रुपन्देहीमा अन्य पार्टीका २५ सय नेता-कार्यकर्ता रास्वपामा प्रवेश

दियोपोस्ट संवाददाता

काठमाडौँ । रुपन्देहीमा विभिन्न राजनीतिक दलमा आबद्ध करिब २५ सय नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।  रास्वपा रुपन्देहीले शनिबार र आइतबार आयोजना गरेका विभिन्न कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई रास्वपाका केन्द्रीय महामन्त्री विपिनकुमार आचार्यले स्वागत गरेका थिए । रास्वपा रुपन्देहीका जिल्ला सभापति महेन्द्र उपाध्यायका अनुसार शनिबार भैरहवामा रक्तदान, निःशुल्क दन्त परीक्षण, पद हस्तान्तरण, सम्मान तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो ।

सोही अवसरमा पार्टीका विभिन्न जिम्मेवारीमा रहेका करिब चार हजार नेता-कार्यकर्तालाई सम्मानसहित पद हस्तान्तरण गरिएको उपाध्यायले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री आचार्यले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरे ।

उनले रास्वपाले नागरिकको विश्वासमाथि कहिल्यै कुठाराघात नगर्ने दाबी गर्दै देश निर्माणका लागि समयसँगै नागरिकको निरन्तर साथ आवश्यक रहेको बताए । आचार्यले पार्टीबाट कुनै गल्ती भए प्रश्न गर्न पनि नागरिकलाई आग्रह गरे।

उनले भने, ‘हामीले गलत गर्दा प्रश्न गर्न नहिचकिचाउनुहोला, तपाईंको प्रश्नले हामीलाई बलियो बनाउँछ ।’ उनले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा पनि रास्वपालाई साथ दिन आग्रह गरे । रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुलभ खरेलले देशमा विद्यमान बेथिति अन्त्य गर्न सके मात्र वास्तविक परिवर्तन सम्भव हुने बताए ।

त्यस्तै, पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.लेखजंग थापाले भ्रष्टाचारको अन्त्य, सुशासन र समृद्धिको लक्ष्य पूरा गर्न सबैको साथ आवश्यक रहेको बताए । केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ज्ञानु पौड्यालले रास्वपा नेतृत्वको सरकारसँग जनताको ठूलो अपेक्षा रहेको बताइन् । रास्वपा नेता नारायण भण्डारीका अनुसार कार्यक्रममा करिब पाँच हजार नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।