हिमालयन रिम फिल्म प्रदर्शनीमा चिनियाँ ‘वुसिया सिनेमा’ र ‘एआई’ प्रविधिको आकर्षक संगम

दियोपोस्ट संवाददाता  

काठमाडौँ । काठमाडौं र पोखरामा आयोजित ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ नेपाल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र, कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित आधुनिक फिल्म प्रविधि तथा युवा पुस्ताबीचको सांस्कृतिक संवादलाई केन्द्रमा राखेर आयोजना गरिएको प्रदर्शनीले नेपाल–चीन सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ।

फिल्मलाई सांस्कृतिक आदानप्रदानको प्रभावकारी माध्यमका रूपमा प्रस्तुत गर्दै आयोजित कार्यक्रममा नेपाली विद्यार्थी, प्राध्यापक तथा फिल्मकर्मीहरूलाई समकालीन चिनियाँ चलचित्र र वुसिया संस्कृतिको नयाँ आयामसँग परिचित गराइएको थियो। प्रदर्शनीअन्तर्गत त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा विशेष चलचित्र प्रदर्शन, अन्तरक्रिया, व्याख्यान तथा विविध सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिएका थिए।

काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयमा ‘लेजेन्ड्स अफ द कन्डोर हिरोजः द ग्यालेन्ट्स’ तथा ‘ब्लेड्स अफ द गार्डियन्सः विन्ड राइजेस इन द डेजर्ट’ चलचित्र प्रदर्शन गरिएको थियो। प्रदर्शनपछिको भर्चुअल अन्तरक्रियामा चिनियाँ युवा लेखक वेन जियरले जिन योङका साहित्यिक कृतिहरू, वुसिया कथामा समेटिएका नैतिक मूल्य, साहित्यलाई चलचित्रमा रूपान्तरण गर्ने प्रक्रिया तथा आधुनिक समाजमा वीरताको अवधारणाबारे चर्चा गरेका थिए।

अन्तरक्रियाका क्रममा सहभागी विद्यार्थी तथा प्राध्यापकहरूले चिनियाँ वुसिया कथाहरूमा प्रस्तुत न्याय, साहस र मानवीय मूल्यहरू नेपाली कला र संस्कृतिमा पाइने प्रकृति तथा मानवबीचको सहअस्तित्वको भावनासँग नजिक रहेको धारणा व्यक्त गरेका थिए।

यसै अवसरमा बेइजिङ नर्मल विश्वविद्यालयका प्राध्यापक झाङ यानले ‘चाइनिज वुसिया सिनेमाः फ्रम सेन्चुरी टु द वर्ल्ड’ विषयमा व्याख्या गर्दै चिनियाँ मार्सल आर्ट चलचित्रको विकासक्रम, अन्तर्राष्ट्रिय प्रभाव तथा समकालीन सान्दर्भिकताबारे प्रकाश पारेका थिए।

प्रदर्शनीको दोस्रो चरण पोखरा विश्वविद्यालयमा केन्द्रित थियो। उद्घाटन समारोहमा प्रदर्शनीकी संस्थापक ह्वाङ जुनयानले हिमालय क्षेत्रका देशहरूबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्न फिल्म महत्वपूर्ण माध्यम बन्न सक्ने बताइन्। सो क्रममा अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयका सहप्राध्यापक मा रुइछिङले ‘वुसिया सिनेमादेखि एआई बजारसम्म’ विषयमा छलफल सञ्चालन गरेका थिए।

छलफलमा सहभागी चीनको एक अग्रणी एआई कम्पनीका विज्ञ रायनले कृत्रिम बुद्धिमत्ताले फिल्म निर्माण, सम्पादन, वितरण तथा बजार व्यवस्थापनमा ल्याइरहेको परिवर्तनबारे अनुभव सुनाएका थिए। कार्यक्रममा एआईले चलचित्र उद्योगको भविष्यलाई कसरी पुनर्परिभाषित गरिरहेको छ भन्ने विषय प्रमुख रूपमा उठाइएको थियो।

पोखरामा ‘द मास्टर’ र ‘आई एम ह्वाट आई एम–२’ चलचित्र पनि प्रदर्शन गरिएका थिए। ‘द मास्टर’ले चिनियाँ मार्सल आर्ट परम्परा र वीरताको यथार्थपरक चित्रण प्रस्तुत गरेको थियो भने ‘आई एम ह्वाट आई एम–२’ले आधुनिक डिजिटल दृश्य प्रभावमार्फत युवाहरूका सपना, संघर्ष र आत्मविश्वासको कथा उजागर गरेको थियो।

चलचित्र प्रदर्शनपछि ‘द मास्टर’का निर्देशक स्यु हाओफेङ र ‘आई एम ह्वाट आई एम–२’का सहनिर्माता ली यिलिनले भर्चुअल माध्यमबाट दर्शकसँग संवाद गर्दै चिनियाँ चलचित्रको अन्तर्राष्ट्रिय बजार, मार्सल आर्ट सौन्दर्यशास्त्र तथा एनिमेसन उद्योगको विश्वव्यापी सम्भावनाबारे आफ्ना विचार साझा गरेका थिए।

फिल्म प्रदर्शनसँगै आयोजित ‘वुसिया फेयर’ तथा परम्परागत हस्तकला कार्यशालाले पनि विशेष आकर्षण थपेका थिए। स्थानीय कलाकारहरूको सहकार्यमा विद्यार्थीहरूले हस्तनिर्मित सामग्री तयार पार्दै चिनियाँ र नेपाली संस्कृतिबीचको साझा भावना अनुभव गर्ने अवसर प्राप्त गरेका थिए।

कार्यक्रमकै क्रममा एआई प्रविधिको प्रयोगबाट तयार गरिएको प्रदर्शनीको आधिकारिक गीत ‘द एन्डलेस राइड’ सार्वजनिक गरिएको थियो। आयोजकका अनुसार उक्त गीतले हिमालय क्षेत्रका युवाहरूबीचको संवाद र सभ्यतागत आदानप्रदानलाई समकालीन संगीतमार्फत अभिव्यक्त गरेको छ।

नेपालका परराष्ट्रमन्त्रीको चीन भ्रमणसँगै प्रदर्शनी आयोजना भएकाले यसलाई नेपाल–चीन सांस्कृतिक कूटनीतिक सम्बन्धको दृष्टिकोणबाट समेत अर्थपूर्ण रूपमा हेरिएको छ। आयोजकले हिमालयन रिम फिल्म प्रदर्शनीलाई केवल चलचित्र महोत्सव नभई विभिन्न सभ्यता, संस्कृति र युवा सिर्जनशीलताबीच संवादको साझा मञ्चका रूपमा व्याख्या गरेका छन्।

आयोजकका अनुसार कार्यक्रमले चिनियाँ वुसिया संस्कृतिलाई नेपाली दर्शकमाझ परिचित गराउनुका साथै दुई देशका फिल्मकर्मी, विद्यार्थी तथा युवा सर्जकहरूबीच दीर्घकालीन सहकार्यको आधार तयार गरेको छ। चलचित्र, प्रविधि र संस्कृतिलाई एउटै सूत्रमा जोडेको यस प्रदर्शनीले भविष्यमा एसियाली चलचित्र उद्योगबीच थप सहकार्य र आदानप्रदानको सम्भावना अझ बलियो बनाएको विश्वास व्यक्त गरिएको छ।

सिफारिस