
काठमाडौँ । नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधिमा संलग्न पर्यटक तथा व्यवसायीलाई उच्च सतर्कता र सावधानी अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका अधिकांश भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि बोर्डले यस्तो आग्रह गरेको हो।
विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक परे पर्यटकीय गतिविधि स्थगित गर्नसमेत बोर्डले आग्रह गरेको छ।
हाल पर्यटकीय मौसम भएकाले विभिन्न क्षेत्रमा हिमाल आरोहण, पदयात्रा, मेला तथा महोत्सव सञ्चालन भइरहेका छन् । प्रतिकूल मौसमका कारण बाढी, पहिरो, चट्याङ, हावाहुरी तथा उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम हुनसक्ने भन्दै बोर्डले सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेको हो।
नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई ध्यानमा राख्दै पर्यटकीय गतिविधि सञ्चालन गर्दा उच्च सतर्कता र आवश्यक सावधानी अपनाउन आग्रह गरे।
जल तथा मौसम विज्ञान विभागका अनुसार असोज ७ गते बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ। असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
त्यस्तै कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा कर्णाली प्रदेशका थोरै स्थानमा पनि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन आग्रह गरेको छ। साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित पर्यटन व्यवसायीसँग समन्वय गरी यात्राको तालिका तय गर्न पदयात्री तथा पर्वतारोहीलाई अनुरोध गरेको छ।