
काठमाडौँ । अध्यागमन विभागले भिसाको उद्देश्यविपरीत काममा संलग्न भएको भन्दै ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द गरी निष्कासनको प्रक्रिया अघि बढाएको छ।
विभागका अनुसार सिन्धुलीको मरिण गाउँपालिका-४, साहानस्थित जियान फुड प्रालिमा (नेपाल हिट प्रोसेस्ड वफेलो मिट एक्पोर्ट टु चाइना प्रोजेक्ट) मा कार्यरत ती विदेशी नागरिकले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिएका थिए।
उक्त विदेशी नागरिकले भिसाको उदेश्यविरपरीत अर्को कम्पनीमा काम गरेको पाइएपछि भिसा रद्द गरेर निष्काशनको प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।
अध्यागमन नियमावली, २०५१ अनुसार व्यावसायिक भिसा प्राप्त गर्ने विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा लिएको हो, सोही उद्देश्यका लागि मात्र नेपालमा बस्नुपर्ने व्यवस्था छ । यस्तो भिसा रोजगारी, श्रम वा अन्य असम्बन्धित कार्यका लागि प्रयोग गर्न पाइँदैन।
विभागले ती ८८ जनाको व्यावसायिक भिसा रद्द गरी अध्यागमन ऐन, २०४९ बमोजिम जरिवाना तथा निष्कासनको प्रक्रिया अघि बढाइएको जनाएको छ।
विभागले सबै विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र शर्तअनुसार मात्र गतिविधि गर्न आग्रह गरेको छ। साथै, उद्योग, कम्पनी, प्रतिष्ठान तथा रोजगारदातालाई उपयुक्त भिसा र स्वीकृतिबिना विदेशी नागरिकलाई रोजगारीमा संलग्न नगराउन सचेत गराएको छ।
कानुनविपरीतका गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ।