
काठमाडौँ । देशका विभिन्न भू-भागमा आज दिउँसोदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार रातिको समयमा पनि केही स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। यस्तै, कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तीमध्ये एक/दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ।
त्यस्तै कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ।
आज राति देशभर साधारणतया बदली रहनेछ । हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेस र कोसी प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि मध्यमसम्मको वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।