
काठमाडौँ । खोटाङको हलेसी महादेव मन्दिरमा दर्शन गर्न पुगेका एक दलित युवकमाथि जातीय विभेद र अपमान गरेको आरोपमा त्यहाँका पुजारी पक्राउ परेका छन् । पीडित युवराज शंकरले दिएको जाहेरीका आधारमा पुजारी गोपाल गिरी बुधबार पक्राउ परेका हुन् ।
पुराजी गिरीले आफुलाई ‘कामी’, ‘डाङ्ग्रा’ लगायतका अपमानजनक शब्द प्रयोग गर्दै मन्दिरबाट निकालिएको र लछारपछार गरिएको पीडितको आरोप छ । पीडित शंकरका अनुसार घटना गत साउन १८ गते बिहान करिब ७ बजे भएको हो । उनी साउनको अवसरमा छोरालाई लिएर हलेसी महादेव मन्दिर दर्शन गर्न पुगेका थिए ।
आफू मन्दिरभित्र प्रवेश गरेको देखेपछि पुजारी गोपाल गिरी आक्रोशित भएको पीडितले बताए । ‘उहाँ हाम्रो गाउँठाउँकै मान्छे भएकाले मलाई चिन्नुहुन्छ। तर मलाई देख्नेबित्तिकै उहाँ बम्किन थाल्नुभयो,’ शंकरले भने, ‘कामी, डाङ्ग्रा भनेर तथानाम गाली गर्नुभयो। तँ तल्लो जात भएर किन मन्दिर पसेको भन्दै लछारपछार गरेर बाहिर निकाल्नुभयो ।’
आफूलाई मन्दिरभित्र प्रवेश गराउने प्रहरीकै अगाडि पुजारीले जातीय रूपमा अपमानजनक व्यवहार गरेको शंकरको दाबी छ । घटनापछि आफूले न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन खोजे पनि प्रहरीले उजुरी दर्ता गर्न नमानेको उनको आरोप छ ।
‘म साधारण काम गरेर खाने मान्छे हुँ । ओखलढुंगाको सुन पसलमा कालिगढको काम गर्छु । खर्च जुटाएर काठमाडौँ आउन पनि समय लाग्यो,’ उनले भने, ‘तर अन्याय सहेर बस्न सकिनँ ।’
प्रहरीमा उजुरी दर्ता नभएपछि आफू काठमाडौँ आएर राष्ट्रिय दलित आयोगमा उजुरी दिएको शंकरले बताए । त्यसपछि उनले गुठीसम्बन्धी निकायमा समेत उजुरी दिएको बताए ।
उनकै उजुरीका आधारमा पुजारी गिरी पक्राउ परेको जानकारी पाएपछि आफूलाई केही राहत महसुस भएको शंकरको भनाइ छ । ‘उहाँ पक्राउ पर्नुभएको सुनेपछि आज निकै खुसी लागेको छ । मैले न्याय पाउने आशा जागेको छ,’ उनले भने ।
तर पक्राउपछि पनि आफूले न्याय पाउनेमा भने उनी ढुक्क छैनन् । ‘कतै एक–दुई दिन राखेर बयान लिने, अनि बिरामी हुनुहुन्छ, प्रमाण पुगेन भनेर छाड्ने त होइनन्?’ शंकरले शंका ब्यक्त गरे, ‘उहाँलाई कानुनअनुसार कडाभन्दा कडा कारबाही र सजाय हुनुपर्छ। मेरो माग यही हो ।’
सामाजिक तथा धार्मिक स्थलमा जातकै आधारमा कसैलाई प्रवेशमा रोक लगाउने, अपमान गर्ने वा दुर्व्यवहार गर्ने कार्यमाथि कानुनी कारबाहीको व्यवस्था भए पनि व्यवहारमा पीडितले उजुरीसमेत दर्ता गराउन कठिनाइ भोग्नुपरेको शंकरको अनुभवले प्रश्न उठाएको छ ।
घटनाबारे पुजारी गिरीको पक्ष, प्रहरीको प्रतिक्रिया र पक्राउपछि अघि बढेको कानुनी प्रक्रियाबारे थप विवरण आउन बाँकी छ ।