
Signature: O/Bs1MkPAbBf4eoS+1P6SaiSzsjgkvW00BuRDJolAUwFLmYF8h2ED0N0hSgkxBmq/uVS35Vi5K7k3orATXn0Jsf4w0guLPx9SDHbR6yvmnjYeZE69eY5Ub1Hvy0Y7MRurV8sR47DlUQ3miFbk9+URdGyLUfJhC5Z8Uyt0Oux9tJ7qLloOwwQ6gh+c4nEw1eAfkk/sbpV0V1tuDLElIkfb+KKUnHSNqzA8D5SwmX8tn+5HrZDD99tZjfwMvmQcVXVseb3ZGSHq03bss14Biefoxp0w16u9jzpLNCptmFHubL7jUwuBShUHCS1Ndy+g9/pDjgP9OAqFrCWUZY6oxbX8vwMSAb/mrfLRIxCucyxz5Ja05hPOqa527hW+cellzXVcjcI2ph8OZCSCcgQl1TtkgpltTuWXOgzv8oWtNaxG2XFIWpJdD/iQtE4fpQnbpSOfuujRoa4G83kPmjK9aRjUCzx8XPrmysLbKlj56D4jHWvnfqFnJl9sVJmOtvMVGoD1Jh+aVFbfE2+mIKx0GUO6OBeuxQ4pzyPybhXW4Y/z+NpLTUHxAewDtXdCRfsJ330YQMBcry8CQbhCsRTekg+t+/JR56XTNI9BEzuXM3H+jZEpxylB9blf6tEt9cy6EOIWoUii19d8aLq/BxAd4VVuD+2rWAYvKrfCNFfw/WnMzr0BHrFLuoZqJX8rGvKHgT8C7MFo7/tTr/nuDDd7uJXc3/fNWPtgSFoZRlZO6lBo9z+YHd2GPmmaXAVaKDNmPzWIpjj+Ws0CY7s17CX2EddeYxHsVMRM9CaxKEY/03l4GAsk5a9GyU4K250EDHBoVA3e0hGfEiVRtbXeZnSGdv+q0yyPjZ319WVRkRL/5MMvLmOupbLwBT2m4WRwvooytRg7mNFTN+OqSIyO2iHEHVrOIEqb3xjZNkJ0EQdgeJRp2aL7yjK5626xO8T4ck0B7L7jmLPcDEL3aWXwp3bav1pZWUW6b77g924joxgXHBraQ0=
काठमाडौँ । चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । पाटेकरको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गोवाको डोना पाउलास्थित अपार्टमेन्टमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकहरूले करिब ४५ मिनेटसम्म निरन्तर सीपीआर दिए पनि उनलाई बचाउन नसकिएको जनाइएको छ । अस्पतालले बिहान करिब ५ः२० बजे उनलाई मृत घोषणा गरेको थियो ।
पाटेकरका छोरा मल्हार पाटेकरले आफ्ना बुबाको निधन भएको बताएका छन् । घटनाबारे चिकित्सकीय तथा कानुनी प्रक्रिया अघि बढाइएको र पोस्टमार्टम गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्रमा शोक छाएको छ । वरिष्ठ पत्रकार राजदीप सरदेसाईले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै पाटेकर उत्कृष्ट अभिनेता मात्र नभई असल मित्रसमेत रहेको बताएका छन् ।
सरदेसाईका अनुसार निधन हुनुभन्दा एक दिनअघि मात्र पाटेकरसँग उनको कुराकानी भएको थियो । त्यस क्रममा पाटेकरले ‘कालजी घे राजा’ अर्थात् ‘आफ्नो ख्याल राख्नु, राजा’ भनेका थिए । सरदेसाईले पाटेकरलाई पर्दामा मात्र नभई व्यक्तिगत जीवनमा समेत सधैँ सम्झिरहने बताएका छन् ।
केन्द्रीय मन्त्री नितिन गडकरीले पनि पाटेकरको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले पाटेकरको निधन भारतीय चलचित्र क्षेत्रका लागि ठूलो क्षति भएको बताएका छन् ।
गडकरीले पाटेकरसँग आफ्नो निकट तथा मित्रवत् सम्बन्ध रहेको उल्लेख गर्दै उनको दमदार अभिनयले पाँच दशकभन्दा लामो समयसम्म मराठी र हिन्दी चलचित्रका दर्शकको मन जितेको बताएका छन् । उनको विशिष्ट संवाद प्रस्तुति र अभिनय शैलीले चलचित्रका धेरै पात्रलाई अविस्मरणीय बनाएको गडकरीको भनाइ छ ।
नाना पाटेकर अभिनयसँगै सामाजिक सेवामा पनि सक्रिय थिए । ‘नाम फाउन्डेसन’मार्फत महाराष्ट्रका ग्रामीण क्षेत्रमा जल संरक्षण तथा जलग्रहण क्षेत्र व्यवस्थापनका क्षेत्रमा उनले काम गरेका थिए । आत्महत्या गरेका किसानका परिवारलाई सहयोग गर्दै आएका उनले ग्रामीण क्षेत्रका धेरै परिवारलाई राहत र सहारा प्रदान गरेका थिए ।
पाटेकर हिन्दी र मराठी चलचित्रका प्रभावशाली अभिनेताका रूपमा परिचित थिए । ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशीः द म्युजिकल’, ‘अब तक छप्पन’, ‘वेलकम’ र ‘नटसम्राट’ लगायतका चलचित्रमा उनको अभिनयले व्यापक प्रशंसा पाएको थियो । उनी राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित हुनुका साथै सन् २०१३ मा पद्मश्रीबाट समेत सम्मानित भएका थिए ।
पछिल्लो समय पनि उनी चलचित्र र ओटीटीमा सक्रिय थिए । सन् २०२६ मा उनी विशाल भारद्वाज निर्देशित ‘ओ’रोमियो’मा देखिएका थिए । त्यसैगरी अनिल कपुर अभिनीत ‘सुबेदार’मा पनि उनले अभिनय गरेका थिए ।
सन् २०२६ मै पाटेकरले प्रकाश झाको राजनीतिक ड्रामा शृङ्खला ‘संकल्प’मार्फत ओटीटीमा समेत आफ्नो उपस्थिति जनाएका थिए ।
रंगमञ्च, चलचित्र र टेलिभिजन हुँदै लामो अभिनय यात्रामा आफ्नो छुट्टै पहिचान बनाएका पाटेकरको निधनलाई भारतीय चलचित्र क्षेत्रमा ठूलो क्षतिका रूपमा लिइएको छ ।