नेपाललाई कराँतेमा पहिलो पदक, तेन्जिङ शेर्पाले जिते कास्य

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपालले एसियाली खेलकुदमा कराँतेतर्फ पहिलो कास्य पदक जितेको छ । जापानको इची-नागोयामा जारी २०औँ एसियन खेलअन्तर्गत कराँतेको कुमिते ८४ केजीमाथिको तौल समूहमा तेन्जिङ शेर्पाले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएका हुन्।

तेन्जिङ सेमिफाइनलमा इरानका नेमातीसँग ५-० अंकले पराजित भएका थिए। सेमिफाइनलमा पराजित भएपछि उनले कास्य पदकका लागि लाओसका खेलाडी वाथानासँग प्रतिस्पर्धा गरेका थिए।

कास्य पदकका लागि भएको खेलमा तेन्जिङले वाथानालाई ९-१ अंकले पराजित गर्दै नेपालका लागि कराँतेमा पहिलो पदक जित्न सफल भए ।

यसअघि नेपालले कराँतेबाट पदकको अपेक्षा गरेको भए पनि तीन खेलाडी प्रतियोगिताबाट बाहिरिएका थिए ।

यता, बक्सिङको ६० केजी तौल समूहमा नेपालका खगेन्द्र रोकामगर अन्तिम १६ चरणमा प्रवेश गरेका छन् । उनले प्रारम्भिक चरणको खेलमा मकाउका एल्भिन जोन रेयेस सालिनासलाई ५-० अंकले पराजित गरेका थिए। खगेन्द्रको अर्को खेल शुक्रबार हुनेछ।