काठमाडौं, ३० असार । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी (बलात्कार) मुद्दामा अदालतबाट दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतले आज (मंगलबार) उनलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गरेको हो।
जिल्ला अदालत काठमाडौंका माननीय जिल्ला न्यायाधीश श्री चन्द्रकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै प्रतिवादी राजेश झाले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिमको कसूर गरेको ठहर गरेको हो।
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ ले ‘जबरजस्ती करणी गर्न नहुने’ व्यवस्था गरेको छ। यसको उपदफा (१) मा कसैले कुनै महिलालाई निजको मन्जुरी बिना जबरजस्ती करणी गरेमा वा उपदफा (२) बमोजिम मन्जुरी लिएरै भए पनि अठार वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेमा त्यो जबरजस्ती करणी मानिने उल्लेख छ।
अदालतले कसूर ठहर गरे पनि सजायको परिमाण भने आज तोकेको छैन। प्रतिवादीलाई हुने सजाय निर्धारणका लागि फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ८ र ९ बमोजिम छुट्टै सुनुवाई गर्नुपर्ने कानूनी प्रावधान रहेको उल्लेख गर्दै अदालतले आगामी मिति २०८३ साल असार ३२ गतेका लागि पेशी तोकेको छ। साथै, अदालतले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं र प्रतिवादी दुवै पक्षलाई उक्त पेशीको जानकारी दिन र सोही ऐनको दफा १२ बमोजिम सजाय पूर्वको प्रतिवेदन पेस गर्न लगाउन समेत आदेश दिएको छ।

आगामी बिहीबार (असार ३२ गते) बस्ने इजलासले उनलाई कति वर्ष कैद र जरिवाना हुने भन्नेबारे सजाय निर्धारण गर्नेछ।