
काठमाडौँ । यही असोज ८ देखि १२ गतेसम्म नेपालमा भारी वर्षा र आँधीको प्रभाव पर्न सक्ने मौसमविद्हरूले पूर्वानुमान गरेका छन्।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा.विनोद पोखरेलका अनुसार असोज ८ देखि १२ गतेसम्म देशभर उल्लेखनीय वर्षा हुने सम्भावना रहेको छ । विभिन्न मौसम पूर्वानुमान मोडलहरूले पूर्वदेखि पश्चिमसम्मका अधिकांश भू-भागमा भारी वर्षा हुनसक्ने देखाएका छन्।
बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली नेपालतर्फ सर्ने अनुमान गरिएको छ । त्यसको प्रभावले असोज ८, ९ र १० गते बढी जोखिमपूर्ण अवस्था सिर्जना हुनसक्ने मौसमविद्हरूले बताएका छन् । उक्त प्रणाली चक्रवाती आँधी ‘अर्नब’ मा परिणत भएर नेपालमा समेत असर पार्न सक्ने पूर्वानुमान गरिएको छ।
केही मौसम मोडलहरूले चारदेखि पाँच दिनको अवधिमा ४०० मिलिमिटरभन्दा बढी तथा कतिपय प्रक्षेपणमा ५०० मिलिमिटरसम्म कुल वर्षा हुनसक्ने देखाएका छन्। केही व्यक्तिगत प्रक्षेपणमा धनगढी आसपास ६७१ मिलिमिटर र धनकुटा आसपास ६०४ मिलिमिटरसम्म वर्षा हुनसक्ने संकेत गरिएको छ।

यद्यपि, यी सबै मोडलमा आधारित प्रक्षेपण मात्र भएकाले सम्बन्धित स्थानमा त्यही मात्रामा नै वर्षा हुन्छ भनेर निश्चित मान्न नहुने मौसमविद् पोखरेलले बताएका छन्। मौसम प्रणालीमा आउने सामान्य परिवर्तनले समेत वर्षाको स्थान र मात्रा उल्लेख्य रूपमा फरक पार्न सक्ने उनको भनाइ छ।
लगातारको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक पूर्वतयारी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। असोज ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगित गर्नसमेत सुझाव दिइएको छ।
जल तथा मौसम विज्ञान विभागले मौसमसम्बन्धी आधिकारिक बुलेटिन तथा पूर्वानुमान निरन्तर सार्वजनिक गर्ने भएकाले सर्वसाधारणलाई मिति नजिकिँदै जाँदा आधिकारिक सूचनामार्फत अद्यावधिक जानकारी लिन आग्रह गरिएको छ।