिएको उनले बयानमा बताएका छन् । प्रहरीका अनुसार भदौ १८ गते रकम बुझेपछि चौलागाईं कांग्रेसको १५औँ महाधिवेशनको तयारीका लागि रामेछाप पुगेका थिए । उनी रामेछाप कांग्रेसको जिल्ला सभापतिका दाबेदारसमेत हुन् । तर लामो समयसम्म काम अघि नबढेपछि इजरायल जाने आशामा पैसा बुझाएका व्यक्तिहरू आक्रोशित बनेका थिए ।

मन्त्रिपरिषद्बाट समेत त्यस्तो निर्णय नभएको थाहा पाएपछि उनीहरूले शिवाकोटीलाई नियन्त्रणमा लिएर काठमाडौँ नजिकैको एक रिसोर्टमा लगेर राखेको अनुसन्धानमा संलग्न अधिकारीको भनाइ छ । त्यसपछि शिवाकोटीले चौलागाईंलाई फोन गरेर काम छिटो टुंग्याउन आग्रह गरेकी थिइन् ।

त्यसक्रममा चौलागाईंले आफूले कुमार बेनसँग कुरा गरिसकेको र काम चाँडै हुने आश्वासन दिएको अडियोसमेत पीडितहरूले सीआईबीलाई बुझाएका छन् । प्रहरीका अनुसार आरोपीहरूले ‘कुमार बेनलाई मिलाइसकेको’ भन्दै पीडितलाई आश्वस्त पारेका थिए । यही दाबीका आधारमा १५६ जना रकम दिन तयार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सीआईबीका सूचना अधिकारी एसएसपी अनुपमशमशेर जबराका अनुसार चौलागाईं र शिवाकोटीमाथि दोस्रोपटक काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

प्रहरीले रकमको वास्तविक प्रवाह, चौलागाईं र शिवाकोटीबीचको आर्थिक सम्बन्ध तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम कसरी र किन प्रयोग भयो भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस