झरीमा पनि रोकिएन शिवभक्तिको आस्था, साउनको अन्तिम सोमबार पशुपतिनाथमा घुइँचो

दियोपोस्ट संवाददाता

काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार । बिहानैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। भगवान शिवको पूजा, आराधना र व्रतका लागि ठूलो संख्यामा भक्तजन पशुपति पुगेका हुन् ।

काठमाडौँमा बिहानैदेखि झरी परिरहे पनि भक्तजनको आस्थामा भने कमी देखिएको छैन । छाता ओढ्दै तथा झरीमा भिज्दै शिवभक्तहरू पशुपतिनाथ मन्दिर परिसरमा लामबद्ध भएर दर्शनका लागि प्रतीक्षा गरिरहेका छन् ।

देशका विभिन्न शिवालयमा बिहानैदेखि पूजा, अभिषेक, भजन-कीर्तन तथा धार्मिक अनुष्ठान भइरहेका छन् । काठमाडौँको पशुपतिनाथसँगै भक्तपुरको डोलेश्वर महादेव, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका प्रमुख धार्मिकस्थलमा पनि भक्तजनको चहलपहल बढेको छ ।

हिन्दु धार्मिक परम्परा अनुसार साउन महिना भगवान शिवको आराधनाका लागि विशेष मानिन्छ । त्यसमाथि साउनको सोमबारलाई शिवको प्रिय दिनका रूपमा लिइने भएकाले यस दिन व्रत बस्ने, शिवलिंगमा जल तथा दूध चढाउने, बेलपत्र अर्पण गर्ने, जप-ध्यान गर्ने र पूजाआजा गर्ने परम्परा छ । साउनको सोमबार व्रत बसेर शिवको आराधना गर्दा आफू, परिवार र सन्तानको सुख-समृद्धि तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

विशेषगरी महिलाहरूले साउने सोमबार व्रत बसेर शिव-पार्वतीको पूजा गर्ने चलन छ । विवाहित महिलाले पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्दै तथा अविवाहित महिलाले असल पति प्राप्तिको कामनासहित व्रत बस्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको पाइन्छ। यद्यपि साउने सोमबारको व्रत र पूजामा महिला-पुरुष दुवै सहभागी हुने गरेका छन् ।

साउनमा शिवालय पुगेर जल अर्पण गर्ने ‘बोलबम’ परम्पराले पनि विशेष महत्व राखेको पाइन्छ । विभिन्न स्थानबाट भक्तजनहरू तीर्थस्थल तथा नदी-कुण्डबाट जल ल्याएर शिवालयमा चढाउने गर्छन् । पशुपतिनाथमा पनि साउने सोमबार बोलबम यात्रामा सहभागी भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ ।

साउने सोमबारको धार्मिक आस्था केवल पूजाआजामा सीमित नरही संयम, शुद्धता, दान-पुण्य र आध्यात्मिक साधनासँग पनि जोडिएको छ। भक्तजनहरूले दिनभर व्रत बस्ने, शिवको नाम जप्ने, मन्दिरमा दीप प्रज्वलन गर्ने तथा सकेअनुसार दान गर्ने गरेका छन् ।