कृत्रिम कम्पनी खडा गरी बैंक कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । काठमाडौं रातोपुलस्थित राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको मुद्दामा पक्राउ गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बुधबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१, रमदैयास्थित जानकी मेडिकल कलेज परिसरबाट नियन्त्रणमा लिएको हो।

सीआईबीका अनुसार पाण्डेमाथि कृत्रिम (शेल) कम्पनी स्थापना गरी बैंकबाट लिएको कर्जाको दुरुपयोग गरेको आरोप छ। उनी इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एण्ड भेटेनरी साइन्स प्रालिका सञ्चालकसमेत रहेका छन्।

अनुसन्धानका क्रममा उनले महोत्तरीको बर्दिवास-६ मा इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एण्ड भेटेनरी साइन्सेज प्रालि नामक शेल कम्पनी स्थापना गरी प्रभु बैंकबाट कर्जा प्राप्त गरेको खुलेको छ। सीआईबीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना तथा धितो सम्पत्तिको अस्वाभाविक रूपमा उच्च मूल्यांकन गराएर कर्जा स्वीकृत गराएको आरोप लगाएको छ।

त्यसैगरी, कर्जा लिँदा प्रस्तुत गरिएको उद्देश्यभन्दा फरक प्रयोजनमा रकम प्रयोग गरी पटक-पटक कर्जाको दुरुपयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको सीआईबीले जनाएको छ।

साथै सोही हेल्थ फाउण्डेसनबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयामा संचालित जानकी मेडिकल कलेज शिक्षण अस्पतालले सरकारको कर तिर्न अटेरी गर्ने देखि कानूनको पालना नगर्ने तथा डाक्टर उत्पादनमा पनि गम्भीर लापरबाही गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

डाक्टरको परिक्षामा चिट चोराएको, कर्मचारीलाई नेपाल सरकारले तोके अनुसार न्यूनतम पारिश्रमिक नदिएको, होस्टेल व्यवस्थापन नभएको, कलेज सञ्चालनका लागि नियमानुसार हुनुपर्ने जग्गाको उपलब्धता नगरेको, कलेजको बैठक तथा छात्रवृत्ति परीक्षा सञ्चालन हुँदा नगरपालिकाको प्रतिनिधि माग नगरेको, कलेजले आफैँले सञ्चालन गर्नुपर्ने ठाउँमा पसल भाडामा लगाएको र त्यसमा मान्यता प्राप्त कर्मचारी नरहेको, एनएमसीको सूचना अनुसार फ्याक्लटीलाई छ महिनाको तलब बैंक अनुसार दिनुपर्नेमा नदिएको, कुनै पनि डिपार्टमेन्टमा आवश्यक र एनएमसी दर्ता अनुसार पूर्ण फ्याक्लटी नभएको, बिना फ्याक्ल्टी नै डिपार्टमेन्ट र कक्षा सञ्चालन गराई रहेको, मेडिकल कलेज सञ्चालनको आवश्यक पूर्वाधार नरहेको आरोप लाग्दै आएका थिए ।