
दियोपोष्टकी सम्पादक रीता दिदीले मलाई एउटा भिडियो देखाउनुभो। भिडियोमा नेपाली रङ्गमञ्चका मूर्धन्य व्यक्तित्व सुनिल सर भन्दै थिए- “यो मेरो अन्तिम अभिनय पनि हुन सक्छ, नहुन पनि सक्छ…”
उनका शब्दहरूले मेरो मनमा एउटा बेग्लै उथलपुथल ल्याइदियो। वास्तवमा, नेपाली रङ्गमञ्चको पछिल्लो पुस्ताका प्रत्यक्ष-अप्रत्यक्ष सबैका गुरु, सिद्धहस्त अभिनेता एवं निर्देशक, विशिष्ट रङ्गकर्मी सुनिल पोखरेल मञ्चमा उभिनु नै आफैँमा एउटा ठूलो उत्साह, ऊर्जा र सिङ्गो नेपाली रङ्गमञ्चका लागि गौरवको क्षण हो। त्यसमाथि उनलाई अब मञ्चमा देख्न नपाइने हो कि भन्ने तीव्र भय र उथलपुथलले च्यापेपछि, एउटा अनौठो हुटहुटी र तीव्र वेगका साथ म थिएटरतर्फ हानिएको थिएँ।
कमलपोखरीस्थित रुसी सदन (रसियन कल्चर) को डार्क-बक्स थिएटरमा एउटा सघन शून्यपन मडारिइरहेको थियो। मञ्चमा थिए- थिएटर लिजेण्ड सुनिल सर।
भर्खरै उनले एउटा गहिरो, दार्शनिक संवाद वाचन गरेका थिए र त्यसपछिको अर्को संवाद ‘वाच्नु’अघि त्यो मूक क्षण (पज) मा सिङ्गो प्रेक्षागृह निशब्द जस्तै बनेको थियो। त्यो शून्यपन यति तिखो र भारी थियो कि मभित्रको दर्शक आफैँ चिमोटिएझैँ महसुस गरिरहेको थियो। तर, ठीक त्यही संवेदनशील सङ्गीन मोडमा, एकाएक सुनिल सरको स्वर कडकियो- “मोबाइल बन्द गर्नुहोस! नत्र म नाटक रोक्छु!”
सम्भवतः त्यो नाटकको पूर्वलिखित संवाद थिएन, तर त्यो आक्रोशित गर्जनले हलभरि एउटा अनौठो तरङ्ग भने पक्कै दौडायो। काठमाडौँका तमाम नाटकघरहरूमा ४० भन्दा बढी नाटकहरू हेरिसकेको एउटा रङ्ग-पारखीका नाताले मलाई थाहा छ- नाटक सुरु हुनुअघि नै मोबाइल साइलेन्स वा अफ गर्न जुनसुकै मञ्चमा पनि अनिवार्य नियमका रूपमा सुझाइन्छ। तर, एक दिग्गज कलाकारले मञ्चको साङ्केतिक अनुशासन तोडेरै यसरी झर्कनुपर्ने स्थिति किन आयो?
सुरुमा यसैबारे चर्चा गरौं।
यस घटनालाई एउटा दर्शकको प्राविधिक गल्ती वा अभिनेताको सामान्य झर्कोका रूपमा मात्र हेरियो भने त्यो रङ्गमञ्चको गहिरो दर्शनप्रति नै अन्याय हुन्छ कि भन्ने मलाई लाग्छ। सुनिल सरको त्यो तात्कालिक आक्रोशको पछाडि एउटा गहन ‘नाटकीय कलाचेत’ र कलाप्रतिको अगाध निष्ठा लुकेको महसुस भयो।
सिनेमा र नाटकमा यही मूल फरक छ- सिनेमा पूर्व-रेकर्डेड दृश्य हो, तर नाटक प्रत्यक्षीकरण र जीवन्त ऊर्जाको आदानप्रदान हो। मञ्चमा जब एउटा सिद्धहस्त कलाकार पात्रभित्र प्रवेश गर्छ, ऊ संवाद मात्र बोलिरहेको हुँदैन, बरु एउटा काल्पनिक यथार्थलाई जीवित बनाउन आफ्नो चेतनाको अन्तिम विन्दुसम्म पुगेर ‘ध्यानावस्था’मा हुन्छ। यस्तो सघन स्थितिमा मोबाइलको फ्ल्यास वा चमक प्राविधिक बाधा मात्र होइन, कलाकारको ध्यान र चेतनामाथिको प्रहर बन्न पुग्छ।
सुनिल सरले ‘चौथो पर्दा (फोर्थ वाल)’ तोडेर “मोबाइल बन्द गर्नुहोस्” भन्नु अनुशासनहीनता होइन कि, बरु मञ्चीय साधनाको पवित्रता जोगाउन गरिएको एउटा अनिवार्य ‘कलात्मक प्रतिरोध’को रुपमा लिन सकिएला! अनि साथसाथै, यस घटनाले नेपाली रङ्ग-संस्कृतिमा दर्शकको भूमिकाबारे गम्भीर नैतिक प्रश्न खडा गरेको छ। नाटक हेर्नु भनेको टिकट काटेर कुर्सी ओगट्नु वा मोबाइलको पर्दाबाट दृश्य कैद गर्नु होइन; बरु कलाकारसँगै उही समय, ऊर्जा र चेतनामा बाँच्ने एउटा मौन सम्झौता पनि हो। जब दर्शकले मोबाइलको स्क्रिनमार्फत नाटकलाई ‘उपभोग’ गर्न खोज्छ, उसले मञ्चको जीवन्ततालाई मारेर त्यसलाई निर्जीव वस्तुमा परिणत गरिदिन्छ।
उल्लेखनीय कुरा के भने, नाटक दृश्यप्रधान भन्दा पनि ९० प्रतिशत संवाद र अनुभूतिमा अडिएको, ध्यान र एकाग्रता माग्ने नाटक थियो। मञ्च र दर्शकबीच बनेको त्यो अतीन्द्रिय पुललाई एउटा गैरजिम्मेवार मोबाइलको चमकले भत्काइदिँदा एउटा साँचो कलाकारको भित्री चेतना कसरी आहत हुन्छ भन्ने कुरा त्यो ‘सत्य-संवाद’ले एकाएक छर्लङ्ग पारिदियो। कलालाई ‘सस्तो तमासा’ बन्न नदिने र रङ्गमञ्चलाई डिजिटल प्रदूषणबाट जोगाउने एउटा सिद्धहस्त रङ्गकर्मीको गर्जनका रूपमा यसलाई लिन सकिन्छ।

यति पृष्ठभूमि र अनुभूतिपछि अब नाटकको मूल विषयवस्तुतिर प्रवेश गरौँ।
मञ्चन भइरहेको नाटक थियो- रुसी साहित्यकार आन्तोन चेखभको प्रसिद्ध १८८७ को एकाङ्की ‘द स्वान सङ’को नेपाली रूपान्तरण ‘अन्तिम गीत’। वरिष्ठ लेखक महेश पौड्यालले अत्यन्तै स्वादिलो नेपाली माटो र मर्म भरेर अनुवाद गरेको यो नाटकलाई निर्देशक नवराज बुढाथोकीले परिपक्व ढङ्गमा मञ्चमा उतारेका छन्।
नाटकको केन्द्रमा छन्, वृद्ध अभिनेता वासिली वासिलियेभिच। नाटक सकिएपछि सुनसान र खाली थिएटरमा एक्लै बाँकी रहेका उनले भन्छन्- “आज खुशी भएर पिएछु अनि मातेछु। अनि यतै पो निदाएछु। हुन त कहाँ नै जानु छ र!”
मञ्चमा धिपधिप उज्यालो बलिरहेछ। उनी आफ्नै विगत सम्झिन्छन्- “जीवनको ६८ वसन्त पार गर्दा कयौँ यादहरू त्यसै छचल्किएर आउँदो रहेछ।” ती यादहरूमध्ये एउटा कारुणिक सम्झना ठोक्किन आउँछ, एक समय उनको अभिनयबाट मोहित भएकी एउटी युवतीलाई जब उनले विवाहको प्रस्ताव राखेका थिए, ती युवतीले शर्त राखेकी थिइन्- ‘अभिनय छाड्नुपर्ने!’ रङ्गमञ्चप्रतिको समर्पण र प्रेमका अगाडि उनले प्रेमको त्यो साटो स्वीकार्न सकेनन्।
आफ्नो लामो रङ्गमञ्चीय यात्रालाई फर्केर हेर्दा त्याग, निराशा र क्षणिक विजयहरूबीच जेलिएका ती वृद्ध पात्र एकाएक रित्तो थिएटरमा च्यापेको बुढ्यौलीलाई माथ दिँदै जुर्मुराउँछन्, गर्जिन्छन्, टोलाउछन्, लखरलखर हिडछन्, झोक्राउछन्, आत्तिनछन् अनि फेरी एकबेर चुप लागेर भन्छन्, “यहाँ उमेरले के फरक पार्छ र!”
यस नाटकले थिएटरमा आफूलाई खोज्दै हिँड्ने र अन्ततः आफ्नै भित्री चेतनामा कलाको अमरता भेट्टाउने एउटा सिद्धहस्त कलाकारको आन्तरिक यात्रालाई दर्शाएको छ। नाटक दार्शनिक छ, मनोवैज्ञानिक अंश पनि यसमा पर्याप्त छन् । नाटक अघि बढ्दै जाँदा अन्त्यतिर शब्द र सङ्गीत संयोजनमा गुञ्जने यी पङ्क्तिहरूले मञ्चको कारुणिकतालाई अझ उचाइ दिन्छन्, “मसँग कथा, व्यथा बाँकी छ। ऐ रात म गए पनि त्यो कथा तिमीले सुनाउन बाँकी छ। ऐ रात तँसँग एउटा करार बाँकी छ…”
***
आन्तोन चेखभका कृतिहरू नियाल्दा उनको मुख्य विशेषता नै मानिसका जीवनका ढिलो भइसकेका पश्चात्ताप र यथार्थलाई कुनै कठोर निर्णय बिना, एउटा गहिरो सहानुभूति, हल्का व्यङ्ग्य र कारुणिक उदासीको मिश्रणमा प्रस्तुत गर्नु हो।
लामो समयपछि मञ्चमा फर्किएका सुनिल सरको अभिनय हेरिरहँदा लाग्छ, उनी कुनै लिखित पात्रको अभिनय मात्र गरिरहेका छैनन्, बरु आफ्नै रङ्गमञ्चीय जीवनका अनेकौँ उकाली-ओरालीहरूलाई मञ्चमै पोखिरहेका छन्। ९० प्रतिशत समय मञ्चमा उनकै एकालापीय वर्चस्व रहन्छ, जहाँ उनलाई युवा अभिनेत्रीका रूपमा सब्बु गुरुङले अत्यन्तै सन्तुलित र सशक्त साथ दिएकी छन्। मञ्च निर्माण, प्रकाशको सूक्ष्म संयोजन र पार्श्व ध्वनिले एउटा उदास तर सम्मोहक माहौल सिर्जना गरेको छ।
नाटकबारे ठ्याक्कै भन्नुपर्दा, ‘अन्तिम गीत’ एउटा वृद्ध रङ्गकर्मीको कथा मात्र चाहिँ होइन। यो त तपाईं-हामी सबैले जीवनको एउटा निश्चित उमेर पार गरेपछि अर्थ खोज्न बाध्य हुने जगजगीपूर्ण विगत र एक्लोपनले घेरिएको वर्तमानको सर्वकालिक मानवीय कथा हो। सार्वजनिक प्रशंसा र व्यक्तिगत रित्तोपन बीचको गहिरो दूरीलाई यस नाटकले बडो संवेदनशीलताका साथ उघारेको छ।
काठमाडौँको रुसी सदनमा असोज २ देखि ५ गतेसम्म मञ्चन भएको यो विशिष्ट प्रस्तुति अब उपत्यकाबाहिर पोखरा र विराटनगरका दर्शकहरूसम्म पनि पुग्दैछ, जुन त्यहाँका रङ्गप्रेमीहरूका लागि एउटा विरलै प्राप्त हुने बौद्धिक, दार्शनिक र कलात्मक खुराक हुनेछ।
अन्ततः, यस नाटकले हामी प्रत्येक दर्शकको चेतनामा एउटा गम्भीर प्रश्न छाडेर जान्छ- आखिर जीवन के हो? भीड र तालीको झिलिमिलीबीच बाँचेको एउटा अल्पकालीन भूमिका, या पर्दा खसेपछि आफ्नै भित्री शून्यतासँग गर्नुपर्ने एउटा अनन्त र निष्पट एकाधून संवाद?