गृहमन्त्री गुरुङको अमलेटमा माछाको काँडा भेटिएपछि भरतपुरको होटललाई ३ लाख रुपैयाँ जरिवाना

दियोपोस्ट संवाददाता  

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले मगाएको अमलेटमा माछाको काँडा भेटिएपछि भरतपुर महानगरपालिका–१० स्थित लर्ड विजनेश कम्प्लेक्स होटललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी गुणस्तरहीन खाद्य सामग्री प्रयोग गरेको पाइएको भन्दै होटललाई जरिवाना गरिएको हो ।

उपभोक्ताहरूबाट प्राप्त गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको निरीक्षण टोलीले मंगलबार होटलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा पर्याप्त ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने किसिमका खाद्य परिकार उपलब्ध गराएको पाइएको प्रशासकीय अधिकृत मदन लामा थिङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निरीक्षणबाट प्राप्त तथ्य तथा कैफियतहरूको विश्लेषण गर्दा होटलले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा (२) को खण्ड (कं तथा दफा ३८ को खण्ड (ङ) उल्लंघन गरेको निष्कर्ष निकालिएको जनाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निरीक्षण अधिकृतको निर्णयअनुसार उक्त होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम तीन लाख रुपैयाँ जरिवाना गरिएको हो। साथै, अनुगमनका क्रममा बरामद गरिएका खाद्य सामग्रीहरू नष्ट गर्ने निर्णयसमेत गरिएको छ।

यो जानकारी सार्वजनिक गरिएको हो।