काठमाडौं । राहदानी खरिदको ठेक्का प्रक्रियामा अनुसन्धानका लागि हात हालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको शुरुमै गम्भिर लापरबाही गरेको खुलेको छ । खरिद प्रक्रियामा मूख्य भूमिका निभाएका मुख्य अभियुक्त नै अख्तियारमा कार्यरत एक प्रहरी अधिकृतको लापरबाहीको कारण फरार हुन सफल भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईका विश्वास पात्र प्रहरी उपरिक्षक (एसपी) मोहन थापाले राहदानी खरिद प्रक्रियामा संलग्न कम्पनिका नेपाली प्रतिनिधि सिद्धार्थ थापालाई भगाएको खुलेको छ । ‘प्रधानमन्त्री कार्यालयको निर्देशनपछि अख्तियारले जिम्मा लिएपछि सिद्धार्थ थापालाई अख्तियारमै कार्यरत एसपी मोहन थापाले हाजिरी जमानीमा छाडिदिएको खुलेको छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले दियोेपोस्टलाई भन्यो,‘आज मेरो बच्चाको जन्मदिन छ भोली आउँछु भनेकै भरमा एसपी थापाले उहाँलाई छाडिदिनु भएछ । अहिले सीआइबीलाई पत्राचार गरिएको छ । एसपी थापाको लापरबाहीका कारण सीआइबीले खोज्नुपर्ने अवस्था आयो ।’
अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार अख्तियारको नियन्त्रणबाट भाग्न सफल थापा भूमिगत मार्ग हुँदै भारत तर्फ लागेको र उतैबाट विदेश भागेको आशंका गरिएको छ । ७ अर्ब ६५ करोडको राहदानी खरिद ठेक्का सेटिङका आधारमा नेपाली कांग्रेस र एमाले निकट ठेकेदारलाई भागबण्डा गरिएको थियो । राहदानी विभागले गरेको टेण्डर प्रक्रियामा ठेक्का पार्ने जर्मन कम्पनीहरु भेरिडोस जीएमपीएस र मल्बर आईडी सर्भिसका प्रतिनिधिलाई अख्तियारले छानबीन थालेको थियो । प्रधानमन्त्री कार्यालयको सक्रियतामा राहदानी विभागका महानिर्देशकसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । प्रधानमन्त्री कार्यालयबाटै नियन्त्रणमा लिइएका महानिर्देशक अर्यालसहित जर्मन कम्पनि भेरिडोस जीएमपीएसका प्रतिनिधि सिद्धार्थ थापालाई पछि उपस्थित हुने सर्तमा एसपी थापाले छाडिदिएका थिए ।

त्यसो त राहदानी खरिदको ठेक्कामा अनियमितता भएको विषयमा यसअघि अख्तियारले जानकारी नपाएको भने होइन । अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईकै निकट व्यक्तिहरुले ठेक्का हत्याएका कारण यो अनियमितताको छानबीनमा अख्तियार पञ्छिँदै आएको थियो । विशेषगरी मिडियाको आवरणमा विचौलियाको धन्दा गर्दै आएका रामेश्वर थापा यो धन्दाको पर्दापछाडीको खेलाडी हुन् । थापाकै विचौलिया धन्दामा भागबण्डा गर्दै आएका सुरेशराज घिमिरे पनि यो ठेक्का पछाडीका खेलाडी हुन् । उनीहरुकै प्रभावका कारण अख्तियारले यो विषय छानबीनमा आलटाल गर्दै आएको थियो । अख्तियारका एसपी मोहन थापा रामेश्वर थापाहरुकै जोडबलमा सरुवा गराइएका पात्र हुन् । ‘ती कम्पनीहरुलाई प्रक्रिया मिचेर बदनियतपूर्ण ढंगले ठेक्का दिने काम भएको भन्दै फ्रान्सेली कम्पनी आईडिमिया आइडेन्टिटि एण्ड सेक्युरिटि फ्रान्स एसएएसले सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी समेत दिएको थियो,’ उजुरीसहित दियोपोस्टको सम्पर्कमा आएको सुत्रले भन्यो,‘अख्तियारमा पनि उजुरी पुगेको हो । तर, अख्तियारले छानबीन गर्न ईंकार गर्दै आएको थियो । अहिले प्रधानमन्त्री बालेन शाहकै प्रत्यक्ष निर्देशन भएका कारण अनुसन्धान अघि बढेको हो । तर, अख्तियारको अनुसन्धानमा विश्वास गर्न सकिने ठाउँ छैन । किनकी अख्तियारको प्रमुख आयुक्तसँग नै विचौलियाहरुको निकट सम्बन्ध छ ।’
राहदानी विभागले गरेको टेण्डर प्रक्रियामा देउवासम्वद्ध जर्मन कम्पनीहरु भेरिडोस जीएमपीएस र मल्बर आईडी सर्भिसको पक्षमा गत वर्ष २०८२ जेठ २२ मा आशयपत्र जारी गरेको थियो
दुई वटा प्याकेजमा भएको टेण्डरमा पाँच वटा विदेशी प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये एक अर्ब ५५ करोड आठ लाख १४ हजार रुपियाँ र सात लाख ३८ हजार रुपियाँको एउटा प्याकेज र अर्को छ अर्ब ११ करोड ३८ लाख २७ हजार रुपियाँ र १६ करोड १६ लाख रुपियाँको प्याकेज प्रदान गरिएको हो । यी दुवै प्याकेजमा ७० करोड रुपैयाँ हाराहारी कमिशनको डिल भएको अनुसन्धान अधिकारीहरुको दाबी छ ।
जर्मन कम्पनीहरु भेरिडोस जीएमपीएस र मल्बर आईडी सर्भिसलाई ठेक्का दिलाउनका लागि राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापा, मिडियाको आवरणमा विचौलिया धन्दा गर्ने रामेश्वर थापा, हाल अख्तियारको नियन्त्रणमा रहेका मुनिन्द्रराज मल्ल लगायतको समुह सक्रिय थियो ।
जर्मन कम्पनिको देखिने एजेन्ट सुर्यबहादुर थापाको नाती सिद्धार्थ थापा भएपनि पर्दापछाडी भने मिडिया उद्यमी थापा लगायतको समुहको भूमिका रहेको स्रोतले जनाएको छ ।
ठेक्का दिने क्रममा प्राविधिक उपसमिति तथा मूल्यांकन समितिका झण्डै आधा सदस्यहरुले विमति जनाएर ‘नोट अफ डिसेन्ट’ लेख्दालेख्दै पेलेर नै जर्मन कम्पनीलाई ठेक्का दिने काम भएको थियो ।
नियन्त्रणमा आइसकेको अभियुक्त भगाइएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेलाई प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले सिद्धार्थ थापा भागेको विषयमा आफूलाई केही थाहा नभएको बताए । ‘अनुसन्धानको विषयमा हामीले बोल्न मिल्दैन । सिद्धार्थ थापा भागेको विषयमा पनि मलाई थाहा छैन,’ उनले भने,‘मलाई थाहा नै नभएको विषयमा मैले कसरी बोलुँ ।’