
कैलाली । विद्यालयलाई बालबालिकाले समानता, सहअस्तित्व र मानवताको पाठ सिक्ने ठाउँ मानिन्छ । तर कैलालीको गौरीगङ्गा नगरपालिका-६ स्थित भैरव प्राथमिक विद्यालयमा भने शिक्षक-शिक्षिकाबाटै दलित विद्यार्थी र कर्मचारीमाथि जातीय विभेद हुने गरेको पाइएको छ ।
विद्यालयकै शिक्षक-शिक्षिकाबाट विद्यालयमा अध्ययनरत दलित विद्यार्थी, दलित सुमदायकी कार्यालय सहयोगीमाथि लामो समयदेखि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जातीय विभेद हुँदै आएको बताइएको छ ।
दलित समुदायकी कार्यालय सहयोगी लक्ष्मीदेवी दमाइले भरेर ल्याएको पानी गैर दलित शिक्षक-शिक्षिकाले नपिउने गरेको एक विद्यार्थीले सुनाए । पानी भर्ने जिम्मेवारी कार्यालय सहयोगीकै भए पनि उनलाई त्यसका लागि नपठाई कक्षामा पढिरहेका गैरदलित विद्यार्थीलाई पानी भर्न पठाउने गरिएको उनको भनाइ छ ।
ति विद्यार्थीका अनुसार शिक्षकहरूले कक्षाबाट गैरदलित विद्यार्थी छानेर पानी भर्न पठाउने गर्छन् । दलित विद्यार्थीले छोएको पानीको बोतल घोप्ट्याउने गरेको उनले बताए ।
‘म्यामहरूले कक्षामा पढाउँदै गर्दा उच्च जातका विद्यार्थीलाई छानेर पानी भर्न पठाउनुहुन्छ,’ ती विद्यार्थीले भने, ‘हामीलाई भने कहिल्यै पानी भर्न पठाउनुहुन्न । कहिलेकाहीँ हामीबाट पानीको बोतल छोइएमा त्यो बोतलको पानीसमेत घोप्ट्याउनुहुन्छ ।’
दलित कर्मचारीले पकाएको खाजा शिक्षकले खाँदैनन्:
विद्यालयमा विद्यार्थीका लागि खाजा पकाउने जिम्मेवारी पनि कार्यालय सहयोगी लक्ष्मीदेवीले सम्हाल्दै आएकी छन् । तर उनले पकाएको खाजा विद्यार्थीले खाने गरे पनि शिक्षक-शिक्षिकाले नखाने गरेको विद्यार्थीहरूको भनाइ छ ।
एक विद्यार्थीले भने, ‘हाम्रो लागि स्कुलमा खाजा पाक्छ । कार्यालय सहयोगी दिदीले खाजा पकाउनुहुन्छ। तर विना म्यामबाहेक अरू कसैले खानुहुन्न । कहिले कसो खाजाको सट्टामा फलफुल ल्याइएको हुन्छ, उहाँहरुले फलफुल चाँही खानु हुन्छ ।’
उनका अनुसार यसअघि विद्यालयमा गैरदलित समुदायका एक व्यक्ति कार्यालय सहयोगी थिए । उनले पकाएको खाजा भने शिक्षक-शिक्षिकाले पटक-पटक थपेर खाने गर्थे । तर २०८० सालमा उनी विद्यालयबाट बाहिरिए । त्यसपछि लक्ष्मीदेवीले खाजा पकाउन थालिन् । उनले पकाएको शिक्षक-शिक्षिकाले खान छाडेको विद्यार्थीको आरोप छ ।
विद्यालय परिसरमा रहेको धाराको पानीसमेत कार्यालय सहयोगीले भरेर ल्याएको अवस्थामा शिक्षक-शिक्षिकाले नपिउने गरेको उनले बताए ।
एक विद्यार्थीका अभिभावकका अनुसार गाउँदेखि सुरु भएको बिभेद विद्यालयसम्म पुगेको छ । ‘हामीलाई गाउँघरमा बिभेद भएकै छ । स्कुलमा समेत हाम्रा बालबच्चा माथि बिभेद भइरहेको छ । हाम्रा बालबच्चाले विद्यालयबाट घर फर्के पछि हामीसँग आफुमाथि भएको बिभेदका बारेमा सुनाउउँछन् । तर, हामी त्यसका बिरुद्ध बोल्न सक्दनौँ’, उनले भने, ‘उहाँहरु पढेलेखेका मान्छे, कानुन जान्नु भएको होला । तर हामी अनपढ मान्छे केही जान्दैनौँ । उहाँहरुले जे भने पनि चुप लागेर बस्ने हो ।’
‘विभेद नगर्नुस्’ भन्दा उल्टै हप्कीः
विद्यालयकी शिक्षिका विना विकले आफ्नै विद्यार्थीमाथि विभेद भइरहेको देखेपछि पटक-पटक त्यसो नगर्न सुझाव दिएको बताइन् । तर आफ्नो आग्रहलाई विद्यालयका अन्य शिक्षक-शिक्षिकाले गम्भीर रूपमा नलिएको उनको गुनासो छ ।
‘विद्यालयमा दलित विद्यार्थीमाथि जातीय विभेद छरपस्ट देखिएको छ । तर उहाँहरूले आफूले गरेको विभेदलाई विभेद मान्नुहुन्न,’ विकले भनिन् । उनका अनुसार एक शिक्षिकाले आफूलाई उल्टै ‘कसले छोएको खाने, कसले छोएको नखाने त्यो हाम्रो मर्जी हो’ भन्दै विभेदको विषय नउठाउन दबाब दिएको बताइन् ।
‘धेरै भयो विभेदको कुरा, हामीले कसैलाई विभेद गरेका छैनौँ, बारम्बार हामीले विभेद गर्यौँ भनेर आरोप नलगाउनुस्, विभेदको कुरा सुनेर टाउको नै दुखिसक्यो भनेर उहाँले उल्टै मलाई हप्काउनुभयो,’ विकले भनिन् ।
विक आफैँ पनि दलित समुदायकी शिक्षक हुन् । उनी दुई वर्षअघि उक्त विद्यालयमा सरुवा भएर आएकी आएकी थिइन् । विद्यालयमा आएदेखि नै यस्तो व्यवहार देख्दै आएको उनको भनाई छ । ‘मैले सबै विद्यार्थीलाई समान व्यवहार गर्दै आएकी छु । सबै विद्यार्थीले छोएको खान्छु, विद्यालयमा पाकेको खाजा खान्छु। तर अरू म्यामहरूले खानुहुन्न,’ उनले भनिन् ।
‘विभेद आँखाले देखिँदैन, विद्यार्थीले महसुस गर्छन्’
शिक्षिका विकका अनुसार विद्यालयमा भइरहेको जातीय विभेदको सबैभन्दा गम्भीर पक्ष यसको प्रत्यक्ष प्रमाण जुटाउन कठिन हुनु हो । तर विद्यार्थीहरूले व्यवहारबाट विभेद महसुस गरिरहेको उनले बताइन् ।
‘विभेद भन्ने कुरा प्रत्यक्ष आँखाले देखिने कुरा रहेनछ । त्यो त महसुस गर्ने कुरा रहेछ,’ उनले भनिन् ।
उनका अनुसार एक दिन एक जना विद्यार्थी आफूकहाँ आएर ‘म्याम, अरू म्यामहरूले हामीले भरेको पानी पिउनुहुन्न, तपाईंहरूले चाहिँ पिउनुहुन्छ किन?’ भनेर प्रश्न गरेका थिए । ‘तिमीहरूले ल्याएको पानी खान मलाई के भो र? तिमी र हामी सबै एउटै त हो नि भनेर मैले भनेँ,’ विकले सम्झिइन् ।
यस्तो व्यवहारका कारण दलित विद्यार्थीमा हीनताबोध बढिरहेको आफूले महसुस गरेको उनको भनाइ छ । विकका अनुसार कतिपय शिक्षक-शिक्षिकाले विद्यालयबाहिर भने दलित समुदायका व्यक्तिले छोएको खाने गरेका छन् । तर विद्यालयभित्र आफ्नै विद्यार्थी र कर्मचारीले छोएको नखाने व्यवहारले आफूलाई झन् प्रश्न उब्जाएको उनले बताइन् ।
शिक्षक-शिक्षिकाले विद्यालयबाहिर भने दलित समुदायका व्यक्तिले छोएको खाने तर विद्यालयभित्र आफ्नै विद्यार्थी र कर्मचारीले छोएको नखाने
उनले विद्यालयमा भइरहेको विभेदको सम्बन्ध स्थानीय सामाजिक संरचनासँग समेत जोडिएको हुनसक्ने दाबी गरिन् । ‘शिक्षिका र ती दलित विद्यार्थीको गाउँ एउटै रहेछ । गाउँमा ती विद्यार्थीका अभिभावकलाई विभेद गर्ने रहेछन् । गाउँघरको विभेद विद्यालयसम्मै पुगेको देखिन्छ,’ उनले भनिन् ।
शिक्षिका विक भन्छिन्, ‘विद्यालयजस्तो पवित्र स्थानमा शिक्षक-शिक्षिकाबाटै यस्तो व्यवहार हुनु विद्यालयको प्रतिष्ठामाथि नै प्रश्न हो ।’ उनका अनुसार आफूले विगतमा भोगेको विभेदभन्दा पनि आफ्नै विद्यालयका बालबालिकामाथि विभेद भएको देख्नु अझ पीडादायी छ ।
‘म पनि दलित समुदायको भएका कारण जातीय विभेदको पीडा महसुस गर्न सक्छु । तर आफ्नै विद्यालयका बालबच्चामाथि चरम जातीय विभेद हुँदा असह्य हुन्छ,’ उनले भनिन् ।
‘हामीलाई बराजु भन्नुपर्छ’ भन्ने मानसिकता छ:
विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत भइसकेका स्थानीय कैलाश आउजीले विद्यालयमा दलित विद्यार्थीमाथि लामो समयदेखि जातीय विभेद भइरहेको बताए ।
‘यो विद्यालयमा दलित समुदायका विद्यार्थीमाथि चरम जातीय विभेद छ । यो समस्या निकै लामो समयदेखिको हो,’ उनले भने, ‘विद्यालयमा दलित समुदायका बालबालिकाको संख्या धेरै छ । तिनै बालबालिकालाई पढाएर उहाँहरूले रोजीरोटी पाउनु भएको छ । तर उहाँहरूले उनै बालबालिकालाई विभेद गर्न छाड्नुभएको छैन ।’
आउजीका अनुसार विद्यालयकी दलित शिक्षिकाले समेत विभेदका विरुद्ध आवाज उठाउँदै आएकी छन् । तर पटक-पटक आवाज उठाउँदा पनि समस्या समाधान नभएको उनको भनाइ छ ।
उनका अनुसार विद्यालयमा विभेदका विषयमा प्रश्न उठाउँदा सम्बन्धित शिक्षक-शिक्षिकाले ‘के प्रमाण छ?’ भन्दै विषयलाई पन्छाउने गरेका छन् । ‘कुनै प्रमाण नहुने गरी प्रत्यक्ष रूपमा विभेद भए पनि दलित बालबालिकामाथि विभेद भइरहेको महसुस गरिरहेको उनले बताए ।
आफुहरुले यसका बिरुद्ध आवाज उठाउँदा शिक्षक शिक्षिकाले प्रमाण खोजेको उनको आरोप छ । ‘उहाँहरू सबै एकजुट भएर विभेद कहाँ गर्यौँ, के प्रमाण छ भन्दै उल्टै प्रश्न गर्नुहुन्छ । हामीले तिमीहरूलाई प्लेटमा खाना दिएकै छौँ भनेर आफ्नो बचाउ गर्नुहुन्छ,’ आउजीले भने ।
विद्यालयमा अध्ययनरत दलित विद्यार्थीहरू स्थानीय भएकाले उनीहरूले आफूभन्दा माथिल्लो जातका व्यक्तिलाई ‘बराजु’ भनेर सम्मान गर्नुपर्ने पुरानो सामाजिक मानसिकता अझै कायम रहेको उनको भनाई छ ।
‘विभेदको विषय उठाउँदा मिलाउन खोजियो’:
आउजीले आफू व्यवस्थापन समितिमा हुँदा पनि विद्यालयमा विभेद महसुस गरेको बताए । उनका अनुसार श्रीपञ्चमीको कार्यक्रममा दलित समुदायका व्यक्तिहरू आउने जानकारी पाएपछि कार्यक्रम पहिले नै सकिएको भन्दै उनीहरूलाई टीका नलगाइएको घटना भएको थियो ।
‘हामी टीका लगाउन जाँदा तपाईँहरू आफैँ जानुस्, आफैँ लगाउनुस् भनेर टीका नै लगाइएन,’ उनले भने । आउजीले यस विषयमा विद्यालयका प्रधानाध्यापकसँग समेत कुरा राखेको तर आफ्नो गुनासोलाई गम्भीर रूपमा नलिइएको बताए ।
विभेदविरुद्ध बोल्नेहरूलाई दबाबको आरोपः
आउजीले विद्यालयमा जातीय विभेदको विरोध गर्ने ब्यक्तिलाई समस्यामा पार्ने गरेको र स्थानीय दलित समुदायका व्यक्तिहरूले समेत विद्यालयका शिक्षक-शिक्षिकासँग विवाद बढ्ने डरका कारण खुलेर बोल्न नसकेको बताए ।
‘तलदेखि माथिसम्म बहाना बनाएर मान्छे मिलाउन खोज्ने, बार्गेनिङ गर्ने र आपसमा मिल्नुपर्छ भन्ने अवस्था छ,’ उनले भने, ‘मैले आवाज उठाइरहेँ, तर मेरो केही चलेन। अन्तिममा नसकेर बसेको हो ।’
‘विद्यालयमा जातीय विभेद कायम राख्नुपर्छ, हामी नै ठुला-बडा हौँ, त्यसकारण यिनीहरूले हामीले भनेको मान्नुपर्छ भन्ने सोच देखिन्छ,’ उनले भने ।
यस विषयमा बुझ्न खोज्दा विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले आफ्नो विद्यालयमा जातीय बिभेद नभएको बताए । त्यसो भए दलित विद्यार्थीले छोएको पानी नपिउने, दलित कर्मचारीले पकाएको खाजा नखाने विषय के हो त? भन्ने प्रश्नमा प्रधानध्यापक उपाध्ययायले आफुलाई यो विषय थाहा नभएको बताए । उनले भने, ‘ यो त संम्वन्धित ब्यक्तिलाई थाहा होला, मलाई थाहा छैन ।’
आफ्नै विद्यालयमा भइरहेको जातीय विभेदको बारेमा आफुलाई थाहा नभएको भन्दै प्रधानाध्यापक उपाध्यायले बिभेद गर्ने शिक्षिकाहरुको बचाउ गरे । उनले भने,‘मेरो बिचारमा त्यस्तो भएको छैन जस्तो लाग्छ । यदी त्यस्तो भएको रहेछ भने म आजै मिटिङ बसालेर कुरा गर्छु ।’
कानुनले जातीय विभेदलाई अपराध मानेको छः
नेपालको संविधानले जातीय आधारमा हुने छुवाछूत तथा भेदभावलाई निषेध गरेको छ । जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसुर र सजाय)ऐन, २०६८ ले समेत जातीय विभेद तथा छुवाछूतलाई दण्डनीय कसुरका रूपमा व्यवस्था गरेको छ ।
विद्यालयजस्तो बालबालिकाले समानता र सहअस्तित्व सिक्ने संस्थाभित्रै जातका आधारमा विद्यार्थी, शिक्षक वा कर्मचारीमाथि विभेद हुने अवस्था सिर्जना हुनु गम्भीर विषय हो ।