खोशिएका छन आमाका सपनाहरु
अकल्पनीय बाढी सँगै
आमा रोइ रहिन
बगिरहे खेत खलिहान र भवनहरु
सडक भत्किए
मेहनतले बनाइएका बस्ती बगे
मान्छेका सम्बन्ध टुटे
हजारौ जीवनका चोला उठे
समय क्लान्त देखियो
बीभत्स मृत्यु देखे पछि ।
बगे मन्दिर र पाठशालाहरु
टुक्रियो आस्था
खोसियो नानीहरुको भविष्य
गुरुहरु अवाक बने
जीवन रक्षाको नाममा
ओत लाग्ने ठाँउ कतै न भेटे पछि ।
भग्नाबशेषले थिचिएर
लेदोले पुरिएर
मानव आर्तनाद छटपटाइ रह्यो
बिदारक दृश्य हेरेर
आकाश रोयो
धरती काँप्यो
खुलेन क्षितिज
खसेन गोधुली साँझ
पशु पंक्षी बगिरहे
उद्धारको हात नभेटे पछि ।
गर्जेन मेघ
बर्षेन पानी
तर पनि
भयावह आँधी बोकेर
हिमताल टुक्रदा
नदीले थाम्न सकेन बेग
देखायो रौद्रता
बस्ती र शहर लतार्ने मात्रै हैन
उडायो मानव सभ्यता
बनायो बगररुपि खण्डहर
निर्जन देखियो बस्ती
मानवताको अबशेष बगाए पछि ।
सुरुङ लेदोले पुरिएको छ
सुरुङ भित्रै पुरिएका छन म जस्ता कैयन सहकर्मीहरु
र पुरिएका छन हाम्रा सपना
म उद्धारको पर्खाइमा तड्पि रहेको छु
म बाँच्न सके
पूरा गर्ने थिएँ आमाको सपना
भोक, तिर्खा र निन्द्राले लतार्दा पनि
म संघर्ष गरिरहेकै छु
अद्भूत मृत्यु सँग
म मर्नु हुँदैन
म पनि मरे भने
लेखिने छैन भोटेकोशीको ताण्डबता
सायद, म एक्लो प्रत्यक्षदर्शी हुन सक्छु
अरु सबै मृत्युले खाए पछि ।
– प्रकाशचन्द्र खतिवडा
सुन्दरहरैंचा -६, दुलारी, मोरङ