बहिनी-ज्वाइँ थुन्न एनसेलका पूर्वमालिक नीरजगोविन्दले रचेको ‘फौजदारी’ प्रपञ्च

मदन ढुङ्गाना

काठमाडौँ । व्यापारका लागि सामूहिक वा दुई व्यक्तिले लगानी गर्दा नाफा-घाटा बराबर नै बाँड्ने नीति हुन्छ । लगानी रकम फरक-फरक छ भने प्रतिशतका आधारमा नाफा वा घाटा व्यहोर्ने भन्ने हुन्छ ।

तर, एनसेल बिक्रीमा तिर्नुपर्ने पुँजीगत लाभकर नतिरेको विवादमा अझै मुद्दा सामना गरिरहेका एक व्यापारीले आफ्नै बहिनीविरुद्ध ठगीको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। उनले सामान्य लेनदेनको विषयलाई फौजदारी कसुर आकर्षित हुने गरी ठगीको मुद्दा मात्र दायर गरेनन्, आफ्नै बहिनी र ज्वाइँलाई प्रतिवादी बनाएर पक्राउ गरी थुन्नेसमेत प्रपञ्च रचेका छन् ।

वास्तवमा सन् २०१६ मे (अर्थात् २०७३ जेठ) मा जग्गाको कारोबार गर्ने भनेर आफ्नी बहिनीमार्फत लगानी गरेका नीरजगोविन्द श्रेष्ठले जग्गामा नाफा नभएको र जग्गा बिक्री नभएको कारण देखाउँदै आफ्नै बहिनी अनुमा श्रेष्ठ र ज्वाइँ प्रवीणकुमार श्रेष्ठविरुद्ध ठगीको कसुरमा मुद्दा दायर गरेका हुन् ।

नीरजगोविन्द श्रेष्ठको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नीरजगोविन्दकी बहिनी र ज्वाइँविरुद्ध २४ करोड १० लाख रुपैयाँ ठगी गरेको भन्दै साउन १५ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । प्रहरीले पनि लेनदेनको विषयलाई उपेक्षा गर्दै प्रतिवादी बनाइएकाहरूलाई फरारको सूचीमा राखेर मुद्दा दायर गर्‍यो ।

आखिर एनसेलमा रहेको २० प्रतिशत सेयर बेचेर २ अर्ब ८३ करोड पुँजीगत लाभकर तिरी अझै ६ अर्ब १५ करोड रुपैयाँ तिर्न बाँकी रहेका भनिएका व्यापारीले किन २४ करोड १० लाख रुपैयाँकै लागि आफ्नी बहिनी र ज्वाइँविरुद्ध ठगीको मुद्दा हाले? त्यो बुझ्न एनसेलका पूर्वसेयरधनी नीरजगोविन्द श्रेष्ठले बहिनी अनुमा श्रेष्ठसँग गरेको कारोबारको पृष्ठभूमि बुझ्नुपर्छ ।

के हो नीरजगोविन्द र अनुमाको कारोबार?

चितवनको खैरहनी नगरपालिका वडा नम्बर ६ स्थायी ठेगाना भएकी ६१ वर्षीया अनुमा श्रेष्ठ उनका श्रीमान् प्रवीणकुमार श्रेष्ठसँगै चितवनमै कपडाको व्यापार गरिरहेकी थिइन् । कपडाको व्यापार ठिकठाकै चलिरहेको समयमा चितवनमा घरजग्गाको कारोबार तीव्र गतिमा बढिरहेको थियो । यस्तो अवस्थामा जग्गामा लगानी गरेर प्लटिङ गरी घडेरी बिक्री गर्न सकिए मनग्गे नाफा हुन्छ भन्ने अनुमालाई लाग्यो ।

तर ठूलो मात्रामा रकम लगानी गरेर जग्गाको कारोबार गर्न अनुमासँग रकम थिएन । त्यसपछि अनुमाले नातामा दाजु पर्ने व्यापारी नीरजगोविन्द श्रेष्ठलाई सम्झिइन् । १३ दिने दाजुबहिनीको नाता अनुसार अनुमा नीरजगोविन्दका बाजेकी कान्छी श्रीमतीबाट जन्मेका छोरा (काका अमरगोविन्द श्रेष्ठ) की छोरी हुन् ।

दाजुसँग आर्थिक स्रोत भएकाले अनुमाले दाजुसँग सल्लाह गरेर “जग्गाको कारोबार गरौँ, दुःख हामी नै गर्छौँ, नाफा आधा-आधा बाँडौँला” भनेर प्रस्ताव राखिन् । छलफलपछि नीरजगोविन्दले अनुमाको प्रस्ताव स्वीकार गरी चितवनमा जग्गा खरिद तथा प्लटिङ गरेर बिक्री गर्न भन्दै अनुमाको बैंक खातामा पटक-पटक गरी २४ करोड १० लाख रुपैयाँ पठाए ।

रकम प्राप्त भएपछि अनुमाले पनि विभिन्न स्थानमा जग्गा किनिन् र त्यसमध्ये एउटा जग्गा नीरजगोविन्द श्रेष्ठकै नाममा नामसारीसमेत गरिन् ।

 

तर समय सधैँ एकैनास रहेन । चितवनको जग्गा कारोबारमा मन्दी आउन थाल्यो, बिक्री घट्यो र मूल्य पनि सस्तियो । खरिद मूल्यभन्दा बिक्री मूल्य कम भएपछि घाटामा जग्गा बिक्री गर्न उनीहरूले चाहेनन् । यस्तैमा करिब ५ वर्ष बित्यो, तर कारोबारमा सुधार आएन । बरु यहीबिचमा नीरजगोविन्दले आफू विदेश गइरहनुपर्ने भएकाले आफ्नो नाममा रहेको जग्गासमेत बहिनी अनुमाकै नाममा बकसपत्र गरिदिए ।

सुरुमा जग्गामा लगानी गर्दा न कुनै ब्याजको कुरा भएको थियो, न अन्य खर्चको नै । मात्र नाफा भए आधा-आधा बाँड्ने कुरा भएको थियो ।

नीरजगोविन्द श्रेष्ठले आफ्नै बहिनीसँग यस्तो व्यापार गरे, जहाँ नाफा हुँदा आफूलाई आधा मिल्ने तर घाटा र ब्याजको सम्पूर्ण भार बहिनीले मात्र व्यहोर्नुपर्ने सर्त राखियो

तर नाफा कमाउने उद्देश्यले सुरु गरिएको कारोबारमा सोचेजस्तो नाफा हुन सकेन, बरु जग्गाकै मूल्य घट्दै गयो । जग्गाको कारोबार अगाडि बढ्न नसकेपछि नीरजगोविन्दले सन् २०२१ मा मात्रै बहिनीसँग नयाँ सम्झौता गर्नेतर्फ लागे । बहिनीले पनि दाजुको कुरामा नाइँनास्ती गरिनन् । त्यसपछि नीरजगोविन्द श्रेष्ठले सन् २०२१ मा एउटा कागज पठाए, जहाँ अनुमाले २४ करोड १० लाख रुपैयाँको ८.२५ प्रतिशत ब्याज तिर्ने सर्त राखिएको थियो ।

अनुमामाथि अन्याय त्यहीँबाट सुरु भयो । नीरजगोविन्दले दिएको जाहेरीमै जग्गाको कारोबार गरिएको र नाफा आधा-आधा बाँड्ने भनिएको उल्लेख छ । तर नीरजले २४ करोड १० लाखको ब्याज भने अनुमा एक्लैले तिर्नुपर्ने गरी कागज पठाए; अनुमाले नबुझिकनै वा दाजुको विश्वासमा हस्ताक्षर गरेर पठाइदिइन् । कागजमा ब्याज तिर्ने मात्र कुरा थिएन, ब्याज तिरेर बाँकी रहने नाफामा पनि ५० प्रतिशत रकम बाँड्ने उल्लेख थियो । अन्यायपूर्ण लिखत पठाइएको भए पनि अनुमाले ‘दाजु नै हुन्, के धोका देलान् र’ भनेर हस्ताक्षर गरिदिइन् ।

तर नीरजले त्यही लिखतलाई प्रमाण बनाए अनि सावाँ र ब्याज नै नपाएको भन्दै आफ्नै बहिनीविरुद्ध ठगीको फौजदारी कसुर लगाएर थुन्नेसम्मको मुद्दा हाले । अहिले अनुमा र उनका पति प्रवीणकुमार श्रेष्ठविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको छ और उनीहरूलाई फरारको सूचीमा राखिएको छ ।

के छ नीरजको जाहेरीमा ?

“मेरो नाताले बहिनी पर्ने (मेरो बाजेको कान्छी श्रीमतीबाट जन्मिएका छोरा/मेरो काका अमरगोविन्द श्रेष्ठकी छोरी) अनुमा श्रेष्ठ र म उजुरकर्ता नातामा दाजुबहिनी हौँ । हामीहरूबिच विगत लामो समयदेखि व्यापारिक साझेदारीमा जग्गाको कारोबार गर्ने सहमति भएको थियो । सहमति अनुसार बहिनी अनुमाले म उजुरकर्ता नीरजगोविन्द श्रेष्ठसँग जग्गा खरिद गर्नका लागि रकम माग गरेकीले मैले निजले भने अनुसार रु २४,१०,००,०००।- (चौबिस करोड दश लाख रुपैयाँ) १८ मे २०१६ देखि २४ मे २०१६ सम्म गरी दिएको थिएँ ।

यसरी लगानी गरेको रकममध्ये रु २१,७०,००,०००।- (एक्काइस करोड सत्तरी लाख रुपैयाँ) को निज कसुरदार बहिनीले ८.२५% का दरले सुरुमा ब्याज दिने गरी लगानी गरिदिएको थिएँ । जस अनुसार नै जग्गा खरिद गरी निजले कारोबार गरिरहेकी छिन् । यसरी खरिद गरेको जग्गा बेच्दै जाने र आएको रकमबाट ८.२५ प्रतिशत ब्याज र सावाँ घटाई बाँकी नाफा रकम ५०-५०% का दरले बाँड्ने भनी एकआपसमा मौखिक भद्र सहमति भई विभिन्न मितिमा कसुरदारको बैंक खातामा रकम पठाएको थिएँ । सो कुराको प्रमाण स्वरूप बैंक स्टेटमेन्टसमेत यसैसाथ पेस गरेको छु ।

यसरी पठाएको रकमबाट एकातिर निजले चितवनका विभिन्न स्थानमा आफ्नो र श्रीमान् प्रवीणकुमार श्रेष्ठका नाममा जग्गा किनी व्यापार व्यवसाय बढाइरहेकी छिन् भने अर्कोतर्फ मेरो लगानीको सावाँ, ब्याज र नाफाको सेयरसमेत दिएकी छैनन् । निजले यति धेरै रकम मलाई विश्वास दिलाई लगेकोमा तिर्नेतर्फ कुनै चासो राखेकी छैनन् । बारम्बार रकम फिर्ता माग गर्दा हाल जग्गा बिक्री भएको छैन, बिक्री भएपछि दिन्छु भन्दै समय व्यतीत गर्दै आएकी छिन् । जसका कारण मेरो व्यापार व्यवसाय सञ्चालनमा साह्रै अप्ठ्यारो परेको छ ।

निज कसुरदारले सम्झौता अनुरूप नै काम गर्ने भन्दै रु २४,१०,००,०००।- (चौबिस करोड दश लाख) र सन् २०१६ को बाँकी ब्याज रु ४३,४८,५४७।-, सन् २०१७ को बाँकी ब्याज १,७९,०२,५००।- र सन् २०१८ को बाँकी ब्याज १,७९,०२,५००।- गरी जम्मा ब्याज रु ४,०१,५३,५४७।- (चार करोड एक लाख ५३ हजार पाँच सय ४७ रुपैयाँ) तिर्नुपर्ने भनी पुनः २५ जुन २०२१ मा थप अर्को कागजसमेत गरिदिएकी थिइन् । कागजात गरिए तापनि उक्त सहमति अनुरूपको रकम फिर्ता नगरी मलाई आर्थिक तथा मानसिक क्षति पुर्‍याउने कार्य गरेका छन् ।

पछिल्लो पटक मिति २०८२।०१।०५ मा भेट भई रकम माग्दा ‘तपाईँको पैसा दिन सक्दिन, जे गर्नुपर्छ गर्नुहोस्’ भनी उल्टै धम्काउने गरेकी र निजका छोरा तथा श्रीमानले समेत गालीगलौज गरी अमर्यादित भाषा प्रयोग गरेका छन् ।

उल्लिखित तथ्य र व्यवहारबाट निजहरूकै मिलेमतोमा मेरो रकम पचाउने नियत देखिएकाले निज अनुमा श्रेष्ठ र श्रीमान् प्रवीणकुमार श्रेष्ठले बेइमानीपूर्वक लाभ प्राप्त गरी ममाथि ठगी गरेकाले उक्त रकमको कानुन बमोजिमको ब्याज तथा क्षतिपूर्ति भराई पाऊँ साथै निजहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ बमोजिम हदैसम्मको कारबाही गरिपाऊँ ।”

के भन्छिन् अनुमा ?

यता ‘दियोपोस्ट डटकम’सँग कुराकानी गर्दै अनुमा श्रेष्ठले दाइसँग जग्गाको कारोबार गर्ने गरी रकम प्राप्त गरी कारोबार गरे पनि जग्गा नबिकेका कारण रकम फिर्ता गर्न नसकेको बताइन् । अनुमाका अनुसार सुरुमा ब्याज तिर्ने कुनै कुरा नै भएको थिएन । चितवनमा जग्गाको माग र बिक्री बढिरहेकाले कारोबार गर्ने सहमति भएको थियो, जस अनुसार नीरजगोविन्दले २४ करोड १० लाख रुपैयाँ पठाएका थिए भने अन्य केही रकम अनुमाका श्रीमान् प्रवीणकुमार श्रेष्ठले जुटाएका थिए ।

६ करोड रुपैयाँमा किनिएको जग्गालाई ४ करोड रुपैयाँमै दिन नीरजले अनुमा र प्रवीणलाई दबाब दिएका थिए

तर जग्गाको कारोबार सुस्ताएपछि सस्तो मूल्यमा बेच्न नसकिएकाले समयमै रकम फिर्ता गर्न नसकिएको र सन् २०२१ मा नीरजले भने अनुसार नै कागज गरिदिएको अनुमाको भनाइ छ ।

कागज गरेपछि दुई पटक गरेर ४ करोड ५ लाख रुपैयाँ नीरजगोविन्द श्रेष्ठलाई फिर्ता गरिसकिएको पनि अनुमाले दियोपोस्टलाई बताइन् ।

किनेको भन्दा सस्तोमा नीरजका साथीलाई जग्गा दिन दबाब !

अनुमा र नीरजको सम्बन्धमा चिसो पस्नुको मुख्य कारण किनेको मूल्यभन्दा सस्तोमा नीरजकै साथीलाई जग्गा बिक्री गर्न दिइएको दबाब हो । नीरजले आफ्नो साथीलाई अनुमाको नाममा रहेको एउटा जग्गा सस्तो मूल्यमा दिन दबाब दिएका थिए । ६ करोड रुपैयाँमा किनिएको जग्गालाई ४ करोड रुपैयाँमै दिन नीरजले अनुमा र प्रवीणलाई दबाब दिएका थिए । तर, उनीहरूले त्यो दबाब स्वीकार गरेनन्; किनभने एकातिर ब्याज पनि तिर्नुपर्ने र अर्कोतिर किनेकोभन्दा सस्तोमा जग्गा दिनुपर्ने कुरा जायज थिएन । त्यसपछि नीरज अनुमा र प्रवीणसँग क्रुद्ध बनेका थिए ।

त्यही जग्गा अहिले ६ करोडभन्दा बढीमा बैना !

नीरजले ४ करोड रुपैयाँमै दिन दबाब दिएको उक्त जग्गा हालै मात्र उनीहरूले ६ करोड रुपैयाँभन्दा बढीमा बैना गरेका छन् । बैना गरेपछि उक्त बैनाको रकमसमेत नीरजकै बैंक खातामा पठाइएको प्रवीणले दियोपोस्टलाई बताए ।

ब्याज बहिनीले तिर्ने, घाटा बहिनीले व्यहोर्ने अनि नाफाचाहिँ आधा-आधा ?

व्यापारी नीरजगोविन्द श्रेष्ठले बहिनीसँग साझेदारीमा जग्गाको कारोबार गर्दा पनि अन्यायपूर्ण सर्त राखेको देखिन्छ । बहिनी अनुमासँग गरिएको सम्झौता अनुसार २४ करोड १० लाख रुपैयाँको ब्याज बहिनीले नै तिर्नुपर्ने उल्लेख छ । घाटा भएमा के हुने भन्ने विषय कागजमा उल्लेख छैन । तर जग्गाबाट नाफा भएको अवस्थामा नाफा भने आधा-आधा बाँड्ने सहमति भएको नीरजले दिएको जाहेरीमै प्रष्ट हुन्छ ।

यसरी एनसेलका विवादित पूर्वसेयरधनी नीरजगोविन्द श्रेष्ठले जग्गा कारोबारका क्रममा आफ्नै बहिनीसँग यस्तो व्यापार गरे, जहाँ नाफा हुँदा आफूलाई आधा मिल्ने तर घाटा र ब्याजको सम्पूर्ण भार बहिनीले मात्र व्यहोर्नुपर्ने सर्त राखियो ।

सहमतिमा नाफा कमाउन भनी गरिएको लगानी समयमै नउठेपछि उनले आफ्नै बहिनी र ज्वाइँविरुद्ध ठगीको कसुरमा फौजदारी मुद्दा दायर गरेर दुःखी बनाएका छन् । लगानी गरेको ५ वर्षपछि एकपक्षीय र अन्यायपूर्ण कागज बनाई सम्पूर्ण रकमको ब्याज बहिनीले तिर्नुपर्ने, नाफा भए आधा-आधा बाँड्ने तर घाटा बहिनी एक्लैले व्यहोर्नुपर्ने सर्त राखेर सोही कागजलाई प्रमाण बनाई बहिनी-ज्वाइँलाई जेल हाल्ने प्रपञ्च मिलाएको काठमाडौँ जिल्ला अदालतमा दायर अभियोग पत्रले पुष्टि गर्छ ।