काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० उच्च पदस्थ व्यक्तिको हत्या गर्ने धम्की दिने कथित उग्रवादी समुहका प्रमुख प्रकाश पाठक पक्राउ परेका छन् । उनलाई फिलिपिन्स प्रहरीले पक्राउ गरि त्यहाँस्थित आप्रवाशन विभागमा बुझाएको छ । पिलिपिन्स समाचार एजेन्सीका अनुसार उनलाई डिपोर्टका लागि तयारी हुँदै छ ।
फिलिपिन्सस्थित अध्यागमन विभागले जारी गरेको विज्ञप्ति अनुसार ३३ वर्षिय पाठकलाई गत डिसेम्बर ३१ म बुलाकान प्रान्त, मालोलोस सिटी, पसियो दे कोन्ग्रेसो, बारंगाय कात्मोन बाट पक्राउ गरेको हो ।
उनलाई अहिले अध्यागमनको हिरासतमा राखेर देश निकालाको प्रक्रिया शुरु हुँदैछ ।
अध्यागमन विभागका अनुसार पाठकलाई फिलिपिन्स ट्रान्सनेशनल क्राइम केन्द्र (PCTC) सँगको आधिकारिक समन्वय मार्फत पक्राउ गरिर्एको हो । पाठकलाई काठमाडौं जिल्ला अदालतले डिसेम्बर १, २०२५ मा आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको उल्लेख छ ।

त्यस्तै अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (ईन्टरपोल मार्फत डिसेम्बर १२ मा पाठकविरुद्ध डिफ्यूजन जारी गरेको थियो ।
पाठकले नेपालमा जेनजी आन्दोलनपछि फरार रहेको कैदी मार्फत राई सहितका उच्च अधिकारीको हत्या गराउने धम्की दिएका थिए । धम्की दिएको समाचार पहिलो पटक दियोपोस्टले खुलाशा गरेको थियो ।
अध्यागमनकाे अभिलेखअनुसार पाठक अगस्ट १८, २०२५ मा फिलिपिन्स प्रवेश गरेका थिए र डिसेम्बर १८ सम्म देशमा बस्न अनुमति पाएका थिए।
अध्यागमन विभाग प्रमुख कमिश्नर जेएल एनथोनी भियाडोका अनुसार पाठकलाई राष्ट्रपति फर्डिनान्ड आर मार्कोस जुनियरको निर्देशन अनुसार गरिएको हो । उनले फिलिपिन्सलाई अन्तर्राष्ट्रिय फरार अपराधी बस्न नदिने निर्देशन दिएका थिए ।
“राष्ट्रपति जीको स्पष्ट निर्देशन अनुसार, हामी विदेशी फरार अपराधी वा उग्रवादीहरूलाई हाम्रो आप्रवासन प्रणालीको दुरुपयोग गर्न दिनेछैनौँ। जसले देश प्रवेश गर्दा सार्वजनिक सुरक्षालाई जोखिममा पार्छन्, वा अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धमा समस्या उत्पन्न गर्छन्, तिनीहरूलाई खोजी गरिने, पक्राउ गरिने, र कानुनअनुसार सामना गरिनेछ,” उनले थपे ।