
एउटा सानो घर थियो
परिवार पनि सानै
खुसीको बेग्लै संसार
आमा-बाबा, एक छोरा र एक छोरी
उनीहरु दैनिक हाँस्थे, झुम्थे, र रमाउथे ।
छोरी सानी थिई,
आमाको काखकी फूल,
बाबाको आँखाको नानी,
दाजुको मुटुको टुक्रा,
उसको हाँसोले घरमा भित्ता गुञ्जिन्थे
उसका पाइलाले आँगनै पवित्र हुन्थ्यो ।
एक दिन अचानक
हाँसिरहेको घरमा
अँध्यारो बादल छायो
नानीलाई ज्वरो आयो ।
‘के भयो नि नानी?’
आमाले आत्तिँदै सोधिन्,
बाबाले निधार छाम्दै भने
‘केही हुँदैन, अस्पताल जाऔँ,
डाक्टर भगवान हुन्छन्
तर तिनै भगवानले लापरवाही गरे पछि
समयले क्रूर निर्णय गर्यो,
नानीले आमाको काख छोडी,
बाबाको हात छोडी,
दाजुको संसार छोडी,
यो संसार नै छोडी ।
एउटी आमाको काख रित्तियो,
एउटा बाबाको सपना टुट्यो,
दाजुको संसारबाट
उसकी प्यारी बहिनी हराइन् ।
घरमा हाँसो रोकियो,
आँगन सुनसान भयो,
घरका भित्ताहरूले पनि
नानीको आवाज खोज्न थाले ।
आमा
टुटेर पनि टुटिनन्,
आँखामा आँसु भए पनि
हिम्मत हारिनन् ।
त्यो संघर्षबाट खारिएको बाबा
चुप लागेर बस्न सकेनन्,
उनले आफ्नो पीडालाई
आवाज बनाए,
अन्यायको विरुद्ध
बुलन्द आवाज उठाए ।
डाक्टर र अस्पतालविरुद्ध
उनीहरूको संघर्ष सुरु भयो
यो बदला थिएन,
यो न्यायको खोजी थियो,
यो केवल आफ्नी छोरीका लागि थिएन,
भोलि अरू कुनै नानीले
यस्तै नियति भोग्न नपरोस्
भन्ने संकल्प थियो ।
तर शक्तिको छायामा रहेको अस्पतालले भन्यो-
‘वार्ता गर्छौँ,
कुरा मिलाउँछौँ ।’
त्यो वार्ता पनि
आँखा छल्ने चाल रहेछ ,
घाँटी अकमक्क पारेर
आवाज रोक्न खोजियो,
सत्यलाई दबाउन खोजियो,
तर ती आमा-बाबाको
साहस रोकिएन ।
त्यो दिन उनीहरूले
एउटा संकल्प लिए
‘न्याय नपाएसम्म
यो लडाइँ रोकिने छैन।’
समय बित्दै गयो,
तर घाउ निको भएन ।
दाजु स्कुलबाट फर्कँदै थियो,
आँखा बाटोभरि बहिनी खोज्दै थिए ।
घरको ढोकामा पुगेर
उसले चारैतिर हेर्यो,
आमालाई सोध्यो
‘बाबा, आमा,
खै त मेरी बहिनी?’
कसरी भनून् आमा तिम्री बहिनी अब छैन?
कसरी भनून् बाबा
डाक्टर रूपी दानवले
तिम्री बहिनीलाई खाइसक्यो?
आमाको ओठ थरथराए,
बाबाको छाती चिरियो,
तर सत्य लुकाउन सकेनन् ।
दाजुको आँखाबाट
आँसु झर्यो,
आफ्नो थालको भात
आँसुले भिज्यो ।
उसले बहिनीको नाम सम्झियो,
सँगै खेलेका दिन सम्झियो,
सँगै हाँसेका क्षण सम्झियो,
र त्यो थालको भातमा
उसको संसार नै डुब्यो ।
त्यो दृश्य देखेर
आमाको मुटु फेरि चर्कियो,
तर आँसु पुछ्दै
उनले छोराको काँधमा हात राखिन् ।
‘हुन्छ छोरा’ नरोऊ,न्याय हुन्छ ।
एक दिन न्याय हुन्छ ।
आमाको आवाज काँपिरहेको थियो,
तर संकल्प पहाडजस्तै थियो ।
बाबाले पनि भने-‘हामी हार्ने छैनौँ,
सत्यको बाटो छोड्ने छैनौँ ।
हाम्रो नानी फर्केर त आउँदिन,
तर उसको मृत्यु व्यर्थ हुन दिने छैनौँ ।’
आज पनि
त्यो घरमा हाँसो पहिलेझैँ छैन,
आँगनमा नानीको पाइला छैन,
आमाको काख खाली छ,
बाबाको सपना अधुरो छ,
दाजुको आँखाले
हरेक भीडमा बहिनी खोज्छ ।
तर त्यो घरको ढोकामा
एउटा संकल्प उभिएको छ
लडाइँ जारी छ ।
एउटी आमाको आँसु
कमजोरी होइन,
एउटा बाबाको पीडा
हार होइन ।
उनीहरू लडिरहेका छन्
आफ्नी छोरीका लागि,
सत्यका लागि,
न्यायका लागि,
र भोलिका ती हजारौँ नानीका लागि
जसका आमाबाबाले
डाक्टरलाई भगवान् मानेर
आफ्ना सन्तान सुम्पन्छन् ।
कुनै दिन
त्यो दाजुले फेरि
बहिनीलाई खोज्दै सोध्ने छैन
बाबा, आमा, खै त मेरी बहिनी?
किनकि उसले बुझ्नेछ
उसकी बहिनी फर्केर नआए पनि
उसको आवाज बाँचेको छ ।
आमाको आँसुमा,
बाबाको संघर्षमा,
दाजुको भिजेको भातमा,
र न्यायका लागि उठेको
त्यो बुलन्द आवाजमा ।
लडाइँ अझै जारी छ
तर यो लडाइँ
हारको होइन,
न्यायको हो ।
र त्यो साहसी आमाको एउटै विश्वास छ
‘हुन्छ छोरा, न्याय हुन्छ’
एक दिन अवश्य न्याय हुन्छ।’
अजय निरौला