फिफाको स्पष्टीकरण: २०२६ विश्वकपमा क्रोएसियाको १०३औँ मिनेटको गोल भिएआरले किन रद्द गर्‍यो?

दियोपोस्ट संवाददाता  

एजेन्सी । टोरन्टोमा पोर्चुगल र क्रोएसियाबिच भएको ऐतिहासिक र रोमाञ्चक खेलमा विश्वकपकै इतिहासको सबैभन्दा ठूलो र विवादास्पद भिएआर  निर्णय देखियो। खेलको १०३औँ मिनेटमा क्रोएसियाको बराबरी गोललाई अमान्य घोषित गरिएपछि मैदानमा तनाव उत्पन्न भयो, र आक्रोशित क्रोएसियाली समर्थकहरूले मैदानभित्र प्लास्टिकका बोतलहरू फालेर विरोध जनाए।

म्यानचेस्टर सिटीका डिफेन्डर जोस्को ग्वार्डिओलले ब्याक पोस्टबाट गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्‍याएको सोचेका थिए, जसले क्रोएसियाली टोली र समर्थकहरूमा खुसीको लहर ल्याएको थियो।

तर, उनीहरूको त्यो खुसी क्षणभरमै निराशामा बदलियो जब नर्वेका रेफ्री एस्पेन एस्कासलाई ‘अफसाइड’ चेक गर्नका लागि पिच-साइड मोनिटर (VAR Screen) मा बोलाइयो।

त्यो गोल नाटकीय रूपमा रद्द गरियो। भिएआरका अनुसार, क्रस आउने क्रममा क्रोएसियाका इगोर माटानोभिचको फ्लिक-अन (हल्का स्पर्श) भएको थियो र त्यसपछि अफसाइड पोजिसनमा रहेका मारियो पासालिचले ग्वार्डिओललाई असिस्ट दिएका थिए। यही कारणले खेल पुनः सुरु हुन केही मिनेट ढिलाइ भएको थियो।

बीबीसी स्पोर्ट्ससँग कुरा गर्दै प्रिमियर लिगका पूर्व असिस्टेन्ट रेफ्री ड्यारेन कानले घटना प्रस्ट पार्दै भने, “जब बल अन्तिम पटक आफ्नै टोलीका खेलाडीले पास गरेका थिए, तब खेलाडी अफसाइड पोजिसनमा थिए। बल डिफेन्डरको शरीरमा ठोकिएर मात्र आएको हो, डिफेन्डरले जानीजानी खेलेका थिएनन्, त्यसैले यो स्पष्ट अफसाइड हो। ‘स्निको’ प्रविधिले शतप्रतिशत प्रमाणित गर्छ कि माटानोभिचको बलमा हल्का स्पर्श भएको थियो।”

क्रिकेटमा बढी प्रयोग हुने ‘स्निको’  अर्थात् वेभफर्म प्रविधि यस पटक फुटबलभित्र जडान गरिएको थियो, जसले बलमा भएको सानोभन्दा सानो स्पर्शको डाटा पनि तुरुन्तै रियल-टाइममा भिएआर  कक्षमा पठाउँछ।

 फिफाको आधिकारिक विज्ञप्ति:

फिफाले सामाजिक सञ्जाल ‘एक्स’मा एउटा बयान जारी गर्दै भन्यो, “फिफा विश्वकपको आधिकारिक म्याच बल ‘एडिडास ट्रिओन्डा’ (Adidas Trionda) भित्र जडान गरिएको ‘कनेक्टेड बल टेक्नोलोजी’को डाटा अनुसार, पोर्चुगलविरुद्धको गोल हुनुअघि क्रोएसियाका इगोर माटानोभिचले बल छोएको प्रमाणित भएको छ। यसै डाटाका आधारमा रेफ्रीले सही निर्णय लिँदै अफसाइड घोषित गरी गोललाई अमान्य गरेका हुन्।

ट्रिओन्डा बलभित्र रहेका आइएमयु सेन्सरहरूले बलमा भएको अति सूक्ष्म स्पर्शलाई पनि पत्ता लगाउन सक्छन्, जसलाई ब्रोडकास्टमा दर्शकहरूका लागि ‘हार्टबिट ग्राफिक्स’का रूपमा देखाइएको थियो। यसले रेफ्रीहरूलाई छिटो र सही निर्णय लिन अभूतपूर्व मद्दत पुर्‍याएको छ।”

क्रोएसियाली टोलीको आक्रोश र असन्तुष्टि

खेलपछि क्रोएसियाका मिडफिल्डर पेटार सुसिचले आक्रोश पोख्दै जवाफ मागे। उनले भने,”रेफ्रीले हाम्रो खेलाडीले बल छोएको आफैँले नदेखेको तर बलभित्र रहेको सेन्सरको निर्णयका आधारमा यस्तो फैसला गरेको बताए। मलाई थाहा छैन यो कस्तो प्रविधि हो! यो बुझाउन निकै गाह्रो छ, तर हामी यसको स्पष्टीकरण चाहन्छौँ किनभने मैले हेर्दा माटानोभिचले बल छोएकै थिएनन्। मेरा लागि त्यो नियमित गोल थियो। उनीहरूले एक सेकेन्डमै यति ठूलो निर्णय लिए, भाग्य आज उनीहरूको साथमा थियो।”

क्रोएसियाका मुख्य प्रशिक्षक ज्लाट्को डालिचले पनि पोस्ट-म्याच प्रेस कन्फरेन्समा भिएआरमाथि कडा प्रहार गरे, “यसले भावनाहरू मार्छ। यसले तपाईं भित्रको हर कुरालाई मार्छ। तपाईं मैदानमा जे अनुभव गरिरहनुभएको हुन्छ, त्यसलाई भत्काएर फेरि शून्यमा पुर्‍याइदिन्छ। यो सबैसँग जुध्न सजिलो छैन। फुटबल निष्पक्ष हुनुपर्छ र निर्णयहरू पनि त्यस्तै हुनुपर्छ, तर हामी भिएआरको मामिलामा धेरै अगाडि बढिसक्यौँ (यसले खेलको मज्जा मार्यो)।”

खेलको सारसंक्षेप र भावुक बिदाइ

खेलको ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि क्रिस्चियानो रोनाल्डोको एउटा गोल पनि अफसाइडका कारण रद्द भएको थियो।

तर, रेनाटो भेइगामाथि कर्नरका बेला भएको फललाई भिएआरले समातेपछि पोर्चुगलले पेनाल्टी पायो। ४१ वर्षीय रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। यो उनको यस विश्वकपको तेस्रो र विश्वकप नकआउट चरणको पहिलो गोल थियो। ८१औँ मिनेटमा रोनाल्डोको स्थानमा रुबेन नेभेस मैदान छिरेका थिए।

अन्ततः, एसी मिलानका नयाँ साइनिङ गोन्सालो रामोसले ९४औँ मिनेटमा निर्णायक गोल गर्दै पोर्चुगललाई २-१ को जित दिलाए र जुलाई ६ मा डलासमा हुने स्पेनविरुद्धको अन्तिम १६ को भिडन्त पक्का गरे।

खेल सकिएको सिट्टी बज्दा मैदानमा आँसुको भेल थियो। म्यानचेस्टर सिटीका मिडफिल्डर माटेओ कोभासिच निकै भावुक बनेका थिए, जसलाई ४० वर्षका भेट्रान कप्तान लुका मोड्रिचले अंगालो हालेर सम्हालिरहेका थिए। मोड्रिचको यो सम्भवतः अन्तिम विश्वकप खेल थियो।

खेलपछि अर्का महानायक क्रिस्चियानो रोनाल्डोले आफ्ना पूर्व रियल मड्रिड सहकर्मी मोड्रिचलाई सान्त्वना दिएको दृश्य फुटबल इतिहासकै सबैभन्दा सुन्दर तस्बिर बन्यो।

आफ्ना स्वर्गीय सहकर्मी डिओगो जोटाको पहिलो पुण्यतिथि हुन लागेको भावुक क्षणमा, रोनाल्डोले जोटाको जर्सी लगाएर पोर्चुगिज समर्थकहरूतर्फ जाँदै जित र श्रद्धाञ्जली दुवै समर्पित गरे।