
काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका-१ शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०३-००१ ख २७२८ नम्बरको बसले आज बिहान पैदल हिँडिरहेका अन्दाजी ३०-३५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान सवा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृतकको नामथर र ठेगाना खुल्न सकेको छैन । दुर्घटनापछि प्रहरीले बस चालक धादिङको नीलकण्ठ नगरपालिका-१४ का ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।