राजनीतिमा लाग्ने मन्त्रीलाई पद छाड्न प्रधानमन्त्री कार्कीको निर्देशन

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले सक्रिय राजनीतिमा संलग्न हुने मन्त्रीहरूले तत्काल मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएकी छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले सरकारको कार्यक्षमता, निष्पक्षता र सुशासन कायम राख्न यस्तो कदम आवश्यक रहेको बताउँदै मन्त्रीहरूलाई निर्देशन दिएकी हुन्।

बैठकमा प्रधानमन्त्री कार्कीले मन्त्री पदमा रहँदै दलगत राजनीति, संगठन विस्तार, आन्तरिक शक्ति संघर्ष वा आगामी निर्वाचन केन्द्रित गतिविधिमा संलग्न हुनु सरकारको मर्म र जनताको अपेक्षाविपरीत हुने उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले सरकारमा बसेर राज्यको सेवा गर्ने या खुला रूपमा राजनीतिमा लाग्ने भन्ने विषयमा स्पष्ट निर्णय लिनुपर्ने धारणा ब्यक्त गरिन् ।

उनले मन्त्री पद कार्यकारी जिम्मेवारी भएको र यसमा रहँदा सबै नागरिकप्रति निष्पक्ष र तटस्थ भएर काम गर्नुपर्ने जोड दिइन्। राजनीतिमा सक्रिय हुने चाहना भएका मन्त्रीहरूले पदमा टाँसिएर सरकारको निर्णय प्रक्रिया प्रभावित पार्न नहुने उनको भनाइ थियो।

बैठकमा प्रधानमन्त्रीले पछिल्लो समय केही मन्त्रीहरू सरकारको जिम्मेवारीभन्दा बढी दलगत गतिविधिमा सक्रिय देखिएकोप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन्। यसले सरकारको छवि कमजोर बनाएको र प्रशासनिक निर्णयमा समेत असर परेको उनको ठहर छ।

सरकार स्रोतका अनुसार प्रधानमन्त्रीको निर्देशनपछि केही मन्त्रीहरूले आ-आफ्नो राजनीतिक भूमिका र जिम्मेवारीबारे आन्तरिक छलफल सुरु गरेका छन्। यद्यपि हालसम्म कसैले औपचारिक रूपमा राजीनामा दिएको घोषणा भने गरेका छैनन्।

प्रधानमन्त्री कार्कीको निर्देशन कार्यान्वयन कसरी अघि बढ्छ र मन्त्रीहरूले यसलाई कसरी ग्रहण गर्छन् भन्ने विषयले आगामी दिनमा थप राजनीतिक चासो पैदा गर्ने देखिएको छ।

सिफारिस