रास्वपा महाधिवेशन निर्वाचनः ८० इलेक्ट्रोनिक मेसिनमार्फत मतदान, एक घण्टामै नतिजा आउने

दियोपोस्ट संवाददाता  

काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य तथा अन्य पदाधिकारी चयनका लागि निर्वाचन हुँदैछ। आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रसँगै निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

निर्वाचनका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनको व्यवस्था गरिएको छ। रास्वपाको विधानअनुसार पहिले केन्द्रीय सदस्यहरूको चयन गरिनेछ र त्यसपछि पदाधिकारीको निर्वाचन हुनेछ। केन्द्रीय सदस्यहरूको टुंगो लागेपछि मात्रै महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारी चयन गर्ने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिले मतदान प्रक्रिया पूरा गर्न करिब १५ देखि २० मिनेट लाग्नेछ। मतदान सम्पन्न भएको एक घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। पार्टीले केन्द्रीय सदस्य र पदाधिकारी दुवैको मतदान तथा नतिजा सार्वजनिक गर्ने काम आजै सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ।

महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिको सहभागिता रहेको छ। ९९ सदस्यीय केन्द्रीय समितिका लागि करिब ४ सय जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। रास्वपाको विधानअनुसार पार्टीमा १९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। तीमध्ये ९९ जना निर्वाचनबाट चयन हुनेछन् भने बाँकी ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने प्रावधान छ।

असार ७ गतेदेखि चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशन असार ९ गतेभित्र सम्पन्न गर्ने योजना थियो। तर प्रतिनिधि छनोट प्रक्रियामा देखिएका प्राविधिक समस्याका कारण कार्यतालिका प्रभावित हुँदा महाधिवेशन केही दिन लम्बिएको हो।

सिफारिस