
ओखलढुंगा । सुनकोशी गाउँपालिकामा कार्यरत कर्मचारी अशोक किरण लुइँटेल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेको तथ्य सार्वजनिक भएको छ । सरकारी सेवामा रहेका कर्मचारी राजनीतिक दलको सक्रिय सदस्य बन्न नपाउने कानुनी व्यवस्थाको धज्जी उडाउँदै उनी नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेका हुन् ।
सुनकोशी–१ बलखु स्थायी घर भएका लुइँटेलको नाम नेपाली कांग्रेसको अधिवेशनसम्बन्धी सूचीमा देखिएको छ । उक्त सूचीमा लुइँटेलको कृयाशिल नम्बर ०५५२१४ रहेको छ भने मतदाता क्रम संख्या १४ रहेको छ । यसले उनी कांग्रेसको आन्तरिक निर्वाचन तथा संगठनात्मक प्रक्रियामा सहभागी भएको देखाउँछ ।
उनी सुनकोशी गाउँपालिकाको पशु सेवा विभागमा कार्यरत कर्मचारी हुन् । लुइँटेल नेपाली कांग्रेसबाट ओखलढुंगा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवार बनेका कुमार लुइँटेलका काकाका छोरा हुन् । कुमार लुइँटेल २०८२ को प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगा–१ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका थिए ।
निजामती सेवा ऐन, २०४९ को दफा ४४ ले स्पष्ट रूपमा ‘निजामती कर्मचारीले राजनीतिमा भाग लिनु हुँदैन’ भनेको छ । त्यस्तै, ऐनको दफा ४९ ले निजामती कर्मचारीलाई राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन, कसैका लागि मत माग्न वा प्रभाव पार्नसमेत रोक लगाएको छ ।
निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५ ले पनि कर्मचारीलाई राजनीतिक तटस्थता कायम गर्नुपर्ने व्यवस्था गरेको छ । नियमावलीअनुसार कर्मचारीले कुनै राजनीतिक दल, भ्रातृ संगठन वा दलका नेताको समर्थन वा विरोधमा विचार व्यक्त गर्ने वा अरूलाई प्रभावित पार्ने गतिविधि गर्न नपाइने उल्लेख छ ।
कर्मचारी कि राजनीतिक कार्यकर्ता ?
स्थानीय सरकार नागरिकलाई प्रत्यक्ष सेवा दिने निकाय हो । यस्तो निकायमा कार्यरत कर्मचारी आफै राजनीतिक दलको सांगठनिक भूमिकामा सक्रिय हुनुले कर्मचारीको भुमिकामा समेत प्रश्न उठेको छ ।