तस्करीमा शंकापछि गृहमन्त्री गुरुङद्वारा झापाका सशस्त्र र जनपथका प्रहरीको मोबाइल जफत

दियोपोस्ट संवाददाता  

काठमाडौं: कोशी प्रदेशका विभिन्न जिल्लाहरूको सुरक्षा तथा वस्तुस्थिति अनुगमन गर्ने क्रममा सोमबार गृहमन्त्री सुधन गुरुङ झापा पुगेका थिए र दिनभरजसो विभिन्न कार्यक्रम र निरीक्षणमा व्यस्त रहेका थिए। झापा बसाइका क्रममा उनले जिल्लाको सुरक्षा अवस्था, सीमा नाका र हात्ती प्रभावित क्षेत्रको स्थलगत अनुगमन समेत गरेका थिए।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल २ नं. गणका सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, र राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उप-अनुसन्धान निर्देशक उमेश पाण्डे  लगायतसँग मन्त्री गुरुङको  जिल्लाको समग्र शान्ति सुरक्षाका विषयमा छलफल भएको थियो।

यस क्रममा, झापाका प्रमुख सीमावर्ती नाकाहरूमा कार्यरत जनपथ र सशस्त्र प्रहरीका वरिष्ठ अधिकारीहरूमाथि गृह मन्त्रालयले कडा निगरानी बढाउँदै आकस्मिक कारबाही सुरु गरेको भेटिएको छसीमा क्षेत्रबाट हुने अवैध तस्करी र सुरक्षा निकायका उच्च अधिकारीहरूसँगको ‘सेटिङ’को आशंकामा हिजो (सोमबार) दिउँसो गृह मन्त्रालयको प्रत्यक्ष निर्देशन र समन्वयमा एकैपटक ठूलो संख्यामा प्रहरी अधिकारीहरूको मोबाइल नियन्त्रणमा लिई ‘सेट परिवर्तन’ (कमाण्ड हेरफेर) को प्रक्रिया अघि बढाइएको पाइएको हो।

गृह मन्त्रालयको एक्सन: जनपथ र सशस्त्रका डीएसपीहरूको मोबाइल जफत 

प्राप्त विशेष सूचना अनुसार, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका जनपथ डीएसपी निशेष चापागाईंको मोबाइल गृह मन्त्रालयको टोलीले नियन्त्रणमा लिएको छ। यसैगरि, काँकरभिट्टा र सीमावर्ती मुख्य चेकपोष्ट जोरसिमलका इन्चार्ज (सहित ३ जना) को समेत मोबाइल जफत गरी उनीहरूको सेट चेन्ज गरिएको छ।

यसैगरी, सशस्त्र प्रहरी बलतर्फ पनि उस्तै प्रकृतिको कडा एक्सन चालिएको छ। काठमाडौँ संगठनको कामले पुगेका सशस्त्र प्रहरीका २ जना प्रहरी, २ नम्बर गण झापा मातहतका १ जना अधिकारीको  मोबाइल खोसिएको छ। त्यस्तै, झापाकै शनिश्चरेस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (BOP) का डीएसपीसहित घुमुवा ३ जनाको मोबाइल नियन्त्रणमा लिइएको छ।

सीमावर्ती क्षेत्रमा हुने गरेको तस्करी र सेटिङ प्रकरणको लहरो सिधै प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) सम्म जोडिएको पाइएको छ। विगत ३ वटा आईजीपीको कार्यकालदेखि प्रहरी हेडक्वाटरको आईजी सचिवालय (महानिरीक्षकको सचिवालय मातहतको उजुरी छानबिन र अनुगमन शाखा) मा कार्यरत डीएसपी सुदिप रेग्मीको यो नेटवर्कमा संलग्नता रहेको गम्भीर आशंका गरिएको छ। गोरखा सरुवा भइसकेपनि शक्तिको आडमा हेडक्वाटरमै रहँदै आएका डीएसपी रेग्मीले मेची-कोशी क्षेत्रमा मात्रै डीएसपीसहित १ दर्जन र सीमा जोडिएका हरेक जिल्लामा आफ्ना मान्छे खटाएर सेटिङ मिलाउने गरेको बुझिएको छ। 

यही नेटवर्कको एउटा मुख्य कडीको रूपमा उनै रेग्मीसँग जोडिएकी झापाकी वन्दना मेचेले मैदानमा तस्करीको मुख्य कमाण्ड सम्हाल्ने गरेको पाइएको छ। राजनीतिक र प्रशासनिक संरक्षण पाएकी मेचे मातहतको एउटा समूह नै सीमा नाकाहरूबाट महिलाका लुगाकपडा, कस्मेटिक सामान र खाद्यान्नको अवैध तस्करीमा प्रत्यक्ष संलग्न रहँदै आएको छ। 

काँकडभिट्टा बीओपीबाट विगतमा एक-एक महिनामा सेट चेन्ज हुने गरेकोमा पछिल्लो समय सेटिङ नमिलेपछि २ नम्बर गणबाटै सिधै टोली जान थालेको स्रोत बताउँछ। शनिश्चरे विओपी क्षेत्रबाट अवैध कारोबार गर्नेहरूबाट समेत ‘सशस्त्र प्रहरी मिलाउने’ भन्दै मोटो रकम (पैसा) उठाउने गरिएको सूचना बाहिरिएको छ। यही सेटिङकै विषयलाई लिएर अस्तिको दिन बेलुका जोरसिमल नाकामा सामान समातेको विषयमा सशस्त्र प्रहरी र जनपथ प्रहरीबीच ठूलो विवाद समेत भएको थियो।

एकैदिन जनपद र सशस्त्रका डीएसपीसहित दर्जन बढी सुरक्षाकर्मीहरूको मोबाइल जफत हुनु र हेडक्वाटरदेखि नाकासम्मको तस्करीको जालोमाथि गृह मन्त्रालयले डण्डा चलाउनुलाई सीमा क्षेत्रको ‘क्लिन-अप’ अभियानका रूपमा हेरिएको छ। यस घटनाले झापाको सुरक्षा वृत्त र सीमा नाकाहरूमा ठूलो हलचल पैदा गरिदिएको छ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका जनपथ डीएसपी निशेष चापागाईंले यो सबै कुरा हल्ला भएको र यसमा कुनै सत्यता नभएको बताए।

चापागाईसँग भएको कुराकानी यहाँ सुन्न सक्नुहुन्छ:

सिफारिस